समाज

घातक रिस

सुनीता साखकर्मी |
असोज २२, २०७७ बिहीबार १३:१७ बजे

काठमाडौंः जब ‘धुर्मुस’आफूले भनेजस्तो नभए ‘मलाई लाटो रिस उठ्यो’ भन्दै मुर्मुरिन थाल्छ, वरिपरिका सामान जथाभावी फ्याक्दै उफ्रिन थाल्छ, तब उनलाई हेर्ने दर्शक डराउँदैनन् । बरु मज्जाले पेट मिचिमिचि हाँस्छन् । किनकी धुर्मुसलाई जति लाटो रिस उठे पनि उनले वास्तविकतामा कसैलाई केही नराम्रो गर्दैनन् भन्‍ने मानिसले बुझेका छन् । ‘लाटो रिस उठ्यो’ भन्‍ने थेगोले हाँस्य कलाकार सीताराम कट्टेललाई नेपाली समाजमा निकै लोकप्रिय बनाइदियो ।

तर के वास्तविक जीवनमा पनि ‘लाटो’ रिस उठ्ने मानिस लोकप्रिय हुन्छन् त ? सायद हुँदैनन् । किनकी त्यस्तो रिसाउने मानिसले कुन बेला के गर्छ भन्‍ने कुनै अनुमान लगाउन सकिँदैन । त्यस्ता मानिसहरूसँग परिवारका सदस्यदेखि समाजका मानिसहरू पनि डराएर बस्नुपर्छ । कहिलेकाहीँ  रिसले निकै भयानक परिणाम निम्त्याउँछ । सानो सानो कुरामा मानिसहरूलाई लाटो रिस उठ्दा धनको मात्रै नभइ ज्यानको समेत भएका घटना पनि प्रशस्तै पाइन्छन् । 


मानिसलाई ‘लाटो’ रिस उठ्दा के सम्म हुँदो रहेछ, पहिले केही उदाहरण हेरौँ ।

  • उदाहरण १

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा २६ जेठमा सामुहिक हत्या काण्ड भयो । तिलोत्तमा नगरपालिका–१० मैनहवास्थित कृष्णबहादुर पुनको गंगादेवी कृषि फर्ममा काम गर्ने रुपन्देहीकै सैनामैना–५, दरखासीका ४० वर्षीय माधव मुसहर, उनकी श्रीमती ३५ वर्षीया जानकी, फर्ममै बस्ने पोषराज मुसहर तथा स्थानीय करण चौधरी र आशिष चौधरीको हत्या भयो । हत्याको अरोपमा प्रहरीले सोही कृषि फर्ममा काम गर्ने सुर्खेतका झसेन्द्र बहादुर सिञ्‍जालीलाई पक्राउ गर्‍यो । प्रारम्भिक अनुसन्धानमा सिञ्‍जालीले आफ्नो चरित्र हत्या गर्ने र काममा ठगी गरेको आरोप लगाउने गरेकाले रिस फेर्न आवेगमा हत्या गरेको स्वीकारे ।

  • उदाहरण २

दाङलाई प्रदेश ५ को स्थायी राजधानी बनाउन प्रदेश सरकारले प्रदेशसभामा प्रस्ताव पेश गरेपछि विरोध सुरू भयो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले १६ असोजमा विभिन्‍न स्थानमा टायर बालेर प्रदर्शन गर्‍यो  । प्रदेशका मन्त्रालय तथा विभिन्‍न समितिका पदाधिकारी चढ्दै आएका ४ सरकारी गाडीमा तोडफोड भयो । सोही क्रममा तिलोत्तमा नगरपालिकाको शिक्षा अधिकृतको रुपमा कार्यरत शारदा भट्टराईको स्कुटर आँखै अगाडि जलाइयो । उनले सडकमा रुदैँ हात जोडेर स्कुटरको डिक्कीमा रहेको आफ्नो ब्याग, नगद, बैंकका एटिएम, लाइसेन्स र मोबाइल निकाल्न आग्रह गरिन्, तर उनको आग्रह सुनिदिने त्यहाँ कोही थिएन । सबै जलेर खरानी भए ।

