समाज

प्रहरीको बठ्याइँ पब्लिकले पक्रिएपछि...

सृजना खड्का |
कात्तिक ४, २०७७ मंगलबार ६:३२ बजे

काठमाडौं : भदौ दोस्रो सातातिर काठमाडौंको सडकमा केही भिन्न देख्न पाइयो । हात हल्लाउँदै सिट्ठी फुक्ने प्रहरीहरुको ठाउँमा डमी ट्राफिक प्रहरीहरु देखिए । ट्राफिकको युनिफर्ममा मास्क र फेस सिल्ड लगाएका दुरुस्तै ट्राफिक प्रहरीजस्तै देखिने डमीहरु काठमाडौंका चोक-चोकमा राखिएका थिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथको पहलमा काठमाडौं महानगरपालिकासँग सहकार्य गरी ती डमीहरु राखिएका थिए । सिंहदरबार, सातदोबाटो, माइतीघर, नयाँ बानेश्वर, बालुवाटार, एकेडेमी मोड, लैनचौर, भोटाहिटी, रणोद्दीप,  भद्रकाली,  थापाथली, कालिमाटी, कलंकी, जडिबुटी, कोटेश्वर, गौशाला, पुरानो बानेश्वर, ल्होत्से, कृष्ण पाउरोटी, पद्मोदय मोड, नागढुंगा र जगाती गरी २२ ठाउँमा ती डमीहरु राखिएका थिए ।


ट्राफिक प्रहरीको डमी सडकमा देखेपछि सामाजिक संजालमा सर्वसाधारणले एउटा प्रश्न उठाए । उनीहरुको प्रश्न थियो - सडकमा महिला ट्राफिक प्रहरीको डमी खोई ?’ धेरैले ट्राफिक प्रहरीमा लागेर महिला प्रहरीले गरेको योगदानको कदर नभएको भन्दै गुनासो पनि गरे ।
ट्वीटरमा ज्यास्मिन ओझा (गीताञ्जली) ले लेखेकी छिन् - ‘सडकमा सबैजसो डमीमा ट्राफिक पुरुष मात्रै देखिन्छन् । तर, महिला ट्राफिक देखिदैनन् । डमीमा महिला ट्राफिक नराख्दा उनीहरुले गरेको योगदानको सम्मान हुन सकको छैन । महिला-पुरुष दुबैले बराबर काम गर्छन् भने डमीमा पनि दुबैलाई राख्नुपर्छ । समानताका लागि सानो सुझाव ।’

जनस्तरबाट यसरी गुनासो आएपछि महाशाखाले एउटा चतुर्‍याई गर्‍यो । तिनै पुरुष ट्राफिक प्रहरीलाई महिला देखिने गरी टाउकोमा जुरो बनाइदिएर । अहिले पनि पुरुषलाई महिला बनाएर राखिएका ट्राफिक प्रहरीका डमीहरु सडकमा देख्न सकिन्छ । यसरी चोर पक्रिने प्रहरीको चोरी पब्लिकले पक्रेपछि महाशाखाले यस्तो जुक्ति लगाएको थियो ।

महाशाखा प्रमुख एसएसपी भिमप्रसाद ढकालले २२ ओटा पुरुष डमीमा सातवटालाई महिला ट्राफिक डमी बनाएको स्वीकारे । ‘पहिला सबै पुरुष डमीहरु थिए,’ उनले भने, ‘उनीहरुलाई नै महिला बनाइएको थियो । केहि दिनअघि ११ ओटा महिला ट्राफिक प्रहरीको डमी थपेका छौं ।’महाशाखाका अनुसार उपत्यकामा हाल एक हजार चार सय ६५ महिला ट्राफिक प्रहरी कार्यरत छन् । तीमध्ये दुई सय पाँचजना महिला र एक हजार दुई सय ६० जना पुरुष ट्राफिक प्रहरी रहेका छन् । ट्राफिक नियमका विभिन्न जानकारीमुलक सन्देश बोकेर चोक-चोकमा उभिएका डमीले महिला ट्राफिकको हकमा भने कस्तो सन्देश बोकेको होला त ?

