समाज

चिहान बनाउन हातेमालो

सुनीता साखकर्मी |
कात्तिक ४, २०७७ मंगलबार २०:३७ बजे

तस्बिरहरू : ;सुनीता/इकागज

काठमाडौं : काठमाडौं महानगरपालिका वडा नं ७ का पूर्ण शाक्य उमेरले ७४ वर्षका भए । तर उनी मंगलबार १७ वर्षे तन्‍नेरी युवाको जोश निकालेर साबेल चलाउँदै थिए । काठमाडौंको पिंगलास्थानस्थित चाःबही(चावाहिल)को पिंगद्य द्विप(चिहान)को जग खन्दै थिए उनी । उनी भन्दै थिए, ‘यो हाम्रो सम्पदा हो, त्यसैले हामीले नै संरक्षण गर्नुपर्छ ।’   
पूर्णले आफ्ना बा, आमाको मृत शरीर यहीँ जलाएका थिए । त्यसअघि पनि उनका बाजे, बराजु पनि यही द्विपमा जलाइए । लामो समयको बहस र वार्ता पछि यो ठाउँमा द्वीप बनाउने भएपछि उनी खुसी छन् । 

चाःबही वरीपरी शाक्य समुदायका कोही मृत्युभएमा यहीँ जलाउने चलन छ । तर केही दशक अघि देखि भने यो ठाउँमा मृत शरीर जलाउन अवरोध भयो । यस ठाउँमा बस्‍न आएका नयाँ वासिन्दाले अवरोध सिर्जना गरे । ‘मुर्दा ल्याउँदा मोटर ल्याएर रोकेर, लास नै लुच्‍न आए, ढुंगाले हान्‍ने, मारामार भयो । डन आएर जे मन लाग्यो, त्यही गर्‍यो,’ उनी भन्छन्, ‘यहाँ भन्दा पशुपति सजिलो छ, तर हाम्रो संस्कृति मै छैन ।’
  
मानिस जन्मिएर जहाँ पुगेपनि मर्ने बेलामा आफू जन्मिएकै ठाउँमा मर्न चाहन्छ । त्यसैले पनि यो द्वीप ऐतिहासिक चारुमति विहारसँग सम्बन्धित रहेको छ । त्यस बिहारबाट प्रत्येक वर्ष चिहानको निश्‍चित विन्दुमा रात्रीको बेलामा तान्त्रिक विधि अनुसार पुजा गरी मोहनिसिन्ह बनाइ गुप्तयोगिनीलाई अजः (गाजल) लगाइदिने चलन छ । यसको लागि अन्यत्र पुजा गरेर नहुने अष्टलक्ष्मी शाक्य बताउँछिन् ।
 
काठमाडौं वडा नं १२ निवासी, सम्पदा अभियान्ता शैलेश शाक्यका अनुसार अहिलेका युवा भाषा, साहित्य संस्कृति प्रति सचेत छन् । २०४६ पछि आमुल परिवर्तन भएसँगै देशका कुनाकाप्चाबाट मानिस काठमाडौं आए । पहिले ६/७ लाख मानिस बस्‍ने ठाउँमा अहिले ६० लाख मानिस छन् । काठमाडौंको हरेक ठाउँमा अतिक्रमण हुन थाल्यो ।



 
काठमाडौंका स्ववासीहरुलाई कालान्तरदेखि राज्यसत्ताले पिल्साएर राखेको उनको दाबी छ । ‘सुरुमा हाम्रो खाली जग्गामा सडक बन्यो । हाम्रै जग्गा मिचेर सडकपेटी बनायो । त्यतिले पनि नपुगेर हाम्रो घरमा डोजर लगाएर सडकमा बिलय गरायो । सहर बनायो । घरमा पानी आएन । देगल भत्कायो,’ उनी भन्छन्, ‘हामी त्यति हुँदा पनि सहेरै बसेको हो । तर अब त हामी मरेपछि जलाउने घाट पनि अतिक्रमण गर्न थाल्यो । यसलाई कसरी सहेर बस्‍ने ? सहन सकिँदैन ।’
 
शैलेशका अनुसार यहाँ गल्ती त भएकै हो । द्वीप भनेर थाहा पाइ पाइ जग्गा बेचिदियो, सस्तोमा पायो भनेर किन्‍नेले पनि नबुझी किनिदियो । सम्पदा अभियान्ता शैलेश भन्छन्, ‘मैले यदि १० रुपैयाँ पर्ने सामान १ रुपैँयामा पाइरहेको छु भने किन पाइरहेछु, चोरेको सामान पो हो कि, या नक्कली पो हो कि भनेर किन्‍नेले ख्याल गर्नुपर्दैन ? अनि द्वीपमा मान्छे जलाउनै दिन्‍न भनेर भन्‍न हुन्छ त ?’

