समाज

कोभिड-१९सँगै निम्तिएको अर्को खतरा

वातावरणीय समस्या झनै बल्झिने संकेत

सुनीता साखकर्मी |
कात्तिक १८, २०७७ मंगलबार १३:२३ बजे

प्रयोग गरेर फालिएको मास्क । तस्बिर : सरोज बैजु

काठमाडौं : कोभिड-१९ को महामारी सुरु भएपछि विश्वमा सबैभन्दा बढी प्रयोग भएको बस्तु के हो ? प्रश्नको उत्तर सहज छ – मास्क । 

पछिल्लो समय मास्क मानिसलाई चाहिने अत्यावश्यक बस्तुभित्र पर्न गएको देखिन्छ । बाहिर हिँड्दा मास्क अनिवार्य छ । एक जना मानिसले दैनिक १ देखि ४ वटासम्म मास्क फेर्नुपर्ने अवस्था तपाईं हामीमाझ आइपुगेको  छ । 


तपाईंलाई थाहा छ ? कोभिड–१९ बाट टाडा राख्न महत्वपूर्ण भूमिका खेल्ने यो मास्कले हाम्रो वातावरण प्रदूषिण गर्न पनि ठुलो भूमिका खेलिरहेको छ नि ! मास्कले फैलाएको प्रदूषणका कारण विश्वभरका वातावरणविद्हरू तथा सरसफाई अभियान्ताहरू चिन्तित छन् । माक्स मात्र होइन, पञ्जा लगायत व्यक्तिगत सुरक्षात्मक उपकरणबाट निस्कने फोहोरका कारण हाम्रो वातावरण दिनहुँ दिन प्रदूषित बनिरहेको छ । जसबाट अछुतो रहन सकेको छैन नेपाल पनि । 

कोभिड–१९को महामारी नेपालमा भित्रिएसँगै यहाँ मास्क, पञ्जा लगायतका प्लास्टिकबाट बनेका अन्य सामग्रीको फोहोर बढेको वातावरणविद् भुषण तुलाधरको बुझाई छ । 

तुलाधरका अनुसार प्याकिङका सामग्रीसँगै अन्य एकपटक प्रयोग गरिने र फालिने बस्तुहरूको प्रयोग नेपालमा पनि अत्याधिक बढेको छ । जसले यहाँको वातावरणमा पनि नकारात्मक असर गर्न सक्छ । 

‘फोहोरमैलाको परिमाण बढेको छ, फोहोरमैलाको परिमाणसँगै यसको प्रकार पनि बढेको छ, त्यस्तै यी बढेका फोहोरमैलाले संक्रमणको जोखिम पनि त्यत्तिकै बढाएको छ,’ वातावरणविद् तुलाधर भन्छन्,‘यहाँ केबल मास्क, पञ्जाको मात्रै फोहोर बढेको छैन, वान टाइम युज(एकपटक प्रयोग गरिने) सामानहरूको फोहर पनि बढेको देखिन्छ ।’ 

सन् २०१२ मा एशियाली विकास बैंकले नेपालका तत्कालिन ५८ वटा नगरपालिकामा ठोस फोहोरमैला सम्बन्धि अध्ययन गरेको थियो । अध्ययनपछि बैंकले प्रकाशन गरेको ‘सोलिड वेस्ट म्यानेजमेन्ट इन नेपाल’ पुस्तकका अनुसार त्यतिबेला नेपालमा दैनिक १ हजार ४३५ टन र वार्षिक ५ लाख २४ हजार टन फोहोर उत्पादन हुन्थ्यो । 

अन्तरराष्ट्रिय ट्रेड सम्बन्धि संयुक्त राष्ट्र संघको कम्ट्रेड डाटाबेसका अनुसार नेपालले सन् २०१७ सम्म ३६७.२४ मिलियन अमेरिकी डलरको प्लास्टिक र सामानहरू आयात गरेको छ । त्यस्तै कोभिडपछि नेपाल सर्जिकल उपकरण व्यवसायी संघले अस्पताल र सार्वजनिक खपत गरी नेपालमा मासिक १० लाखसम्म मास्क प्रयोग भइरहेको तथ्यांक सार्वजनिक गरिसकेको छ । 

एकातिर अत्याधिक प्लास्टिकका सामानहरूको प्रयोग र अर्कोतिर कोभिडपछि मास्क लगायत फोहोरको मात्रा बढेका कारण नेपालमा वातावरणिय समस्या झनै बल्झिने संकेत देखिएको छ । 

