समाज

मानव तस्करी : मणिपुर-म्यानमार रुटको अन्तर्कथा

मणिपुरबाट उद्धार गरिएका १७९ नेपाली तस्करको जालोमा कसरी फसे ?

सुनीता साखकर्मी |
असार १३, २०७८ आइतवार १३:५८ बजे

काठमाडौँ : रामकला अधिकारी (नाम परिवर्तन) ४० वर्षकी भइन् । उनी झापाको एक गरिब परिवारमा जन्मिएकी हुन् । परिवारको आर्थिक अवस्था कमजोर भएकाले बुबा–आमाले उनलाई विद्यालय पठाउन सकेनन् । १६ वर्षको उमेरमा नै बिहे गरिदिए ।

१७ वर्षको उमेरमा उनी आमा भइन् । लगातार उनका तीन छोरी भए । छोरा नपाएको भन्दै पतिले उनलाई पिट्न थाले । पछि छोरा जन्मेपछि पनि उनको पिटाइ कम भएन । त्यसैले उनी चारै सन्तानलाई लिएर माइती पुगिन् ।


दुई वर्षपछि पतिले छोरा लिएर गए । माइतीमा बस्न पनि उनलाई अफ्ठ्यारो भयो । त्यसैले उनी तीन छोरीसहित काठमाडौँ आइन् । मजदुरी गर्न थालिन् । त्यसपछि उनले वैदेशिक रोजगारीमा जाने निर्णय गरिन् । पहिलोपटक दुई वर्षको लागि कुवेत र दोस्रोपटक डेढ वर्षका लागि मलेसिया गइन् । तेस्रोपटक उनलाई किर्गिस्तान पुग्नुपर्ने थियो, तर उनलाई ओमान लगियो । त्यहाँ घरेलु कामदार थिइन् उनी । काम धेरै गराउँथे, तर पैसा दिँदैनथे । उनी नेपाल नै फर्किइन् ।

उनी फेरि विदेश जान चाहन्थिन् । तर उनलाई लेबर परमिट मिलेन । उनी दिल्ली पुगेर मजदुरी गर्न थालिन् । सोही दौरान उनको भेट पाँच महिलासँग भयो, जो विदेश जान लागेको बताइरहेका थिए । रामकलाले पनि विदेश जाने इच्छा व्यक्त गरिन् । त्यसपछि उनलाई दिलु कार्कीसँग भेट गराइदिए । दिलु पनि लगभग ४० वर्षकै उमेरका थिए । 

दुई वर्षअघि मणिपुरबाट उद्धार गरिएका नेपाली

दिलुले रामकलालाई दुबईमा घरेलु कामदारको रुपमा पठाउने बताए । त्यहाँ उनलाई ३० देखि ३५ हजार तलब हुने र एक महिनामा एक दिन छुट्टी हुनेसमेत सुनाए । ती महिलाहरुले विदेश जान रुचि भए पाँच दिनपछि मोमोको फुड स्टलमा भेट्न भने । पाँचौ दिन रामकला स्टलमा पुगिन् । त्यहाँ दिलुले भारतकै मणिपुरको राजधानी इम्फाल जाने टिकट पठाएका रहेछन् । त्यसपछि दिल्ली एयरपोर्टबाट मणिपुरका लागि उडिन् । मणिपुरमा उनलाई एक होटलमा राखियो ।

तर उनलाई ती पाँच महिला भएको ठाउँमा लगिएन । अन्तै राखियो । होटल पुगेपछि फेरि उनले दिलुलाई भेटिनन् । उनी पुगेको होटलमा उनी जस्तै अन्य थुप्रै महिला थिए, जो वैदेशिक रोजगारीका लागि घर छोडी आएका थिए । उनलाई एक हप्तासम्म त्यही होटलमा राखियो । एकदिन दिउँसोको तीन बजेतिर होटलका मालिक उनीहरू भएको ठाउँमा आए । प्रहरीले छापा मारेको जानकारी दिए । साथै, प्रहरीले सोधेमा ‘घुम्न आएको हो’ भन्दै जवाफ दिनु भनेर पनि सिकाए ।

केहीबेरमा पुलिस आइपुग्यो र एक भारतीय संगठनमा लग्यो । एक हप्ता संगठनमा बसेपछि उनीहरुलाई माइती नेपाल र अन्य व्यक्तिले नेपाल फिर्ता ल्याए । २०१९ को फेब्रुअरीको पहिलो हप्तामा माइती नेपालको गुप्त सूचनाका आधारमा भारतको मणिपुरका होटलबाट १७९ जना (१४७ महिला र ३२ जना पुरुष)लाई उद्धार गरेको थियो । त्यो समूहमा रामकला पनि थिइन् ।

