समाज

निर्वाचन आचारसंहितामा कडाइ, आर्ट व्यावसायीकाे व्यापार खस्कियाे

अतिन आचार्य |
बैशाख ८, २०७९ बिहीबार ६:५९ बजे

काठमाडौँ - वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरिसकेको छ । यसपटक आचारसंहिता लागू भएसँगै राजनीतिक दलले निर्वाचन प्रचारप्रसार गर्न निश्‍चित मापदण्ड अपनाउनु पर्नेछ ।

निर्वाचन प्रचारप्रसारमा दलको सभा, जुलुसमा टोपी र टिसर्ट लगाउन पाइने छैन । आयोगको आचारसंहिताले गर्दा झण्डा लगायतका चुनावी प्रचारप्रसारको सामग्री कम बन्ने भएका छन् । विगतका निर्वाचनमा चोक-चोकमा तुल, ब्यानर र  झण्डा देख्‍न सकिन्थ्यो । यसपालि भने आर्ट सेन्टरको दैलो अगाडि ग्राहकका लागि झण्डा, टाेपी र टिसर्ट लगायतका चुनावी सामग्री राखिएको छ ।


बागबजारमा रहेको न्यु एभरेष्ट आर्टमा निर्वाचन आयोगले आचारसंहिता लागू गरेसँगै यसपटक मानिसको चहलपहल एकदमै कम रहेको बताउँछन् सञ्चालक उदयकुमार कार्की ।

'यो समयमा यसअघि भएको स्थानीय निर्वाचनमा पार्टीका मानिसहरूको भीड थामिनसक्नु हुन्थ्यो', कार्कीले भने ',अहिले भने निर्वाचनको मिति सार्वजनिक भइसक्दा र २२ दिन बाँकी हुँदा पनि मानिसहरू आएका छैनन् ।'

आयोगले आचारसंहिता जारी गर्दा व्यावसायिक कलाकारलाई मार परिरहेको उनले दुखेसो पोखे । अहिले फेरि डिजिटल माध्यमबाट प्रचारप्रसार गर्ने भएकाले कपडा लगायतको सामग्रीमा कार्यकर्ताको आकर्षण घट्दै गएको उनको भनाइ छ । सामाजिक सञ्जालबाट प्रचारप्रसारको प्रयोग बढ्न थालेको छ । फेसबुक, भाइबर र ह्यवाटसएप जस्ता सामग्रीबाट प्रचारप्रसार भइरहेका छन् ।

पछिल्लो समय राजनीतिक दलले झण्डा लगायतका सामग्री निर्माण गर्न छुट्टै मानिसहरू खटाउने गरेका छन् । निर्वाचन लक्षित छुट्टै प्रचारप्रसारको सामग्री बनाउनेहरूको संख्या बढ्दा पनि आर्ट सेन्टरसम्म आउने मानिसको कमी भएको हुन सक्‍ने कार्कीको अनुमान छ । सप्लायर्सले पनि काम गर्दा व्यवसायीहरूलाई ठूलो क्षति पुगेको छ ।

दलहरूले गठबन्धन गरेकै कारण प्रचारप्रसार सामग्री बनाउन कमी भएको हुन सक्ने कार्कीलाई लागेको छ । उनले भने, 'यस पटक पाँच दलले गठबन्धन गर्दा सबै स्थानमा गठबन्धनमा सहभागी दललाई झण्डा, टाेपी र टिसर्ट लगायतका चुनावी सामग्रीकाे आवश्यक नपर्दा व्यापारमा कमी आएकाे अनुमान लगाउन सकिन्छ।'

राम्रो कमाइ गर्ने समयमा पनि मानिसहरूको भीडभाड नबढेकोमा उनी निराश  छन् ।  एक दलले ५ देखि १० हजार प्रचारप्रसार सामग्री तयार गर्नेहरू अहिले पाँच सय थान झण्डाको माग गर्दै आइरहेको उनले बताए । 

यसपालि झण्डा बनाउने कपडा पहिले जस्तो सस्तो नभएको उनले बताए । जुन कपडालाई चाइनिज 'टोफेटा' भनिन्छ । चीनबाट आयात गर्नु पर्ने भएकाले पनि महँगो पर्ने उनको भनाइ छ ।

