समाज

बस्‍न अयोग्य गाउँ, जहाँ नबसी सुखै छैन

गाउँपालिका भन्छ– ‘जमिन भासिएको हेर्ने मात्रै हो, अरु के गर्न सकिन्छ र ?’

सुनीता साखकर्मी |
असार ११, २०७८ शुक्रबार १८:३ बजे

सिन्धुपाल्चोक : घरका आँगनहरू चिरा पर्न थालेका छन् । मकै बारीका डील भासिएर बग्न थालेका छन् ।

बिहीबार बिहानदेखि सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित च्याम्डाँडा मुनी रहेको स्याखुले टोलका अधिकांश जमिन यसरी नै भासिन थालेपछि स्थानीय घर छोडेर टाढा बस्न बाध्य भए । 


नेपाल शेर्पा संघ भोटेकोशीका अध्यक्ष एवं नेकपा माओवादी केन्द्र डिसिएमको जिल्ला कमिटी सदस्य शेर्पा आङछिरिङका अनुसार बुधबार राति परेको पानीको कारण जमिन भासिन थालेपछि यो टोलका ४ घर धुरी जोखिममा परेका हुन् ।

चिरिएको स्याखुले टोलविसं. २०७२ सालमा भूकम्प गएको डेढ वर्षपछि राष्ट्रिय पुनःर्निर्माण प्राधिकरणको भूगर्भविद्को टोली यो गाउँपालिकामा पुगेको थियो । त्यतिबेला यस गाउँपालिकाका थुप्रै गाउँलाई बस्न अयोग्य भएको भन्दै प्राधिकरणले सचेतसमेत गराएको थियो ।

यहाँका लिदी, घुम्थाङ, पाउँगुम्बा, धनपाल, फाल्डुङ, अन्थली, लार्चा फुमाचे, कोदारी, बोक्चेन, फाल्डुङ, चाकु लगायत गाउँहरुका ३ सय भन्दा बढी घरहरू पहिरोले तहसनहस बनाइसकेका छन् । त्यस्तै बाह्रबिसे नगरपालिका, मेलम्ची नगरपालिका, भोटेकोशी, जुगल क्षेत्रमा भूकम्पपछि बस्न अयोग्य ठहरिएका चार दर्जन बढी गाउँ र बस्ती छन् ।

यो वर्ष मनसुन सुरु भएसँगै जमिन भासिने क्रम बढ्यो । स्याखुलेका स्थानीयहरू घरबाट टाढै सुत्ने तरखर गरिरहेका छन् । ‘यो गाउँमा त्यस्तै १२/१५ जना छन्, डरले कोही पनि घरभित्र सुतेका छैनन्,’ उनले भने, ‘कोही घर छोडेर आफन्त कहाँ गएका छन् भने केही गाउँपालिकाबाट टेन्ट ल्याई घर नजिकै सुत्ने तरखर गर्दैछन् ।’

स्थानीयहरुले गाइ, बाख्राहरू पनि नजिकै आफन्तकहाँ लगेर छोडिदिएका छन् । यो टोलमा यसरी पहिलोपटक जमिन भासिएको आङछिरिङले सुनाए । जोखिममा परेको मानिसहरुलाई तत्काल स्थानान्तरण गरी सुरक्षित स्थानमा बसाउन पर्ने आवश्यकता रहेको उनको मत छ ।

स्याखुले टोलका जमिन भासिएर जोखिम भएको भोटेकोशी गाउँपालिकाका सूचना अधिकारी तेज प्रसाद ढकालले स्वीकार्छन् । उनका अनुसार स्याखुले टोल मात्रै नभई पुरै गाउँपालिकाका थुप्रै स्थान भासिने जोखिममा छन् । तर, भासिने क्रमलाई रोक्न गाउँपालिकाले केही गर्न नसक्ने उनले सुनाए ।

‘जमिन भासिएको त हामीले हेर्ने मात्रै हो, अरु त केही गर्न सक्दैनौँ,’ उनले भने, ‘बरु त्यहाँका मानिसहरू जमिन भासिएर हराउनु भएन भने उहाँहरुलाई टेन्ट र खाद्यान्न दिएर व्यवस्थापन गर्छौँ ।’

भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोक जिल्लाको ९ वटा गाउँपालिका मध्येमा एक हो । यस गाउँपालिकामा जम्मा ५ वटा वडा छन् । यो गाउँपालिकामा १७ हजारभन्दा बढी मानिसहरुको बसोबास रहेको छ । तर, यहाँका अधिकांश भू–भाग भासिने क्रम बढेको गाउँपालिकाका प्राविधिक शाखाका इन्जिनियर नवराज गिरी बताउँछन् ।

‘यो गाउँपालिकाको झन्डै ७० प्रतिशत भन्दा बढी भू-भाग जमिन भासिन थालेका छन्,’ उनी भन्छन्,‘यहाँको पहाड कमजोर छ । त्यसमाथि सिन्धुपाल्चोक जिल्लाभरीमा सबैभन्दा बढी पानी पर्ने क्षेत्र नै यही गाउँपालिका हो । माटोको बनावट पनि राम्रो नभएपछि जमिन भासिइरहन्छ ।’

इन्जिनियर गिरीका अनुसार गाउँपालिकासँग यो समस्या समाधान गर्न पर्याप्त बजेट छैन । बस्ती स्थानान्तरण गर्न पनि स्थानीयहरू राजी छैनन् ‘मानिसहरू आफ्नो थातथलो छोडेर जानै मान्दैनन् । गाउँपालिकाको बजेटले केहीकेही भत्किएको मात्रै बनाउन पुग्छ । पहिरो जानै नदिन गर्नुपर्ने काम गर्न पुग्ने बजेट नै छैन, ’ उनी भन्छन्, ‘अरनिको राजमार्ग भासिँदा त सरकारले तु का तु बनाउन सक्दैन । हामी सानो बजेट भएको गाउँपालिकाले के नै गर्न सक्छ र ?’


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x