महिला अधिकारकर्मी निर्मला ढकाललाई यो विषयमा केही भन्न मन लागेको छ । सडकमा पुरुष ट्राफिकका डमीलाई जुरो हालेर महिला बनाइएको उनलाई कत्ति पनि चित्त बुझेको छैन । ‘पुरुषको डमीलाई नै जुरो बनाइदिएर महिला बनाउनाले सिस्टमले महिलालाई हेर्ने दृष्टिकोण र उनीहरुलाई दिने प्राथमिकता झल्काउँछ,’ उनले भनिन्, ‘अहिले सडकमा राखिएका डमीको अर्थ डमी मात्रै नभएर ट्राफिक प्रहरीको संकेत पनि हो । गालीबाट बच्न पुरुषमा चुल्ठी बनाएर महिला बनाउनु एकदमै लापर्वाह व्यवहार हो ।’

के भन्छन् महिला ट्राफिक प्रहरी ?
थापाथली र एयरपोर्टलगायत व्यस्त चोक र सडकमा ट्राफिक व्यवस्थापनको जिम्मा महिला ट्राफिक प्रहरीको काँधमा छ । लामो समयदेखि महिला प्रहरीले थापाथली ट्राफिक प्रहरी प्रभाग सम्हाल्दै आएका छन् । केही समयता एयरपोर्ट ट्राफिक प्रहरी प्रभाग पनि उनीहरुकै जिम्मामा छ ।

सात वर्षदेखि ट्राफिक प्रहरीको रुपमाा कार्यरत देवयानी चौधरीले अरु कतै नभए पनि महिलाले प्रतिनिधित्व गर्ने क्षेत्रहरु (थापाथली र एयरपोर्ट) मा मात्रै भए पनि महिला ट्राफिक प्रहरीको डमी राखिदिएको भए हुने बताइन् । ‘महिला युनिट भएको ठाउँमा पनि पुरुष ट्राफिक प्रहरीको डमी देख्दा दु:ख लाग्यो,’ उनले भनिन्, ‘जसरी हामीले ट्राफिक प्रहरीको रुपमा महिलालाई प्रतिनिधित्व गरेका छौँ, डमीहरु पनि त्यहीअनुसारले बनाउनु पर्थ्यो ।’

देवयानीसँग उपत्यकाको विभिन्न ठाउँमा काम गरेको अनुभव छ । उनले भोगेको भोगाइहरु थुप्रै छन् । ‘एकपटक ड्युटीमा खटिँदा लेन मिच्नेलाई कारबाही गर्नुपर्ने भयो,’ आफ्नो अनुभव साट्दै उनले भनिन्, ‘बग्गीखानामा गएर कक्षा नलिएसम्म छाड्न मिल्दैनथ्यो । आइमाइ भएर बढी बोल्ने’ भन्दै चालकले मेरो हातबाट चिट र लाइसेन्स जबर्जस्ती खोसे । तैपनि, मैले उनलाई कारबाही गरेरै छाडेँ ।’

उनी हरेक दिन सडकमा निस्किँदा महिला ट्राफिक प्रहरीभन्दा पनि मात्र ट्राफिक प्रहरी भएर निस्किन्थिन् । सडकमा पुगेपछि चालकहरुले उनलाई बारम्बार ‘तिमी महिला हौँ’ भनेर औल्याइदिन्थे । ‘हामी सधैँ इमान्दानर भएर आफूलाई दिएको जिम्मेवारीहरु पूरा गर्छौँ,’ उनले भनिन्, ‘महिला भएकै कारणले ड्युटीमा कहिल्यै कुनै सम्झौता गर्दैनौँ । तर, चालकले मात्र होइन डमीमा पनि हामीलाई ट्राफिक प्रहरी गनिएन ।’

१३ वर्षदेखि ट्राफिक प्रहरी भएर खटिइरहेकी छिन्, बोना ढकाल राउत । ड्युटीकै क्रममा कोभिड पोजेटिभ आएपछि उनी अहिले आराम गरिरहेकी छिन् । सडकमा नयाँ ट्राफिक डमी देखेपछि साथी हुने भयो भनेर उनी एकातिर खुशी भएकी थिइन् भने अर्कोतिर दुखी । सबैतिर पुरुष ट्राफिक प्रहरीहरुको मात्र डमी देख्दा उनलाई केही नरमाइलो लागेको थियो । पछि तिनै पुरुष डमीलाई जुरो हालेर महिला बनाएको देखेर उनी केही खुशी भइन् । ‘जुरै हालेर महिला बनाइदिएको भए पनि महिला ट्राफिक देखेर एकदमै खुशी लाग्यो,’ उनले भनिन् ।

डमी नै किन ?
कोभिड संक्रमित प्रहरीहरुको संख्या बढ्न थालेपछि जनशक्ति अभाव भयो भन्दै महाशाखाले डमी राखेको हो । ट्राफिक देख्दा मात्रै नियम मान्नेलाई डमीले ट्राफिकको रुपमा काम गरेको एसएसपी ढकालले बताए । ‘टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले यसले ट्राफिक नियम पालना गर्न सघाउँछ,’ उनले भने, ‘सवारीको गति नियन्त्रण गरेर यसले दुर्घटनाबाट बचाउँछ । त्यस्तै, महामारीमा जनशक्ति व्यवस्थापनमा पनि सहयोग पुग्छ ।’
 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x