  • उदाहरण ३

२६ भदौमा कीर्तिपुर नगरपालिका-७ बस्‍ने ६६ वर्षीय प्रेमलाल महर्जनले आफ्नै घर बहालमा बसेका बारा कलैयाका ४८ वर्षीय शम्भु चौधरीमाथि कुटपिट गरे । उनीहरूबीच विवाद हुँदा महर्जनले काठको भाटाले हिर्काउदा घाइते भएका शम्भुको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त किर्तिपुरका प्रहरी नायब उपरीक्षक रूकेश तन्डुकारले बताए ।  

  • उदाहरण ४

९ साउनमा गोरखाको सहिदलखन गाउँपालिका स्थित मनकामनाकी ७२ वर्षिया कृष्णकुमारी आलेको हत्या भयो । प्रहरीको प्रारम्भिक बयानमा एक युवकले पछाडीबाट ढुङगाले हानेर बृद्धाको हत्या गरेको स्विकारे । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी एसपी सुरेन्द्रबहादुर गुरुङका अनुसार आरोपित युवक पाडा चराउन गएका बेला गोडामा हिलो लागेपछि खोलामा हिलो पखाल्दै थिए । त्यही बेला खेतमा पानी लगाउन खोलामा पुगेकी कृष्णकुमारी एक्कासी चिप्लिएर लडेपछि युवक हाँसे । अनि बृद्धाले ‘हाँस्छस्’ भन्दै युवकलाई गाली गरेपछि एक्कासी आवेगमा आइ ती युवकले ढुङगाले हानेर बृद्धाको हत्या गरेको स्विकारे ।

  • उदाहरण ५

१२ असोजमा दोलखाको शैलुङ गाउँपालिका–८ मनगाउँकी ४७ वर्षीया दुर्गामाया श्रेष्ठले ५२ वर्षीय पति हस्तनारायण श्रेष्ठको कोदालो र खुकुरी प्रहार गरी हत्या गरिन् । पति हस्तनारायणले आफ्नो चरित्रमाथि प्रश्न उठाउँदै गाली गर्न थालेपछि आवेगमा आएर हत्या गरेको दुर्गामायाले स्वीकारेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।

.......

विश्व कोरोनाको चपेटामा परेसँगै नेपालमा पनि चैतदेखि लकडाउन सुरू भएयता रिसको आवेगमा भएका घटनाहरू हुन् यी ।

यी मात्रै होइन, यो भन्दा पहिले र यसबीच रिसले थुप्रै घटनाहरू जन्माएका छन् । जुन सुन्दा मात्रै पनि कहाली लाग्‍ने खालका छन् । घर, समाजमा मात्रै यी घटनाहरू सीमित छैनन्, सडकमा समेत यस्ता घटना घटेका छन् । अरुसँग रिसाएर आफ्नै ज्यान लिनेहरू पनि छन् । यसरी रिसाउनेमा सर्वसाधारण मात्रै छैनन्, पढेलेखेका र देशमा शान्ति र सुशासन कायम गर्छु भन्दै जनताको घरदैलो चहारेर निर्वाचन जितेका बिजेता बनेका सांसदहरू पनि छन् ।

१९ असोजमा प्रदेश ५ को प्रदेश सभा बैठकमा कानुन तथा आन्तरिक मामिलामन्त्री कुलबहादुर केसीले राजधानी र नामको प्रस्ताव छलफलको लागि पेस गरे । सोही क्रममा कांग्रेस सांसदहरूले सभाको कुर्सी, टेबुल र माइक तोडफोड गरे ।

रिस बढ्नुमा सरकार जिम्मेवार

लेखक युग पाठकका अनुसार मानिसमा रिस त्यसै जन्मदैन । समाजमा जब बलियोले कमजोरलाई दबाउने कोशिस गर्छ, तब दबिएकाहरूमा रिस जन्मन्छ । समाजमा तीन किसिमका शक्ति संरचना छन् । वर्णव्यवस्थाले ठूलो जातले सानो जातलाई, पितृसत्तामा पुरुषले महिलालाई र पुँजीवादमा धनीले गरीबलाई देखाउने शक्तिको कारण पनि मानिसमा रिस जन्मन्छ । अहिले महामारीको समयमा मानिसहरू घरभित्रै थुनिएर बस्‍नुपरेको छ । तर अहिलेको समयमा पनि सामाजिक रुपमा बलियाहरू नै माथि परे । राज्यले नागरिकलाई असहाय रुपमा छोडिदियो । पाठक सोध्छन्, ‘नागरिकलाई घरमा थुनेर नियन्त्रण गर्ने, तर उसको खल्तीको पैसा लिएर मनपरी गर्ने भएपछि मानिस आक्रोशित बनेका हुन्छन् । नागरिकले खान नपाउँदा राज्य खोइ त ?’

