समाज

विद्यार्थी भन्छन् :

'यसवर्ष कोभिडले दसैँ मनाओस्, अर्को वर्ष हामी मनाउँला'

सुनीता साखकर्मी |
कात्तिक ५, २०७७ बुधबार ७:४७ बजे

काठमाडौं : दसैँको आज पाँचौ दिन । दार्चुलाका राजेन्द्रसिंह विष्टलाई भने कुनै हतार छैन । किनकी राजेन्द्र यसवर्ष काठमाडौंमै बस्छन् । त्रिभुवन विश्वविद्यालयमा एमबीएस प्रथम वर्षमा अध्ययनरत उनले दसैँमा दार्चुला नजाने निधो गरेका छन् ।

कोभिडको सन्त्रास त छँदै छ, उनको अनलाइन कक्षा पनि सँगै चलिरहेको छ । उनी काठमाडौं बस्न थालेको तीन वर्ष भयो । उनी पहिलो पटक दसैँमा घरबाट टाढा रहनेछन् । ‘तीजको बेला माइती जान नपाएको चेलीलाई जस्तो महशुस हुन्छ, त्यस्तै मलाई पनि महशुस भइरहेको छ,’ उनले भने, ‘यसवर्ष कोभिड-१९ ले दसैँ मनाओस्, अर्को वर्ष हामी मनाउँला ।’


राजेन्द्रले जस्तै थुप्रै विद्यार्थीहरु यसवर्ष दसैँमा घर गएका छैनन् । दसैँ भित्रिसक्दा बजारमा पनि अघिल्ला वर्षहरु जस्तो चहलपहल भने देखिँदैन । टिकट काउन्टरहरुमा पनि त्यति भीड छैन ।

सिरहा, औरही गाउँपालिका-४ का राज यादव पनि दसैँमा घर नजाने निधोमा पुगेका छन् । रत्नराज्य लक्ष्मी क्याम्पसको पत्रकारिता अन्तर्गत स्नातकोत्तर तेस्रो वर्षमा अध्ययनरत छन् उनी । उनको घरमा दसैँको टिकाटाला त हुँदैन तर दसैँको नवरात्रीमा महीलाहरुले रातभर झिझिया नृत्य गर्छन् । पुजा आजा भने हुन्छ । घरबाट आमाले पनि उनलाई घर आउन आग्रह गरिरहेकी छन्, तर उनले दसैँमा घर नजाने निधो गरिसके ।

‘दसैँमा घरका साथै आफन्तकोमा मिष्ठान्न परिकार पाक्छ । अनि आफन्तहरुले त्यो खानको लागि बोलाउनुहुन्छ,’ उनले भने, ‘साथीहरुले पनि भारतमा लाग्ने मेला हेर्न जान कर गर्छन् । जाउँ भने कोभिड संक्रमणको डर, नजाउँ भने आफन्त साथीभाइ रिसाउने डर हुन्छ । त्यसैले घर नै नजाने निर्णय गरेँ ।’

काठमाडौंमा उनी काम पनि गर्छन् । पहाडी जिल्लाका साथीहरुले दसैँमा विशेष छुट्टी माग्ने हुँदा उनले आफ्नो छुट्टी उनीहरुलाई दिने निर्णय समेत गरेका छन् । तिहारदेखि छठको समयमा भने उनी घर जाने सुरमा छन् । उनी भन्छन्, ‘त्यसबेला सरकारले लकडाउन गर्‍यो भने पनि हिँडेर भए नि जान्छु । दसैँमा चाहिँ जादिनँ ।’

उदयपुर गाइघाटकी स्तुती चौधरी पनि यसवर्ष घर नजाने निर्णयमा पुगेकी छन् । रत्नराज्य लक्ष्मी क्याम्पसको पत्रकारिता अन्तर्गत स्नातकोत्तर तेस्रो वर्षमा अध्ययनरत स्तुतीलाई यात्रा गर्दा हुने खतरासँग पैठेँजोरी खोज्न मन छैन । उनी भन्छिन्, ‘लामो यात्रा गरेर घर पुग्दा मलाई कतै कोभिड भयो भने गाउँमा बसेका मेरा बाआमालाई पनि सर्ने हुन्छ । त्यो खतरा मोल्न चाहन्नँ ।’

काठमाडौं विश्वविद्यालयमा जियोम्याट्रिक इन्जिनियरिङको स्नातक प्रथम वर्षमा अध्ययनरत दिपेश पाण्डेले पनि यसवर्ष काठमाडौंमा नै दसैँ मनाउने सोचमा छन् । उनी अहिले कलंकीमा आमा र दाईसँग बस्दै आएका छन् । उनका बुवा भने धनगढी कैलालीमा छन् ।

कोभिडको सन्त्रासका समयमा परिवार नै लिएर यात्रा गर्नु जोखिमपूर्ण भएकाले उनीहरु यात्रा नगर्ने सोचमा छन् । बरु उनका ब्वा धनगढीबाट काठमाडौं आउने सोचमा छन् । 'पहिले दसैँमा धनगढी जाने गाडीको टिकट काट्न टिकट काउन्टरमा लाइन लाग्न जानुपर्थ्यो, अहिले अब नजाने सुर गरियो,’ उनी भन्छन् । 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x