समाज

बागमती प्रदेशको ६ जिल्लामा बर्ड फ्लू

सरिता दाहाल |
चैत ९, २०७८ बुधबार २१:२२ बजे

मकवानपुर - मकवानपुरसहित बागमती प्रदेशका ६ जिल्लामा बर्ड फ्लूको संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै बर्ड फ्लूको संक्रमणले महामारीको रूप लिनसक्ने भएकोले सजक रहन आग्रह गरेको छ ।


मन्त्रालयका अनुसार मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, र सिन्धुपाल्चोकमा बर्ड फ्लू संक्रमण देखिएको हो । प्रदेशमा माघ १६ गतेदेखि हालसम्ममा संक्रमण विभिन्न जिल्लामा बर्ड फ्लू संक्रमण देखिएपछि नष्ट गरिएको मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाण्डेले बताए ।

बर्ड फ्लू रोग संक्रमण देखिएको स्थानहरुमा हालसम्म ५८ हजार २ सय ६१ पंक्षी, २२ हजार ३४ वटा अण्डा र ११ हजार ४ सय ३९ केजी दाना सुरक्षित तवरबाट नष्ट गरिएको पाण्डेले बताए ।

संघीय सरकारले तोकेको मापदण्ड र नीति अनुसार  कृषकहरुलाई राहत स्वरुप क्षतिपूर्ति दिने सरकारको योजना रहेको सचिव पाण्डेले । "राहतको लागि केही समय लाग्छ,तर किसानले क्षतिपूर्ति पाउनुहुन्छ।" मन्त्रालयले बर्ड फ्लू रोगको समयमै निदान र नियन्त्रणको लागि विभिन्न पहलहरु गरिरहेको जनाएको छ । प्रदेशका अन्य जिल्लामा बर्डफ्लु रोग फैलन नदिन परीक्षणको दायरालाई फराकिलो बनाइएको छ ।

एक क्षेत्रबाट अर्को क्षेत्रमा संक्रमण फैलन नदिन नमूना संकलन, परीक्षण र निगरानी कार्यहरु बढाइएको मन्त्रालयका कृषि बिकास महाशाखाका प्रमुख तथा प्रवक्ता झलकनाथ कडेलले बताए ।

संक्रमणको जोखिम बढ्न नदिन र रोगको नियन्त्रणको लागि प्रदेश सरकारले मातहतका निकायमा कार्यरत पशु चिकित्सक तथा कर्मचारीहरुलाई लामो बिदा नबस्न तथा जिल्ला नछाड्न पत्रचार गरेको छ ।

त्यस्तै मन्त्रालयले प्रदेशको सबै जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्दबाट र्‍यापिड टेस्ट किटबाट परीक्षणको व्यवस्था मिलाइएको छ ।

संक्रमित पन्छीहरुको ओसार प्रसारमा पनि कडाइ गरिएको छ । त्यसका लागि प्रहरीको समन्वयमा पन्छीपालक व्यवसायीले पन्छी ढुवानीको लागि भेटेरिनरी स्वास्थ्य कार्डमा कडाइ गर्ने र र्‍यापिड टेष्ट रिपोर्ट अनिवार्य गर्ने सम्बन्धमा छलफल गरिरहेको मन्त्रालयका प्रवक्ता कंडेलले जानकारी दिए ।

नेपाल कुखुराको मासु र अण्डामा आत्मनिर्भर बन्दै गरेको अवस्थामा बेला बेलामा फैलने यस्ता संक्रमणले समस्या ल्याउने गरेको छ । यस्ता समस्याबाट किसान हतोत्साहित नहोउन भनेर सरकारले राहतको कार्यक्रममार्फत थोरै भए पनि सम्बोधन गर्नेगरेको पाण्डेले बताए । 
 


Author

थप समाचार
x