खेलकुद

नवौँ राष्ट्रिय खेलकुद

पाँच महिना अगाडि हिँड्नसमेत नसकेकी सन्तोषीले कसरी जितिन् स्वर्ण ?

सञ्जीव शाह |
असोज २९, २०७९ शनिबार १२:५ बजे

पोखरा- गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको एथलेटिक्सतर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण हात पारेकी छन् । पोखरा रंगशालामा भएको महिलातर्फको १० हजार मिटर दौडमा सन्तोषीले स्वर्ण जितेकी हुन्

नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुदमा समेत नेपाललाई स्वर्ण दिलाएकी सन्तोषीले ३६ मिनेट तथा १२.३६ सेकेन्डमा निर्धारित दूरी पुरा गर्दै स्वर्ण हात पार्न सफल भइन् ।


तर २९ वर्षीया सन्तोषीका लागि नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण जित्नु त्यति सहज थिएन् । चोटका कारण उनी चैत-बैशाखमा एक महिनासम्म त हिड्नसमेत सकेकी थिइनन् ।

तर स्वदेशी तथा विदेशी प्रशिक्षकको मेहनत र आफ्नै दृढताका कारण उनी मैदानमा मात्र फर्किएकी छैनन्, स्वर्णसमेत हात पारेकी छन् ।

नेपाल पुलिस क्लबकी राजपुरा पछाई (३६ मिनेट तथा २९.४५ सेकेन्ड) तथा नेपाल एपीएफकी पुष्पा भण्डारी (३७ मिनेट तथा ०४.२ सेकेन्ड) लाई पछि पारेकी सन्तोषीको सुरुवात हेर्दा सुस्त देखिन्थ्यो ।

'मेरो लक्ष्य भनेको पदक जित्नुमात्र थियो । कीर्तिमान कायम गर्ने अवस्थामा भएपनि लामो समयदेखिको इन्जुरीका कारण त्रसित थिए । त्यसैले विस्तारै सुरुवात गरे । जहिले पनि अग्रता लिन्थे । दक्षिण एसियाली खेलकुदमा पनि अग्रता लिएरै मेडल जितेको हो । आज निडर भएर कुदेको हो । डराएको थिइन् । तर आफूलाई नियन्त्रणमा राखेर दौडिएकी थिए,' उनले भनिन् ।  

उनी मैदानमा उत्रनु अघि अभ्यास र पढाइको प्रेसरसँगसँगै उनी मानसिक रुपमा फिट थिइनन् । उनको अभ्यासमा निरन्तरता थिएन् ।

'जीवन र दौड समान हुन्, दुबैमा उतारचढाब हुन्छ । लामो समयसम्म विभिन्न खालका इन्जुरी कारण चैत-बैशाखमा एक महिना हिँड्नै नसकेको अवस्थामा पुगेकी थिए । मेरा प्रशिक्षकहरूले आफ्नो अवस्थाअनुसार अगाडी बढ्न प्रेरणा दिनुभयो । घाइते भएपछि परिवारका सदस्यहरू चिन्तित रहेका थिए । तर पनि परिवारको समर्थन थियो । अभ्यास र पढाइका कारण धेरै तनाव भएको थियो,' उनले थपिन् ।

धादिङ घर भएकी सन्तोषी सागमा १० हजार मिटरमा दौडिएपछि पहिलो पटक नवौँ राष्ट्रिय खेलकुदको १० हजार मिटरमा दौडिएकी हुन् ।

र, यो पनि


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x