समाज

विपद्को पीडा

पति खोज्दै नेसम खोला पुगेकी बिबिरानी

झोला भेटियो मान्छे भेटिएन !

सुनीता साखकर्मी |
साउन ६, २०७८ बुधवार ९:२६ बजे

सिन्धुपाल्चोक - ‘काम खोज्न साथी कहाँ जान्छु’ भन्दै आइतबार छिमी घ्याम्जो लामा (४०) घरबाट हिँडेका थिए । तर छिमी साथी कहाँ पुगेको खबर घरमा आएन । न त उनको फोन नै आयो । तर सोमबार साँझ गाउँलेले छिमीलाई खोलाले बगाएको हुनसक्ने अपुष्ट खबर भने घर पुर्‍याइदिए । जसले पत्नी बिबिरानी (३३) को होस उडाइदियो । 


मंगलबार तीन जना मितभाइ, जेठाजुकी बुहारी साथमा लिएर बिबिरानी नेसम खोलामा पति छिमीलाई खोज्न बिहानै आइपुगेकी थिइन् । ‘छिमीको झोला नेसम खोलाको किनारमा देखेको र सायद खोलाले उसलाई बगाएको गाउँलेका भाइहरुले सुनायो,’ बिबिरानीले इकागजलाई भनिन्, ‘त्यसपछि मन थाम्नै सकिनँ । फोन गरेँ, तर मोबाइल स्वीच अफ भन्यो । साथी कहाँ नि सोधेँ, उनीहरुले पनि आइनपुगेको बताए । त्यसैले कतै भेटिनुहुन्छ कि भनेर खोज्न आएकी हुँ ।’ 

छिमी सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३, गुम्बाथानका हुन् । कामको सिलसिलामा तेम्बाथानबाट ओरालो झरेर उनी सिन्धुपाल्चोककै गुम्बाथान जोड्ने नदी नेसम खोलामा आइपुगेका थिए । पहिले नेसम खोलामा झोलुंगे पुल थियो । तर असारमा आएको बाढी र पहिरोले पुललाई पनि बगाईदियो । खोला तर्न सक्ने अवस्था थिएन । तर झोला किनारमा राखेर खोला तर्ने प्रयास गर्दा खोलाले बगाएको हुन सक्ने बिबिरानीको अनुमान छ । 

पति खोज्दै आएकी उनका आँखा सुन्निएका छन् । राताम्मे आँखाले उनी घरी खोलातिर हेर्छिन, घरी जंगलतिर हेर्छिन् । उनलाई पति भेटिन्छ कि भन्ने आशा थियो । तर पतिको झोलामात्रै भेटिएपछि त्यो आशा निराशामा बदलिएको छ । ‘बिहानसम्म भेटिन्छ भन्ने कति धेरै आश थियो । तर झोला भेटियो मान्छे भेटिएन,’ बिबिरानी भन्छिन्, ‘अब त लास चाहिँ भेट्छ कि । जे भए नि भेटिए हुने ।’ 

छिमी र बिबिरानीका चार सन्तान छन् । जेठी छोरी १० कक्षामा, माइली ७ मा, साइलो छोरो १ मा पढ्छन् । एक छोरा साढे दुइ वर्षको मात्रै भएको छ । ज्यालामजदुरी गरेर परिवार चलाइरहेका थिए, छिमीले । अब छिमी नै नभएपछि कसरी एक्लै बालबच्चा हुर्काउने भन्ने पीरले बिबिरानीलाई सताइरहेको छ ।

बुवाको बारेमा खबर सुनेदेखि घरमा पनि सबै रोइरहेका छन् । उनीहरुलाई के भनेर सम्झाउने भन्ने चिन्ता पनि थपिएको छ । ‘बुवा नि छैनन्, आमा पनि यता भौतारिरहेको छु, के हाल भइरहेको होला घरमा’ भन्दै बिबिरानीका आँखा रसाए । 

कामको सिलसिलामा तेम्बाथान पुगेर फर्किने क्रममा गुम्बाथान जोड्ने नदी नेसम खोलाले बिबिरानीका पति छिमी घ्याम्जो लामालाई बगाइएको अनुमान छ ।  ‘बिहानसम्म भेटिन्छ भन्ने कति धेरै आश थियो । तर झोला भेटियो मान्छे भेटिएन,’ बिबिरानी भन्छिन्, ‘अब त लास चाहिँ भेट्छ कि । जे भए नि भेटिए हुने ।’ 

 

 

स्थानीय निकाय, प्रहरी कसैलाई छिमी हराएको खबर उनले पुर्‍याउन पाएकी छैनन् । ‘कसलाई भन्ने, कहाँ खोज्ने मैले त केही सोच्नै सकिरहेकी छैन,’ उनले भनिन् । असार १ गते आएको बाढीले पुललाई क्षतिग्रस्त बनाएको थियो । ज्यानको बाजी थापेर त्यही क्षतिग्रस्त पुलबाट पनि स्थानीयहरु आउजाउ गर्न बाध्य थिए । तर बाढीसँगै आएको पहिरोले पुल राखिएको ढिस्को नै खोलामा मिसियो । जसले गर्दा पुल चुँडियो । 

पुल चुँडिएपछि जुगलको दिपु, तेगा र तेम्बाथान गाउँका स्थानीय प्रभावित भएका छन् । सडक सञ्जाल, बिजुली, स्वास्थ्य उपचार नपुगेको यी गाउँका झन्डै २ सय २० परिवारको आउजाउ गर्ने मुख्य बाटो नै नेसम खोलाको पुल थियो । तर त्यही पुल नै बगाएपछि उनीहरु थप मारमा परेका छन् ।

जसको विकल्पमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपाल्चोक र स्थानीय जनश्रमदानले नेसम खोलामा तुइन राखिएको छ । साउन ५ गते मंगलबार उद्घाटन गरिएपछि अहिले तुइनबाट स्थानीय वारपार गरिरहेका छन् ।

साथै पुल निर्माण गर्ने जुगल ३ कै बोल्देका जितबहादुर (३५) तामाङ, जंगबहादुर तामाङ (३४), गुम्बाथानका भुर्पु लामा (३२), तेम्बाथानका कार्बाे शेर्पा (४०), लाक्पा शेर्पालाई पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल, नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य माधव सापकोटाले सम्मान समेत गरे ।

त्यस्तै उद्घाटनमा वाग्मती प्रदेश सचिवालय सदस्य सरल सहयात्री, नागरिक अगुवा रेशम स्याङ्बो लगायत स्थानीयहरु पुगेका थिए । 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x