स्थानीय रुष्ट 

द्वीप निर्माणको कार्यक्रम सूरु भएसँगै अन्य स्थानीयहरु रुष्ट भएका छन् । मंगलबार द्वीप बनाउन लागि परेका स्थानीय नेवार, सम्पदा अभियान्ता र पत्रकारहरुमाथि नै आरोप प्रत्यारोप गरिरहेका थिए । उनीहरु भन्दै थिए, ‘अन्त पनि घरहरुको बीचमा भएको मसानमा मान्छे पोल्न छाडिसक्यो, यहाँ चाहिँ पोल्नुपर्ने ? हो पहिले यहीँ पोल्थ्यो होला, तर अहिले घनाबस्ती भएपछि पनि यहीँ पोल्नुपर्ने ? मान्छे मरे, पशुपतिमा लगे भैहाल्यो नी, संसारले मान्छे पशुपतिमा लैजान्छ । नगरपालिकाको मान्छे आफ्नै भयो, वडाको मान्छे आफ्नै भयो । हाम्रो कुरा कस्ले सुन्‍ने ? सबैको घर किनेर मसान बनाउनु ।’
 
स्थानीय सचिन शाक्यका अनुसार ३० वर्ष अघि पनि झगडा भएको थियो । त्यतिबेला यहाँ दुई/तीन घर थिए । त्यसबेला शाक्य समुदायले द्वीप बनाउन डिपिसी गरिसकेका थिए । तर यहाँ आएका नवआगन्तुक वासिन्दाले नबनाउन आग्रह गरेपछि द्वीपको घर नबनाउने तर लास जलाउन दिइने भन्दै मौखिक रुपमा सहमति भएको थियो । तर २ माघ २०७४ देखि फेरि यो विवाद बल्झियो । सचिनकै ९८ वर्षीय हजुरआमा २ माघ, २०७४ मा बितिन् । ‘उहाँको निधन भएको बेला यहाँ रोकावट भयो,’ उनी भन्छन्, ‘हामीलाई दुःख परेको बेला झन् लास नि जलाउन अवरोध गरेर दुःख दिइयो ।’
 
त्यसपछि धेरै पटकको वार्ता तथा असहज परिस्थितीबाट गुज्रिएपछि रैथाने नेवार समुदाय आफ्नो परम्परा कायम राख्‍न र आफ्नो संस्कृति जोगाइराख्‍न अग्रसर भएको सचिनले बताए । दाहगृह निर्माण गर्नुपर्ने निश्कर्षमा पुगेर काठमाडौं महानगरपालिकाबाटै बजेट स्वीकृत तथा नाप नक्शा पास गरि ठेक्का टेण्डरबाट घाटको संरचना बनाउने निवेदन भए । 

सोही अनुरुप महानगरपालिकाबाट ठेक्का पाई राउचुली कन्सट्रक्सनलाई निर्माणकार्यमा सहयोग गर्न २८ असोजमा विधिवत् शिलान्यास भएको स्थानीय सचिन शाक्यले बताए । त्यसबेला पनि नवआगन्तुक वासिन्दाले अवरोध गरे । बल प्रयोगमा उत्रेपछि मुठभेडको स्थिति बन्यो । निर्माणकार्यमा अवरोध भयो । गुठियारको तर्फबाट सुरक्षाको मागसहितको  काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवदेन दिइयो । कार्यालयले सुरक्षाको आदेश र सुरक्षामा खटिएका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्‍नेतको समन्वयपछि भोलिपल्ट वडा ७ का जनप्रतिनिधिको रहोबरमा दुबै पक्षबीच समाधानार्थ वार्तामा बस्‍ने निर्णय भयो ।
 
२९ असोजमा वडा कार्यालयमा दुवै पक्षबीच छलफल भइ घाट वरपरका वासिन्दाहरुले ३ कार्तिकसम्म निर्माण सम्बन्धी भएका प्रक्रिया बुझ्‍ने र आवश्यक कानूनी उपचारमा जान पाउने समय पाएका थिए । तर कुनै कानूनी अवरोधमा उनीहरु नगएपछि ४ कार्तिकमा निर्माण कार्य अघि बढाइएको छ । 


 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x