खेलकुद

पोखरामा ३९ वर्षपछि खेलकुदको 'महाकुम्भ'

धनबहादुर गुरुङ |
असोज २८, २०७९ शुक्रबार ७:१३ बजे

पोखरा - नेपालमा २०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुदको नवौं संस्करण गण्डकीमा हुने तय भएको ३ वर्ष बढी भएको थियो । २०७६ बैशाख ११ नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुदको समापनको दिन नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा हुने तय भएको थियो। सोही समयमा नै २०७७ फागुन २१ देखि २८ सम्म प्रतियोगिता आयोजन गर्ने मिति नै तोकिएको थियो । 

२०३८ सालमा पहिलो राष्ट्रिय खेलकुद काठमाडौं (बागमती) मा हुँदा दुई वर्षपछि दोस्रो संस्करणको अवसर गण्डकी अञ्चलले पायो। २०४० चैत १२ देखि २० सम्म १४ अञ्चलकै खेलाडी पोखरामा भेला भए। त्यसपछि पोखरामा प्रतियोगिता गर्ने अवसर पाएको थिएन् । दोस्रो राष्ट्रिय खेलकुद आयोजनापछि नवौंमा आफूहरूको पालो आएकाले यहाँका खेलाडी तथा खेलप्रमीहरू उत्साहित थिए । तर, कोरोनाका कारण खेल गतिविधि र नियमित कार्यक्रमहरू नहुँदा समय मै हुने भनिएको प्रतियोगिता भएन् । 


२०३८ सालदेखि सुरु भएको बृहत खेलकुदका आठ संस्करणमात्र आयोजना हुनुमा विभिन्न समस्या थिए । पूर्वाधारमा कमजोरी, सामाजिक/राजनीतिक अवस्था र द्वन्द्वलाई कारक मानिँदै आएको थियो। हरेक दुई वर्षमा हुनुपर्ने बृहत खेलकुद केशवकुमार विष्ट राखेप सदस्य–सचिव हुँदा २०७३ मा सातौं र २०७५ बृहत खेलकुद आयोजना गरेर नियमित आयोजनाको सकारात्मक सन्देश दिएका थिए। तर, निवर्तमान सदस्य सचिव रमेशकुमार शिलवालको पालामा पनि समयमै गर्ने भनिएको नवौं राष्ट्रिय खेलकुद कोरोना कै कारण पछाडि धकेलिएको थियो । 

नेपालमा खेलकुदको वार्षिक क्यालेन्डरमा कोरोना कै कारण असर पुगिरहेको थियो। देशव्यापी भएको लकडाउनका कारण चैतदेखि प्रशिक्षणसहित खेल गतिविधि ठप्प भयो। विचमा केही खेल गतिविधि सल्वलाए पनि दोस्रो भेरियण्ट पछि उहि अवस्थामा पुग्यो । जसले नवौं राष्ट्रिय खेलकुद पनि निर्धारित मितिमा हुने सम्भावना टर्दै गएको थियो।

त्यसपछि केही आशा जगाएपनि प्रतियोगिताअघि छनोट प्रतियोगितालाई ३ महिनाको समय लाग्ने भएकाले समस्या पर्‍यो । यद्यपि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं संस्करण आयोजना गर्न नसक्ने भने भनेनन् । त्यसबिचमा सरकार परिवर्तन भयो । नयाँ सरकार बनेसँगै सदस्य सचिव पनि परिवर्तन भए । 

नयाँ आएका सदस्य सचिव टंकलाल घिसिङले आफ्नो कार्यकाल र परिवर्तन भएको सरकारको पालामा नवौं राष्ट्रिय खेलकुद गर्ने मिति जुराए । कोरोना महामारी, निर्वाचन, सरकार परिवर्तन, सदस्य सचिव परिवर्तन लगायत विविध कारणले शंकाको घेरामा रहेको प्रतियोगिता असोज २८ देखि कात्र्तिक ३ गतेसम्मको समयमा प्रतियोगिता हुने निश्चित भएको हो । 

निर्वाचनको मिति र नवौंको मिति सँगसँगै भएकाले पनि धेरैले हुने/नहुनेमा शंका गरेका थिए । संघियता पछि नयाँ र पुरानो मोडलमा प्रतियोगिता हुँदा केही कमकमजोरी भएपनि प्रतियोगिता निर्धारित समयमै हुने राखेप सदस्य सचिव टंकलाल घिसिङले बताए । शुक्रबार प्रतियोगिता उद्घाटनपछि ३९ वर्ष पछि पोखरामा खेलकुदको महाकुम्भ सुरु हुने उनले बताए । 

गण्डकी प्रदेशको राजधानी पोखरामा खेलकुदको महाकुम्भको शुक्रबार उद्घाटन हुँदैछ । पोखरा रंगशालामा उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्ने नवौं राष्ट्रिय खेलकुद आयोजनाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । पोखरा रंगशालामा दिउँसो ४ बजे सुरु हुने उद्घाटनमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास, सातै प्रदेशका सांस्कृतिक झाँकी प्रदर्शनी, विद्यार्थीहरूबाट ड्रिल प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रम, आतिशबाजी सहित विविध र मनोरन्जनात्मक कार्यक्रम गरिने भएको छ । 

त्यस्तै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि ११ टिमहरूको मस्कट सहित मार्च पास नवौं राष्ट्रिय खेलकुद गित प्रस्तुती इन्दिरा जोशी र काली प्रसाद अधिकारी साथमा विवोइङ प्रदर्शन हुनेछ । सातौं दक्षिण एसियाली खेलकुद (साग) का स्व्र्ण पदक विजेता तथा ओलम्पियन गण्डकी प्रदेशका टिकाबहादुर बोगटीले ओलम्पिक फेल्ममा प्रज्वलन् गर्नेछन् । 

राष्ट्रिय खेलकुदमा ६ हजार बढी खेलाडीले ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र शसस्त्र प्रहरी) र एनआरएनएगरि ११ टोलीका व्यक्तिगत र समूहगत खेलका गरि ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ । खेल गण्डकी प्रदेशका मनाङ, मुस्ताङ र लमजुङबाहेक ८ जिल्लामा सञ्चालन हुनेछन् ।


Author

थप समाचार
x