२०२० को अप्रिलमा बैंककमा गरिएको एक अध्ययन अनुसार त्यहाँ ५० प्रतिशत प्लास्टिकको प्रयोग बढेको देखियो । तर, नेपालमा यस किसिमको कुनै अध्ययन  हुन नसकेको वातावरणविद् तुलाधर स्वीकार गर्छन् । ‘अहिले समय फरक छ, समय अनुसार हाम्रो फोहोरमैला व्यवस्थापनमा काम गर्नेहरू फेरिएनन्, यसको अध्ययन गरेर मानिसलाई पनि डिस्पोजेबल मास्क र डिस्पोजेबल सामग्री प्रयोगमा प्रोत्साहन गर्नुपर्छ, यसो गरिएन भने घाटा हामी मानवलाई नै हुन्छ’, तुलाधर भन्छन् ।  

जहाँतहीँ उस्तै

सेप्टेम्बरमा संचालित अन्तरराष्ट्रिय तटीय सफाई कार्यक्रमका दौरान ६२ हजार भन्दा बढी मास्क तथा पञ्जाहरु महासागर र समुद्र किनारमा फालिएको अवस्थामा पाइयो । 

जानकारहरू यसलाई एक वातावरणिय खतराको संकेत भएको दाबी गरिरहेका छन् । सुरुवाती तथ्यांक अनुसार समुन्द्र किनार र महासागरबाट गैरनाफामूलक संगठन ‘ओसन कन्जर्भेन्सी’ले कुल ६२ हजार २१० व्यक्तिगत सुरक्षात्मक उपकरणहरु (पीपीई आइटम्स) संकलन गरेको हो । 

उसो त गैर नाफामूलक संगठन ‘ओसन कन्जर्भेन्सी’ले ३० वर्षअघि देखि नै व्यक्तिगत सुरक्षात्मक उपकरणहरु पनि फोहोरको रुपमा संकलन गर्दै आएको थियो । तर, कोभिडको महामारी पछि उनीहरूले तटीय सफाई कार्यक्रमका दौरानमा पहिलोपटक व्यक्तिगत सुरक्षात्मक उपकरणलाई समेत यो तथ्यांकमा सामेल गराए । 
‘व्यक्तिगत सुरक्षात्मक उपकरणहरूबाट फैलिएको फोहोर महासागर र समुन्द्री जीवनको लागि खतरा हो,’ ओसन कन्जर्भेन्सीका प्रमुख वैज्ञानिक डा.जर्ज लियोनार्डले सीएनएनलाई भने । 

ओसन कन्जर्भेन्सीले २०१९ मा सार्वजनिक गरेको रिपोर्टका अनुसार समुन्द्र किनारकको सरसफाई अभियानमा खाना र्‍यापर, चुरोटका बट्टाहरु, प्लास्टिकका बोतल र बोतलका क्याप, जुस पिउने स्ट्र, प्लास्टिककका झोला, चम्चा, प्लेट लगायत प्लास्टिकका कन्टेनरहरू बढी मात्रामा फेला परेका थिए । रिपोर्टका अनुसार गत वर्षको सफाई कार्यक्रममा १२२ देश संलग्न थिए । विश्वव्यापी रुपमा चलेकको यस कार्यक्रमले २ करोड ३३ लाख ३३ हजार ८१६ पाउण्ड रद्दी फोहोरहरू जम्मा गरेको थियो । 

यस वर्ष सम्पन्न सफाई कार्यक्रममा ७६ देश सामिल थिए भने १.६ मिलियन पाउण्ड रद्दी फोहोर जम्मा भएको थियो । डिसेम्बरसम्म थप सफाई कार्यक्रमहरू संचालन हुने र त्यसबाट अझैँ धेरै फोहोर संकलन हुन सक्ने ओसन कन्जर्भेन्सीका प्रतिनिधिले बताएका छन् । 

इन्भारमेन्टल साइन्स एन्ड टेक्नोलोजी जर्नलका अनुसार कोभिडको महामारीका दौरान विश्वव्यापी रुपमा १ सय २९ खर्ब फेस मास्क र ६५ खर्ब पञ्जाहरू प्रयोगमा आएको र त्यसको गलत व्यवस्थापन भएको छ । जसले बृहत वातावरणिय प्रदूषण फैलाएको छ । 

समुन्द्रमा वा समुन्द्री किनारमा फोहोरहरू जम्मा हुनाले स्थायी रुपमा समुन्द्री जीवको अस्तित्व नै मेटिने खतरा बढेको भन्दै ओसन कन्जर्भेन्सीका प्रमुख लियोनार्डले दुःख व्यक्त गरेका छन् । लियोनार्ड भन्छन्,‘कोभिडको महामारीका दौरान किराना र भोजन सामग्री विक्रेता र उपभोक्ताले एकल उपयोग आउने प्लास्टिक व्यागहरुको बढी प्रयोग गरे र यसको माग बढी भयो ।’ 

