समाज

भत्केपाटी नाम हटाएर राखियो पुरानै लान्चा फल्चा नाम

सुनीता साखकर्मी |
कात्तिक १९, २०७७ बुधबार ९:२ बजे

भक्तपुर : पाटी हुन्जेल, त्यो ठाउँको नाम ‘लान्चा फल्चा’ थियो । जसको अर्थ हुन्छ- बाटो छेवैको पाटी । जसै पाटी भत्किन थाल्यो, त्यो ठाउँको नाम परिवर्तन भएर भत्केपाटी रहन गयो । अहिले त्यो पाटीको नामोनिशान पनि त्यो ठाउँमा बाँकी छैन ।


अहिले मानिसहरु त्यो ठाउँलाई संगम चोक भन्न थालेका छन् । त्यही ठाउँमा केही दिन अघि ओमकारेश्वर समितिले ठूलो स्तम्भ राखेर ठाउँको नाम नै ‘ओमकारेश्वर चोक’ भनेर नामाकरण गरिदिए । भक्तपुरको चर्चित पर्यटकीय गन्तव्य नगरकोट जाने बाटोमा रहेको यो ठाउँको नाम यसरी समयसँगै परिवर्तन हुने क्रम चलेपछि भक्तपुर नगरपालिका-१० का स्थानीय नेवारहरु अहिले रुष्ट बनेका छन् । मंगलबार बिहानै स्थानीय नेवारहरु भेला भई उक्त ओम अंकित स्तम्भ हटाएका छन् । र सो स्थानमा भत्केपाटी लेखिएको बोर्डलाई छोपेर ‘लान्चा फल्चा’ लेखिएको बोर्ड राखेका छन् ।

‘यसलाई सांस्कृतिक अतिक्रमणको रुपमा लिन्छु म । पुराना ठाउँमा नयाँ मानिस आएर मनपरी नाम राख्न थालेपछि यस्तो समस्या निम्तिएको हो,’ स्थानीय ३६ वर्षीय श्याम भन्छन्, ‘पुराना नामको पछाडि अनेक किंवदन्तीहरु रहेको हुन सक्छ । त्यहाँको पहिचान नै मेटिने किसिमले नाम परिवर्तन गर्न बन्द गरिनुपर्छ । अब हामी यस्तो कामविरुद्ध बोल्छौँ ।'

स्थानीयले ओम अंकित स्तम्भ हटाइरहेको फोटो र भिडिओ फेसबुकमा पोस्ट गर्दै सरीता दुवालले ‘समय र परिस्थिती अनुसार आफ्नो बस्तीको नाम परिवर्तन नगर्न अनुरोध गरेकी छन् । ‘पहिले लान्चा फल्चा रहेको यस ठाउँको नाम समयसँगै परिवर्तन भएर अहिले भत्केपाटी, संगम चोक र अब यो ओम राखेको भए सायद फेरि यस लान्चा फल्चाको नाम ओम चोक भएर पविरर्तन हुन समय लाग्दैन,’ उनले फेसबुकमा लेखेकी छन्, ‘त्यसैले आज ओमलाई हटाउन राम्रै पहल भयो । आफ्नो ठाउँ बस्तीको पहिचान लाई सधैं एउटै कायम राखौँ । आफ्नो ठाउँ बस्तीलाई संरक्षण गर्न यस ठाउँमा फल्चाको निर्माण गर्न आवश्यक देखिन्छ ।’

प्रजापति अनाजसले सरीताको पोस्ट सेयर गरेर लेखेका छन्, ‘भक्तपुर नगरपालिकाद्वारा जसरी अरू सम्पदाको पुनःनिर्माण तथा पुरानै नाम राखेर संरक्षण गरेको छ । अब यस लान्चा फल्चाको पनि पुननिर्माण गरेर भत्केपाटी नभई पुरानो नाम लान्चा फल्चा नै राख्नुपर्ने देखिन्छ । सम्बन्धित निकायको यस कुरामा पनि ध्यान जाओस् ।’

सरीताको फेसबुक भिडिओ लिंक 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x