उद्धारपछि तयार परिएको अध्ययन रिपोर्टको कभरभारतीय प्रहरी र मेघालयस्थित इम्पल्स एनजीओ नेटवर्टकको सहायताले बचाउने अभियान चलाइएको थियो । उनीहरुलाई नेपाल सरकार र माइती नेपालको सहयोगबाट २० फेब्रुअरी २०१९ मा नेपालको काठमाडौँ फिर्ता ल्याइयो । उनीहरू माइती नेपालमा छन् । अन्जानमै तस्करीमा परेकी उनी भविष्यको खोजीमा छन् । साथै माइती नेपाल र युएन वुमनले उनी जस्तै तस्करीमा परेका महिला र पुरुषसँग अन्तर्वार्ता लिई उनीहरुको आवश्यकता र उनीहरू कसरी त्यो दलदलसम्म पुगे भन्नेबारे अध्ययन गरिएको छ ।

उनीहरूमध्ये ९४ जनाको ‘र्‍यापिड निड एसेस्मेन्ट’ (आवश्यकता मूल्यांकन) गरिएको थियो । भारतको मणिपुर हुँदै म्यानमारको रुटबाट तस्करी गरिने यस्ता किसिमका तस्करीबारे गरिएको यो मूल्यांकनपछि भारती सिलवाल गिरीले रिपोर्ट तयार पारेकी छन् । सार्वजनिक नभएको उक्त रिपोर्टमा तस्करी हुने मुख्य बाटोहरू, तस्करीमा पर्ने उमेर समूह खुलाएकी छन् ।

यसरी उद्धार गरिएकाको लैंगिक आधारमा विश्लेषण गर्न आवश्यकता मूल्यांकन गर्न माइती नेपालले युएन वुमनलाई सम्पर्क गर्‍यो । उनीहरुको आवश्यकता र योजनाहरू थाहा पाउन दू्रत आवश्यकता मूल्यांकन गर्न युएन वुमनले सहमति जनायो । द्रुत आवश्यकता मूल्यांकनमा उनीहरुको प्रोफाइल, उनीहरुको तस्करीको कारण, प्रक्रिया र तस्करीले उनीहरुलाई लैजान प्रयोग गर्ने बाटो, तस्करी पछिको जीवनको बारेमा सोधिएको थियो । उनीहरुका जवाफका आधारमा यस्ता तस्करीको रोकथाम गर्न सुझावहरू दिएको छ । 

युएन वुमनकी कन्ट्री रेप्रिजेन्टेटिभ बेनी कुसुमा भन्छिन्,‘यसले मानव तस्करी केही मात्रामा भएपनि रोकथाम गर्न र कम गर्न सरोकारवालालाई उपाय मिल्न सक्ने युएन वुमनले आशा गरेको छ ।’

माइती नेपालले आश्रय दिएका ९४ को जवाफको आधारमा यो सुझावहरू तयार भएको हो । आफ्नो परिवारको गरिबीबाट बच्न जोखिम उठाएर उनीहरुले आफ्नो संघर्षयुक्त जीवन सुनाएका थिए । उद्धार गरिएकामा १८ वर्षदेखि ४८ वर्षका महिला र पुरुष थिए । तीमध्ये २६–३० वर्षका सबैभन्दा बढी २८ प्रतिशत थिए । त्यस्तै १८–२० वर्ष उमेर भित्रका ७ प्रतिशत, ३१–३५ वर्ष भित्रका १७ प्रतिशत, २१–२५ वर्षभित्रका र ३६–४० वर्षभित्रका गरी १५ प्रतिशत, ४०–४५ का १० प्रतिशत र ४६–४८का ८ प्रतिशत रहेका छन् । 

त्यस्तै उद्धार गरिएकामध्ये ६४ प्रतिशत आदिवासी जनजाति समुदायका राई, मगर, लिम्बु, तामाङ, पुन, शेर्पा, दोङ, योन्जन, माबु, गुरुङ, रुम्बा, लुंगेली, मार्फा, चौधरी, राजबंशी, श्रेष्ठ, धामी छन् भने २० प्रतिशत दलित समुदायका प्रदेश १ का छन् । १५ प्रतिशत क्षेत्री ब्राम्हण समुदायका र १ प्रतिशत अन्य समुदायका छन् ।
उद्धार गरिएकाहरूमध्ये ३२ प्रतिशत अनपढ छन्, त्यस्तै ४६ प्रतिशत साक्षर छन् । तर त्यसमा प्राथमिक कक्षा पास गर्नेको प्रतिशत १४ प्रतिशत मात्रै छ भने कक्षा ९ पास गर्नेको प्रतिशत १२.८ प्रतिशत छ ।

