समाज

आगलागी नियन्त्रणबारे प्रहरीको 'डेमो'

हेर्दा हेर्दै सखाप भयो हात्ती गौडा गाउँ !

सरिता दाहाल |
चैत १५, २०७८ मंगलबार १३:३ बजे

मकवानपुर - गरिब बस्ती हात्ती गौडा । सबै घरको छाना फुस र स्याउलाले छाइएको । सबैको पेशा भट्टी सञ्चालन ।

साँझ पर्दै थियो, सबैजसो भट्टीहरूमा सेवाग्राहीको चाप बाक्लिँदै थियो । बस्तीको एक भट्टी (चम्सुरीको घर) मा नाचगानसहितको कार्यक्रम चलिरहेको थियो । सबैजसोको चहलपहल चम्सुरीकै भट्टीमा थियो । नजिकैको भट्टीमा रक्सी बनाउँदै गरेको चुल्होबाट आगोको झिल्का टहरामा पुग्यो । सानो झिल्को आगोले टहरो दन्दनी बल्न थाल्यो । बस्तीमा कोलाहल मच्चियो । चौधरी निवास, भट्ट निवास र कान्छीको भट्टी नष्ट भए । भागदौडकै क्रममा लडेर केहीको हात भाँचियो त केहीको खुट्टा । सुरक्षा निकायलाई खबर गरियो ।


नेपाली सेना, सशस्त्र प्रहरी बललगायतको अग्नी नियन्त्रण टोली, नगरपालिकाको बारुणयन्त्र, रेड्क्रसको प्राथमिक स्वास्थ्य उपचार टोली सबै आइपुगे । आगो निभाउने, प्राथमिक उपचार गर्ने आ–आफ्नो भूमिकमा सबै लागिपरे । बस्तीको २ घरबाहेक सबै जलेर नष्ट भए । आगो नियन्त्रणपछि स्थानीय वडा अध्यक्षको रोहबरमा प्रहरीले मुचुल्कासहित क्षति विवरण संकलन गरेर फर्कियो ।

तर, घटना भने कृतिम थियो । कुनै पनि समय सत्य बन्न सक्ने यो एउटा नाटकीय प्रस्तुति थियो । जिल्ला विपत् व्यवस्थापन समितिको नेतृत्वमा देखाइएको नाटक कुनै पनि बेला कुनै पनि स्थानमा सत्य सावित हुन सक्छ । यसको पूर्व तयारी गर्नको लागि सचेतना अभिवृद्धि गर्ने उद्दश्यका साथ नाटक मन्चन गरिएको थियो ।

एउटा घरमा लागेको आगोले सहजै बस्ती सखाप पार्न सक्छ । चैत बैशाखको समयमा विशेषगरी हावाहुरी तथा आगलागी हुने सम्भावना बढी हुने गर्दछ । सुख्खा मौसमका  बेला यस्ता विपदले कहिले र कतिबेला समस्यामा पार्छन् त्यो भन्न सकिन्न । यसैले सचेतनाको लागि यस्तो प्रस्तुती गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

विपदबाट कसरी बच्न र बचाउन सकिन्छ भन्ने उद्देश्यले जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरको नेतृत्वमा खुला चौरमा सुरक्षा निकायले नमुना सुरक्षा पद्धति (डेमो) परिक्षण प्रदर्शन गरेको हो ।

खासगरी आगलागी नियन्त्रण र व्यवस्थापनको विषयमा गोरख बहादुर गण सुपारेटार, सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण मकवानपुर, जिल्ला प्रहरी कार्यलय मकवानपुरका तालिमप्राप्त सुरक्षा सुरक्षाकर्मीहरूले स-साना घरहरूलाई डेमो बनाएर आगलागी कसरी नियन्त्रण गर्ने भनी नमुना प्रदर्शन गरिएको  सशस्त्रका प्रहरी उपरिक्षक नेत्रबहादुर कार्कीले बताए ।

कार्यक्रममा हेटौंडा उपमहानगरका मेयर हरि बहादुर महत, उपमेयर मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी भरतमणl पाण्डे, नेपाली सेनाका प्रमुख सेनानी सुवासचन्द्र महत, राष्ट्रिय अनुसन्धान हेटौंडाका उपनिर्देशक पप्पुशर्मा पौडेल, मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुङ, शिक्षक, विद्यार्थी तथा स्थानीयहरूको उपस्थिति रहेको थियो ।


Author

थप समाचार
x