वर्ल्ड बैंकले ठोस फोहोर व्यवस्थापन सम्बन्धि प्रकाशित गरेको आर्टिकलका अनुसार विश्वमा वर्षमा २.०१ खर्ब टन ठोस फोहोर उत्पादन हुन्छ । कम्तीमा ३३ प्रतिशत फोहोर वातावरणीय रुपमा सुरक्षित तरिकाले प्रबन्धित गरिएको छैन । विश्वव्यापी रुपमा एक व्यक्तिले दैनिक ०.७४ किलोग्राम फोहोर उत्पादन गर्छ । 
उक्त आर्टिकलमा २०५० सम्म विश्वमा वर्षेणी ३.४० खर्ब टनसम्म फोहोर उत्पादन बढ्ने सम्भावना औँल्याइएको छ ।

दक्षिण एसिया, मध्यपूर्व र उत्तरी अफ्रिकामा २०५० सम्म दोब्बर, तेब्बर फोहोर उत्पादन हुने सम्भावना छ । त्यस्तै फोहोर उत्पादन र आयस्तरमा समेत सम्बन्ध रहेको वल्र्ड बैंकले जनाएको छ । उपसहारा अफ्रिकामा लगभग ४४ प्रतिशत फोहोर जम्मा हुन्छ भने युरोप, मध्य एसिया र उत्तरी अमेरिकामा कम से कम ९० प्रतिशत फोहोर जम्मा हुन्छ । 

अहिले डिस्पोजेबल मास्क र पञ्जाहरु पनि विश्वमा प्रयोग हुन थालेको छ । तर, यसतर्फ खासै ध्यान गइरहेको छैन । क्यालिफोर्नियाको गैरनाफामूलक संस्था सफ्राइडर फाउन्डेसनले पनि समन्द्र र तटीय क्षेत्र संरक्षणका काम गरिरहेको छ । फाउन्डेसनका निर्देशक चाड नेल्सनले यो समस्याको समाधान खोज्न जोड दिए । 
नेल्सनका अनुसार समुन्द्रमा जम्मा हुने ८० प्रतिशत प्लास्टिकका फोहोर जमिनबाट आउँछ । सडकमा देखिने मास्कको उचित व्यवस्थापन नहुँदा सडकबाट त्यो मास्क उडेर नालीमा खस्छ । अनि त्यो खोलामा पुग्छ, अनि बग्दै समुन्द्रसम्म पुग्ने नेल्सनको दाबी छ । 

‘यी निला मास्क र पञ्जाहरुमा पनि प्लास्टिक हुन्छ भनेर मानिसहरुले महसुस गर्न सकेका छैनन्, केही मिनेटको लागि प्रयोग गरिएका त्यस्ता मास्क हजारौं वर्षसम्म पृथ्वीमा रहन सक्छन्, यो छिट्टै कुहिँदैन, जब यो सडेर माइक्रोप्लास्टिक बन्छ, तब मात्रै जीव जन्तुले पचाउन सक्छन्,’ उनी भन्छन्, ‘हामीले यो खतराको सतह मात्रै कोट्याइरहेका छौं, यदि हामी अहिले नै सावधान भएनौँ भने यसले समुन्द्रलाई विनाश गरिदिन सक्छ ।’ 

नेल्सनले भनेजस्तै हामीले प्रयोग गर्ने अधिकांश मास्कमा प्लास्टिककै गुण हुन्छ । थोमस डट नेटमा प्रकाशित आर्टिकलका अनुसार सर्जिकल मास्कहरू बनाउन सबैभन्दा बढी ननवुभन फ्याब्रिक वा पोलिप्रोपलिनको प्रयोग हुन्छ । साथै मास्क बनाउन धेरैले पोलिस्टायरिन, पोलिकार्बाेनेट, पोलिएथलिन र पोलिस्टर पनि प्रयोग गर्छन् । मास्क अड्याउन नाकमा स्ट्रिप, कानमा अड्काउन रब, र अन्य चिजहरुको पनि प्रयोग गरिएको हुन्छ । जुनमा प्राय बढी प्लास्टिक र रबरका सामाग्री प्रयोग गरिएको हुन्छ । 

अचेल धेरै ननवुभन फ्याब्रिकबाट बनेका मास्क मात्रै नभई ब्यागहरु पनि प्रयोगमा आइरहेका छन् । सपिङ मल लगायत अन्य पसलमा यस्ता ननवुभन ब्याग पनि प्रयोग गरिन थालिएको छ । विभिन्न रङ्गमा बनेका त्यस्ता ब्याग बनाउन पोलिप्रोपलिन वा टेरेफाथालेट ग्लाइकोल एस्टरको प्रयोग गरिने इकोस्पियरकले २०१७ मा प्रकाशित गरेको आर्टिकलमा उल्लेख छ । 

आर्टिकलका अनुसार पोलिप्रोपलिन पनि पोलिथिन जस्तै कुहिनको लागि ५० वर्ष लाग्छ । जब तापक्रम उच्च हुन्छ, पोलिप्रोपलिनले हानिकारक पदार्थहरू छोड्छ । त्यसैले डिस्पोजेबल मास्क प्रयोग गर्न विज्ञहरू सुझाव दिन्छन् । 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x