पहिले समाजमा जुन प्रकारको विभेद थियो, नेपाल गणतान्त्रिक भएसँगै त्यसलाई केही मात्रामा कम गर्न सफल भएको थियो, तर अहिले नेपालको राजनीतिले त्यसलाई उल्टाउने वा प्रतिगमनतिर लगेको पाठकको धारणा छ । ‘अहिले ‘सामाजिक दुरी’ भन्‍ने शव्द व्यापक सुनिन्छ, यो महामारीले साँच्चिकै मानिसहरूबीच सामाजिक दूरी बनाइदियो, तर हुनुपर्ने भौतिक दुरी मात्रै थियो,’ उनी भन्छन्, ‘यसलाई कम गर्नको लागि सबैले आफ्नो तवरबाट योगदान दिनुपर्छ  । सरकारले प्रशासनिक लगानी गर्नुपर्छ । त्यस्तै टोलटोलदेखि जागरण आउनुपर्छ ।’

युवा कवि बिमला तुम्खेवा पनि मानिसहरूमा रिस र आक्रोस बढ्नुमा राज्य जिम्मेवार रहेको बताउँछिन् । उनले राज्यले नागरिक प्रतिको जिम्मेवारी कुशलतापूर्वक ननिभाएको बताइन । लाखौँ युवा बेरोजगार भए । नेपाल लोकतान्त्रिक शासन छ भने पनि व्यक्तिवादी शासन सत्ता जस्तो देखियो । आम मानिस खान नपाएर भोकै मर्न लागेको अवस्थामा सरकार भ्रष्टाचारमा लिप्त छ ।

रिसलाई कानुनले मात्रै नियन्त्रण गर्न सक्दैन

काठमाण्डौं स्कुल अफ ल का प्रोफेसर एवं अधिवक्ता माधव आचार्यका अनुसार आन्तरिक रुपमा शरीरमा विकास भएको क्रोधलाई जति नै कडा कानुन बनाएर पनि कम गर्न सक्दैन । उनी भन्छन्, ‘मानिसको मन भित्र गुम्सिएको कुण्ठासम्म कानुनको पहुँच पुग्दैन । फौजदारीमा आन्तरिक द्वन्दमा रहेको मानिसलाई कडा दण्डले काम गर्दैन । उसले बाहिर देखाउने व्यवहार नियन्त्रण गर्न मात्रै कानुन बनेको छ ।’

त्यस्ता आन्तरिक असन्तुष्टिलाई जबरजस्ती रोक्न पनि सकिँदैन र त्यसै बिलाएर पनि जाँदैन । यो त जति गुम्सियो, झन् त्यति थुप्रिँदै जान्छ । जुन मौका पाउने बित्तिकै उसको व्यवहारमा देखिन्छ ।

समाजमा घटेका प्राय त्यस्ता घटनामा युवापुस्ता सम्मिलित भएको देखिन्छ । त्यसकारण विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई रिस व्यवस्थापन गर्न शिक्षकहरूले सिकाउन पर्ने अधिवक्ता आचार्य बताउँछन् ।

आचार्यका अनुसार यस्ता जघन्य अपराध गर्न नदिनको लागि मानिसलाई निरुत्साहित पार्न भने सकिन्छ । त्यसका लागि घटिसकेका घटनाका दोषीलाई जति सक्दो चाँडो सजाय दिनुपर्छ ।

‘कतिपय ठाउँमा घटेका घटनाहरू प्रहरीकहाँसम्म पुग्दैन । पुगेपनि यहाँ त सरकारी तवरबाटै ढाकछोप हुन्छ,’ आचार्यले भने, ‘कुनै गल्ती गर्नेलाई चाँडै सजाय दिइयो भने अन्य मानिस त्यस्ता घटना गर्न निरुत्साहित हुन्थे । तर यहाँ घटना भएको लामो समयसम्म अपराधी समातिदैनन् । कानुनबमोजिम दण्ड हुँदैन । त्यसले गर्दा अन्यको पनि आत्मबल बढ्छ । त्यसैले सरकारी संयन्त्रहरू नै बलियो र निष्पक्ष हुनुपर्छ ।’

