समाज

पढ्दै चिया बेचेर ठूलो मान्छे बन्‍ने सन्तोषको सपना

लेकसाइडमा आमा छोराको ठेला व्यापारको भित्री गाथा

अनिष भट्टराई |
असोज २३, २०७८ शनिबार १९:१८ बजे

पोखरा - मालेपाटनका सन्तोष सुनार (१५) शनिबार पोखरास्थित लेकसाइड फुटट्र्याकमा भेटिए । हातमा हरियो रंगको थर्मस, केही प्लास्टिकका गिलास पनि । दाहिने हात चल्न गाह्रो भएपनि उनी बिदाका बेला सधैं यसरी नै लेकसाइड पुग्छन् । फुटट्र्याकमा ओहोरदोहोर गरिरहन्छन् । आएका मान्छेलाई चिया बेच्छन्, उठेको पैसा लगेर आमालाई दिन्छन् । 

बाराही माध्यमिक विद्यालयको कक्षा ७ मा पढ्ने सन्तोष असोज १० देखि लगातार लेकसाइड आइरहेको बताउँछन् । विद्यालय बिदा नहुँदा भने उनी यसरी आउन पाउँदैनन्, पढ्न जानुपर्छ । पढाइ हुने दिन आउन चाहेपनि आमाले दिँदिनन् । 


सन्तोषकी आमा गंगा (३३) पनि लेकसाइडमै भेटिन्छिन् । आमा चटपटे ठेला चलाएर बसेकी छन् । छोरा घरिघरि आमानेर पुग्छन् । सन्तोषले आमा गंगालाई सघाउँछन्, केही बेर भलाकुसारी गर्छन् । अनि फेरि लाग्छन्, आ–आफ्नै काममा । 

सन्तोष घरका जेठा छोरा हुन् । घरको आर्थिक अवस्था उति साह्रो राम्रो नभएपछि सानै उमेरमा संघर्ष गर्न बाध्य छन् । उनका बुबा ज्यालामजदुरी गर्छन् । भाइ सानै छन्, ८ वर्षका । बुबाआमाले काम गरिरहेपनि आर्थिक अवस्था मजबुत नबन्दा सन्तोष हातखुट्टा चल्न गाह्रो भएपनि बिदाका दिन काममै आउँछन् । 

शनिबार बेलुका भेटिएका उनले सो दिन ४ सय रुपैयाँ मात्र कमाएको बताए । अघिल्लो दिन ६ सय रुपैयाँ हात पारेका थिए । उनले पैसा कमाएपनि आफूलाई केही किन्न मन नलाग्ने सुनाउँछन् । ‘घरमा गाह्रो छ, मैले आफैंले खर्च कसरी गर्नु ? मम्मीलाई अलिअलि सहयोग हुन्छ नि मैले खर्च नगरे,’ उनी परिपक्व सुनिए ।

जीवनको घामपानी सँगै भोगेका छन् । तीन जनाले नै काम नछाड्दा समेत यो परिवारलाई अभावले नछाडेको दिन छैन । चिया बेचेर थर्मस राख्न आमाको ठेलानेर पुगे सन्तोष । ‘आज चिया खाने नै भेटिएनन् धेरै, चटपट खान्थे कि सोध्न जाम ?’ सन्तोष आमासँग सोध्छन् । फुटट्र्याकमा राखिएका ठाँटीका मान्छेलाई सन्तोष चटपट खाने ? भन्दै सोध्न जान्छन् । 

छोरालाई काममा लगाउनु, गंगाको चाहना होइन, बाध्यता हो । सन्तोष यसरी आमासँगै हिँडेर काम गरिदिँदा गंगालाई थोरै भएपनि राहत पुग्छ । ‘जन्मँदै अलिकति खोट छ यसको, दाहिने हातखुट्टा चलाउन गाह्रो छ, अब नल्याएपनि घरमा झनै सास्ती छ,’ गंगा सुनाउँछिन् । 

गंगा अभाव–अभावकैबी जन्मिइन्, हुर्किइन् । सिन्धुली फिक्कलकी गंगाको सानै उमेरमा बिहे गरेर पठाइयो । कारण, घरको गरिबी । १३ वर्षको हुँदा बिहे गरेकी गंगाले १४ वर्षमै बच्चा पाइन् । सानै उमेरमा बच्चा पाउँदा छोराको हालत केही खराब भएको अड्कल गंगाले काटिन् । ‘घरमा पहिलेबाट नै यस्तै (गरिबी) हो, सानैमा बिहे गरेर पठाइदिए, सानैमा बच्चा पाएँ, अहिले उसको हालत यस्तो छ,’ गंगाले सुनाइन् । 

गंगाको पनि दिन अहिले लेकसाइडमै बित्छ । बिहानै चिया बेच्न आइपुग्छिन्, ६ बजे तालछेउमा । दिउँसो ११ बजेसम्म चिया बेचेपछि मालेपाटनको डेरामा पुग्छिन् । खाना खाएर फेरि तालछेउ नै आउँछिन्, चटपटको ठेला लिएर । बेलुकी ८ बजेसम्म यसरी काम गरेपछि मात्र गंगा डेरा पुग्छिन् । दिनभर काम गरेर आएपनि गंगाको काम अझै सकिँदैन । कोठामा काम गर्नैपर्छ । खाना बनाएर पति, छोराहरुलाई खुवाउने, खाने र भाडा माझ्ने काम पनि सकाएपछि मात्र गंगाको दिन सकिन्छ । ‘यो काम अरुका लागि गरे पो दुख हुनु, घरकै लागि गरेकी हुँ, दुख लाग्दैन,’ गंगाले भनिन् । 

बडो दुखले हुर्काएको छोरा भएकाले पनि गंगाले सन्तोषलाई कुनै बन्धनमा बाँध्न चाहेकी छैनन् । खुल्ला रुपले हिँड्न, डुल्न दिने र कहिल्यै कुनै कुरा गर्नुपर्छ भनेर दबाब नदिएको गंगाले दाबी गरिन् । गंगाले सन्तोषलाई जीवनमा के बनाउने भन्ने पनि सोचेकी छैनन् । सन्तोष आफैं जे बन्छन्, उही बन्न दिने गंगाको सोच छ । ‘यो गर, त्यो नगर भन्दा उसलाई झनै तनाब हुन सक्छ, जीवनमा हुर्कंदै जाँदा जे बन्छ, बनोस् । नराम्रो बाटोमा नलागे पुग्छ,’ गंगाले सुनाइन् । 

सन्तोषले जीवनमा आफू के बन्छु भन्ने अहिलेसम्म निधो गर्न सकेका छैनन् । उनको लक्ष्य के हो ? जवाफमा भन्‍छन्, ‘पढ्छु अनि ठूलो मान्छे बन्छु । बाटोमा कति धेरै राम्रो गाडी चल्छन्, त्यस्तै गाडी चलाएर हिँड्न पनि मन छ ।’ 


 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x