समाज

गाउँमा मास्क न सास्क !

सृजना खड्का |
कात्तिक १२, २०७७ बुधबार १२:५२ बजे

रामेछाप : दसैँ मनाउन आएकी लीला भण्डारी (रामेछाप, गोकुलगंगा गाउँपालिका—५) ले कोभिड–१९ को डरले कपन, काठमाडौँ बसुन्जेल विरलै मास्क खोलिन् । कहिलेकाहीँ मास्क बिर्सिएर डेराबाट बाहिर निस्किँदा उनलाई अप्ठ्यारो लाग्थ्यो । मास्क लगाउन बिर्सिदा उनी फेरि डेरामा फर्किन्थिन्  । मास्क लगाउँथिन् । अनि मात्र बाहिर निस्किन्थिन् । 

दसैँमा गाउँ आएपछि उनको बानी बदलिएको छ । सहरमा हुँदा मास्क नलगाई बाहिर निस्कन लाज लाग्ने उनलाई अहिले मास्क लगाएर गाउँघर निस्किन लाज लाग्न थालेको छ । ‘यहाँ कसैले मास्क लगाउँदैनन्’, उनले भनिन्, ‘आफूले मात्र लगाउँदा कार्टुन भइन्छ । कार्टुन हुनुभन्दा मास्क नलगाई हिँड्नु बेस ।’ 


काठमाडौँबाट आएपछि केही दिन उनले मास्क लगाइन् । मास्क लगाउने आफू मात्र भएपछि उनलाई मास्क लगाउन लाज लाग्यो । ‘मास्क लगाउँदा सबैले ट्वाल्ल परेर हेरेपछि मास्क लगाउनै लाज लाग्यो’, उनले भनिन्, ‘लाजै भएपछि ल्याएको मास्क थन्काएर राखेको छु ।’

कोभिडबाट बच्न स्वास्थ्य सुरक्षा मापदण्ड अन्तर्गत सामाजिक दूरीसँगै मास्क अनिवार्य छ । दसैँ मनाउन गाउँ जाने/आउने मनिसहरूमा कोभिडको जोखिम उच्च हुने जनस्वास्थ्यविज्ञहरू बताउँछन् । तर, गाउँघरमा दसैँ मनाउन आउनेहरू न मास्क लगाउँछन्, न सामाजिक दूरी नै पालना गर्छन् । हुनत कतिपयले सामाजिक दूरी भने राखेका हुन्छन् ।

‘मास्क लगाउँदा सबैले ट्वाल्ल परेर हेरेपछि मास्क लगाउनै लाज लाग्यो’, उनले भनिन्, ‘लाजै भएपछि ल्याएको मास्क थन्काएर राखेको छु ।'

गाउँमै दसैँ मनाउन आएका रमेश खड्कालाई नि मास्क उति सारो जरुरी लाग्दैन । गाउँको स्वच्छ हावापानीमा मास्क लगाउनु जरुरी नभएको उनले बताए । ‘उता मास्क लगाउँदा लगाउँदा हैरान भएर आएको अब यता आएर नि के मास्क लगाउनु’, उनले भने, ‘सहरमा हो मास्क नलगाउँदा रोग लाग्ने । गाउँमा त मास्क लगाइयो भने रोग लाग्छ । यस्तो स्वच्छ हावापानीमा कसले मास्कले मुख थुनेर हिँड्छ ।’ 

दसैँ मनाउनभन्दा नि मास्क नलगाई गाउँघर घुम्न रमाइलो लागेको छ रमेशलाई । ‘टिका लगाउन १० गाउँ  डुलियो कसैले मास्क लगाएको देखिएन’, उनले भने, ‘गाउँको स्वच्छ हावापानीले कोरोना लागे पनि पचाउँछ ।’ 

भक्तपुर, आदर्शबाट रामेछाप ससुरालीमा दसैँको टिका लगाउन आएका सूर्यनाथ दासलाई पनि गाउँमा कोभिड नै छैन जस्तो लागेको छ । ‘कसैले मास्क नलगाएको देखेर कोरोना नै छैन भन्ने लागिरहेको छ’, उनले भने, ‘कोरोना त सहरमा मात्र रहेछ । गाउँमा त कोरोनाको नामोनिशान केही रहेनछ ।’

६६ वर्षिया होमकुमारी खड्काले यस वर्ष धेरैलाई कोरोनाबाट बच्नु भन्दै आशीर्वाद दिइन् । तर, आफूले भने सामान्य स्वास्थ्य मापदण्ड पनि पालना गरिनन् । उनले न मास्क लगाइन्, न सामाजिक दूरी नै पालना गरिन् । सहरबाट आएका छोराछोरी नाति–नातिनादेखि गाउँभरिका सबैलाई उनले टिका लगाइदिन् । ‘सहरमा रातदिन मास्क लगाएर हिँड्छन् रे’, उनले भनिन्, ‘हाम्रो त अहिलेसम्म एक दिन पनि मुखमा मास्क परेको छैन । कोरोना लागे नि लागोस् तर, मास्क चाहिँ लगाइँदैन ।’ 

जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले  सहरबाट गाउँ गएका पाहुनालाई खुला हृदयले स्वागत गरे पनि उनीहरूसँग भेटघाट गर्दा मास्कको प्रयोग गर्ने दूरी कायम गर्ने जस्ता कुरामा ध्यान दिनुपर्ने बताउँछन्  । ‘उनीहरूले संक्रमण बोकेर आएका हुन सक्छन् भन्ने कुरामा ध्यानमा दिनुपर्छ,’ उनी भन्छन्, ‘स्थानीय निकायहरूले यस्ता कुरामा ध्यान पुर्‍याउनु पर्छ ।’

यो वर्ष मान्यजनको स्वास्थ्यलाई ध्यानमा राख्दै उनीहरूभन्दा टाढा भएर चाडपर्व मनाउनुपर्ने उनी बताउँछन् । ‘मान्यजनसँग दूरी कायम गर्नु नै यस वर्ष उनीहरूबाट आशीर्वाद लिए सो–सरह हो,’ उनी भन्छन् ।


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x