खेलकुद

नवौं राष्ट्रिय खेलकुद : उद्घाटन अघि नै स्वर्ण

धनबहादुर गुरुङ |
असोज २५, २०७९ मंगलबार ६:५० बजे

पोखरा - नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन अघि नै केही खेलहरु सकिएका छन् । ती खेलमा स्वर्ण जित्नेको टुंगो पनि लागि सकेको छ । तर, पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटन हुन अझै ४ दिन बाँकी छ । नवौंको उद्घाटन अघि नै केही खेलहरु सकिसकेका हुन् । 

पोखरामा असोज २८ देखि कात्र्तिक ३ गतेसम्म मिति तय भएको हो । कास्की र आसपासका जिल्लासहित काठमाडौंमा हुने प्रतियोगिताको अघि नै केही खेल ईभेण्टहरु सुरु भइसकेका छन् । ती मध्ये सबैभन्दा पहिले भदौं २३ देखि ३१ सम्म भएको पुरुष क्रिकेटमा पुलिसले स्वर्ण पदक र आर्मीले रजत पदक जितेको छ ।


त्यसैगरी महिला क्रिकेट आइतबारदेखि पोखरा रंगशालामा सुरु भएको छ । जसको उद्घाटन खेलमा मधेश प्रदेशले आयोजक गण्डकीलाई ४० रनले पराजित गरेको थियो ।

सोमबारदेखि ह्याण्डबल महिला पुरुष तथा फेन्सिङ खेल सुरु भएका छन् । यस्तै फुटबल महिला/पुरुष, महिला भलिबल, फुलकन्ट्याक्ट कराते, बुद्धिचाल, हक्की महिला÷पुरुष र गल्फ उद्घाटन अगावै असोज २८ गतेदेखि सुरु हुँदैछ । 

प्रतियोगिता अगावै सुरु भएका खेल मध्ये फेन्सिङमा पनि बागमती प्रदेशले स्वर्ण पदक हात पारेको छ । फेन्सिङको पहिलो स्वर्ण बागमती प्रदेशकी शिक्षा नापितले जितेका हुन् । उनले व्यक्तिगत सेबर तर्फको इभेण्टमा शसस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । योसँगै उनी पोखरामा स्वर्ण पदक जित्ने पहिलो खेलाडी समेत बनेकी छिन् । 

यस्तै नेपाल आर्मीका रविना थापा र आर्मीकै मनिषा तेस्रो स्थान रहँदै कास्य पदकमा चित्त बुझाए । प्रतियोगिता ईपी, फोयल र सेबर इभेण्टमा व्यक्तिगत र टिम इभेण्टमा प्रतिस्पर्धामा गर्ने छन् । प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागिता जनाएका छन् । 

ह्याण्डबलमा आर्मी, एपिएफ र प्रदेश १ को विजयी सुरुवात 
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ह्याण्डबल खेलमा विभागीय टोली आर्मीले पुरुषतर्फ जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा समूह ‘ए’ को आर्मीले बागमती प्रदेशमाथि ४३–८ को सहज जित निकालेको हो । आर्मीका लागि आकाश अधिकारीले सर्वाधिक ८ र बागमतीका लागि महेश पुरीले सर्वाधिक ४ गोल गरे ।

यस्तै पुरुषतर्फ कै ह्याण्डबलको अर्को खेलमा विभागीय सशस्त्र प्रहरी बलको एपीएपले विजयी सुरुवात गरेको छ । समूह ‘बी’ मा रहेको एपीएफले लुम्बिनी प्रदेशमाथि ३६–१३ ले जित निकालेको हो। जितसँगै एपीएफले महत्वपूर्ण ३ अंक बटुलेको छ । एपीएफका लागि सन्दीप कार्कीले सर्वाधिक ९ गोल गरे। त्यस्तै, लुम्बिनी प्रदेशका शरण थापाले पनि सर्वाधिक ९ गोल गरे ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुरु ह्याण्डबल खेलमा महिलातर्फ पहिलो खेलमा प्रदेश–१ ले विजयी सुरुवात गरेको छ । प्रदेश–१ ले कर्णाली प्रदेशलाई २६–४ को फरक अन्तरले जित हात पारेको हो । जितसँगै प्रदेश–१ ले महत्वपूर्ण ३ अंक बटुलेको छ । उक्त खेलमा प्रदेश–१ की उज्जवल राईले सर्वाधिक ९ र कर्णालीको टिमबाट संगीता सिंहले सर्वाधिक २ गोल गरे ।

यसैगरी महिला तर्फको अर्को खेलमा विभागीय आर्मीले विजयी सुरुवात गरेको छ । आर्मीले मधेश प्रदेशमाथि ४६–२ को फराकिलो गोलअन्तरले जित निकाल्यो । जितसँगै आर्मीले महत्वपूर्ण ३ अंक बटुलेको छ । आर्मीकी शान्तिकला राईले सर्वाधिक १४ गोल गरिन् ।

वर्षाले प्रभावित महिला क्रिकेटमा पुलिस विजयी
नवौँ राष्टिय खेलकुुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको दोस्रो दिनको खेल वर्षाले प्रभावित भएको थियो । खेल भईरहेको समयमा पानी परेपछि डिएलए मेथडका आधारमा पुलिस विजयी भएको छ । वर्षाका कारण खेल संभव नभएपछि डिएलए मेथड अनुसार पुलिस क्लब ६३ रनले विजयी भएको हो ।

पुलिस क्लबले दिएको १ सय ११ रनको लक्ष्य कर्णाली प्रदेशले पछ्याउँदै गर्दा वर्षातले खेल रोकिन पुग्यो । १०.२ ओभरमा खेल जारी रहँदा पानी परेको थियो । खेल रोकिनु अघि कर्णाली प्रदेशले ७ विकेटको क्षतिमा १७ रन जोडेको थियो । 

टस जितेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित १६ ओभरमा ६ विकेटको क्षतिमा १ सय १० रनको योगफल तयार पारेको थियो । मैदान भिजेका कारण ढिला शुरु भएको खेलमा ४ ओभर घटाइएको थियो । कर्णाली प्रदेशका लागि अन्जु गुरुङले ३ तथा बिना थापा र एञ्जिला क्षत्रीले समान १ विकेट लिए । खेलमा पुलिसका सम्झना खड्का प्लेयर अफ द म्याच भइन् ।


Author

थप समाचार
x