बागबजारमा कार्कीले आर्ट सेन्टर खोलेको ३५ वर्ष भयो । सेन्टरमा उनीमात्र एक्लै छैनन् । दाजुभाइ मिलेर आर्ट सेन्टर चलाएका छन् । उनीहरूले झण्डा मात्र बनाउँदैनन् । बाहिरी क्लाइन्टकोमा गएर पेन्टिङको पनि गर्छन् । भाइ भने बाहिरी काममा जाने गर्छन् ।

उनले झण्डाको कपडा खरिद गर्दा एकै रङको नपाइने भएकाले रातो र सेतो दुवै खरिद गर्छन् । ४० रुपैयाँ मिटर पाइने कपडा अहिले ६० रुपैयाँ पर्ने कार्कीले बताए । कपडा महँगो भयो तर, मूल्य अनुसारको झण्डा खरिद गर्न नआएकोमा उनले दुखेसो पोखे ।

'झण्डाको कपडाका लागि रोल खरिद गर्छौ', उनी भन्छन्', एक रोलमा १ सय १० हुन्छ । साइज अनुसार धेरै झण्डा पनि बन्छ । साइज नपुग्दा कपडा पनि खेर जान्छन् ।'

कांग्रेस र एमालेका बढी मानिसहरू झण्डाको माग गर्न आर्ट सेन्टरमा आइरहेको उनले बताए । अधिकांश दलहरू प्रचारप्रसारमा लागे पनि ती दलका नेता तथा कार्यर्ताहरू चुनावी सामग्री बनाउन आर्ट सेन्टरमा जाने गरेका छन् ।

आयोगले आचारसंहिता लागू गरे पनि दलका नेता तथा कार्यकर्ताहरू अझै पनि आउन सक्ने कार्कीले आशा राखेका छन् । दलका उम्मेदवारहरूले टिकट पाइसकेपछि एकपटक प्रचारप्रसार सामग्री बनाउनेहरूको भीड लाग्‍न सक्ने उनी सुनाउँछन् ।

न्यू आर्ट सेन्टरबाट उपत्यका बाहिरका मानिसहरूले अहिले पनि दैनिक जसो ५० देखि सय वटा टोपी र टिसर्ट लाने गरेका छन् । 'गएको निर्वाचनमा यतिखेर टोपी बनाउन भ्याइ नभ्याइ हुन्थ्यो', विगत सम्झँदै उनी भन्छन्', कारखानामा भएको कामदारले नपुगेर कामदारको संख्या थप्नु परेको थियो ।' अहिले भने उनीसँग भएका पाँच जना कामदारले फुर्सद पाएका छन् ।

आर्ट सेन्टरबाट मोरङ, धनुषा, कास्की, बागलुङ, रामेछाप र मुस्ताङतर्फ पनि टोपी लगायतका सामग्री गइरहेका छन् । बाहिरी जिल्लामा आचारसंहिताको खासै प्रभाव नपर्ने भन्दै अहिलेदेखि केही जिल्लामा जान थालेको कार्कीले बताए ।

विगतमा दलहरूको गतिविधिले उम्मेदवार तय गरेपछि प्रचारप्रसारले तीव्रता पाउने गरेको थियो । यस पटक पनि पार्टीले उम्मेदवार बनाएपछि आर्ट सेन्टरमा पार्टीका मानिसहरूको भीड बढ्न सक्ने कार्कीले बताए ।

अहिले पनि दलका प्रतिनिधिहरू आउँदै नआएका होइनन् । १२ × १८ को झण्डा बनाउनका लागि आउने उनले सुनाए । उनले थपे', प्रचारप्रसारको लागि अझै केही दिन बाँकी छ । अवश्य झण्डा बनाउन आउलान् ।

कांग्रेसको चारतारा झण्डा बनाउन मँहगो पर्ने उनले सुनाए । तारासहितको झण्डामा कपडाको प्रयोग हुन्छ । रुख र सूर्य अंकित झण्डा बनाउनु परेमा सस्तो पर्ने उनले  बताए । झण्डाको मूल्य १० देखि १८ रुपैयाँसम्म पर्ने उनको भनाइ छ । 'ठूलो साइज भए मूल्य बढी पर्छ कम साइज भएमा मूल्य सस्तो पर्छ', उनले सुनाए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x