रिसमा वा आवेगमा आएर घट्ने त्यस्ता घटनामा मनसाय पूर्वक गरिने अपराध भन्दा कम सजाय हुने अधिवक्ता आचार्यले जनाए । त्यस्ता घटना घट्नुमा पीडितको पनि योगदान हुने भएकोले पुरै सजाय पाउँदैन । सजाय घट्न सक्छ ।  

 
रिसाउन पनि जान्नुपर्छ

मनो विश्लेषक बासु आचार्यका अनुसार रिस नभइ नहुने विषय हो । रिस जरुरी छ । रिसले मानिसलाई सहयोग गर्छ । हाम्रो कहिलेकाहीँ थोरै रिसले कामहरू सजिलै बनिदिन्छ । कामहरू छिटो छरितो हुन्छ । तर कति रिस देखाउने भनेर जान्नुपर्छ । रिसले आफुलाई नै खाने गरी रिसाउन नहुने आचार्य बताउँछन् ।

उनी भन्छन्, ‘सामान्य रिस हाम्रो प्रगतिको लागि आवश्यक छ तर रिसले आफुलाई नै गाह्रो बनाउँछ भने त्यो रोगको परिणाम हो । सोसल एन्जाइटी भएका बाहेक, डिप्रेसन, एन्जाइटी, पर्सनालिटी डिअर्डर, स्किजोफेनिया हुनेहरूलाई रिस देखापर्छ । कुनै समस्या भयो भने ज्वरो आउँछ भन्या जस्तै कुनै पनि मानसिक समस्या भयो भने रिस देखापर्छ । हामीले रिस देखाउने तरिकाहरू व्यवस्थापन गर्न थाल्यो भने राम्रो हुन्छ ।’

कुनै कुरामा कसैलाई मतलब हुन्न, तर कसैलाई कति धेरै मतलब हुन्छ । जो मानिस रिसाउँछ, उसैले आफ्नो रिस बुझ्नुपर्छ । अरु कसैले आफ्नो रिस बुझ्‍न नसक्ने आचार्य बताउँछन् । धेरै रिसाउने मानिसलाई अरु मानिसले आफ्नो हिसाबले प्रयोग गरिदिनसक्ने भएकाले होस पुर्‍याउन आचार्य सुझाउँछन् ।  

आचार्यका अनुसार मानिस खेलौना जस्तो हुनुभएन । अरुले नचाइदिँदा नाच्ने, अरुले तपाईंलाई खुसी बनाउन सक्ने, अरुले तपाईंलाई दुखी बनाउन सक्ने हुनुहुन्न । अरुले कुल बनाइदिन सक्ने, डिस्टर्ब गरिदिन सक्ने हुनुहुन्न । त्यो त खेलौना जस्तो हो, रोबोट जस्तो हो । मानिस त्यस्तो हुनुहुन्न ।

‘तपाईंलाई मानिसले सजिलै विच्छिप्त बनाउन सक्छ, हल्लाइ दिन सक्छ भने तपाईं कसरी महान् हुनुभयो त ? आफ्नै निर्देशनमा आफु चल्न सक्ने हुनुपर्छ । त्यसको लागि तपाईंले आफुलाई, रिसलाई बुझ्‍ने कोशिस गर्नुपर्छ । रिसलाई व्यवस्थापन गर्ने कोशिस गर्नुपर्छ,’ उनी भन्छन्, ‘रिसाउने पनि तरिका हुन्छ । रिसाउन पनि जान्नुपर्छ । त्यसको लागि ‘कग्निटिभ विह्यावियरल टेक्निक’ सिक्नुपर्छ । रिसलाई कसरी कुल डाउन गर्ने भनेर सिक्नुपर्छ । त्यत्तिकै रिस कन्ट्रोल हुन सक्दैन । रिस कन्ट्रोल गर्न साथी, परिवारको सहयोग लिनुपर्छ । नभए कथा, कविता, साहित्य, नृत्य गर्नुपर्छ । नभए मनोचिकित्सक वा मनोविश्लेषकको साथ लिनुपर्छ ।’


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x