उद्धार गरिएका नेपाली नागरिकसँग भेट गर्दै मणिपुरका मुख्यमन्त्री

उद्धार गरिएकाहरू अधिकांश छुट्एिका र डिभोर्स भएका, विधवा भएका वा विहे नभएका छन् । परिवारको कमजोर आर्थिक अवस्था, पतिको स्वास्थ्यउपचारको खर्च जुटाउनको लागि र पति नहुँदा काम गरी पैसा कमाउने आशमा गएका थिए । अधिकांश मजदुर, सुचीकार, वेट्रेस, विद्यार्थी, किसान, पसल राख्ने वा घरेलु कामदार थिए । उनीहरुले १० हजारदेखि १५ हजारसम्म कमाउँथे । त्यसैले उनीहरू वैदेशिक रोजगारीमा जाँदै थिए । फ्रि भिसा, फ्रि टिकट भन्दै तीमध्ये धेरै कुवेत, दुबई जाँदै थिए भने केही ओमान, साउदी अरेकिया, लेबनान र किर्गिस्तान जाँदै थिए । 

तस्करहरुले विभिन्न मार्गको उपयोग गर्दै थिए । नेपालमा उनीहरुको संगमस्थल काठमाडौँ थियो । त्यस्तै भारतको दिल्ली पारगमन विन्दु । त्यहाँबाट सबैलाई भारतकै मणिपुरको इम्फाल पुराइन्छ । उनीहरुलाई बैंकक लानुपर्ने थियो र त्यहाँबाट श्रीलंका पुगी अन्य देश जानुपर्ने थियो । बसबाट तस्करी गरिएका महिलाहरुलाई भारत पुग्न सीमामा केबल नागरिकता देखाए पुग्छ । उनीहरुलाई भारतको मणिपुरको इम्फालमा पुर्‍याइन्थ्यो । 

दिल्ली पुर्‍याएर उनीहरुलाई होटलमा राखियो । उनीहरुले जे भन्यो, त्यही उपलब्ध भयो । परिवारको सदस्यसँग सम्पर्क गर्न अनुमति पनि दिइयो । तर सोही होटलबाट बाहिर जानबाट रोकिएको थियो । होटलको झ्यालहरुबाट हेर्न पनि दिइएको थिएन । तिनै एजेन्टहरुले यौन शोषण पनि गरेका थिए । किनकि कमसेकम ४ जना गर्भवती भएकी थिइन् । जब एक महिलाले आफूलाई घर फिर्ता पठाउने माग गरेकी थिइन्, उनलाई दिल्लीको एक एजेन्टले नशाको तालमा मणिपुरमा हत्या गरेका थिए । 

यति हुँदा पनि उनीहरू आफ्नो तस्करी भएको भन्नेबारे जानकार थिएनन् । किनकि उनीहरू आफ्नो मर्जीले यात्रा गरिरहेका थिए । तस्करले काठमाडौं, भैरहवा, सुनौली हुँदै उनीहरुलाई दिल्ली पुर्‍याउँछन् । उनीहरूले प्रयोग गर्ने ७ रुट :

काठमाडौँ, नेपालगन्ज, रुपेडिया, दिल्ली, इम्फाल
काठमाडौं, काकडभित्ता, सिलीगुरी, दिल्ली, इम्फाल, 
काकडभित्ता, बम्बई, इम्फाल
काकडभित्ता, पानीटंकी, बिहारमोड, कलकत्ता, इम्फाल
पोखरा, भैरहवा, सुनौली, दिल्ली, इम्फाल
भद्रपुर, किशनगञ्ज, दिल्ली, इम्फाल
बिर्तामोड, सुगौली, कलकत्ता, इम्फाल

यी तस्करीमा परेकाहरुलाई फ्रिभिसा, फ्रि यातायात हुन्थ्यो । किनकि उनीहरू स्पोन्सर गरिएका हुन्थे । उनीहरुलाई तस्करी गरेबापत तस्करहरुले एक जनालाई तस्करी गरेबापत झन्डै २ लाख ५० हजारसम्म नाफा कमाउँथे । सार्वजनिक नभएको उक्त रिपोर्टमा तस्करी हुने कारण, बाटोहरू र तस्करी हुन नदिन सरकार, सरोकारवाला पक्षहरुलाई केही सुझावहरुसमेत दिएको छ ।

उद्धारपछि माइती नेपालमा पीडितहरू


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x