समाज

बागमतीको भरत ताल बनाउँदा ३० करोड अनियमितता भएको भन्दै मेयरसहित ६ जनाविरुद्ध मुद्दा दायर

इकागज |
जेठ २९, २०८१ मंगलबार १७:५ बजे

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भारत कुमार थापासहित ६ जनाविरुद्ध आरोप पत्र दायर गरेको छ ।

अख्तियारले मेयर थापासहित ६ जनाले संघीय सरकारको स्वीकृतिविना माछा पोखरी (भारत ताल) निर्माणका लागि ढुंगा, बालुवा उत्खनन गरेर ३० करोड २९ लाख ३४ हजार  ८९७ रकम अनियमितता गरेको भन्दै मुद्दा दायर गरेको जनाएको छ ।  


संघीय सरकार अन्तर्गतको सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा सागरनाथ वन विकास परियोजना र संघीय सरकारको स्वीकृतविना अनधिकृत रूपमा माछा पोखरी निर्माणको लागि भनी ढुङ्गा गिट्टी बालुवा (वन पैदावार) उत्खनन गर्नको लागि प्रारम्भिक परीक्षण प्रतिवेदन स्वीकृत भएको भन्ने गलत लिखत तयार गरी/गराई सोपश्चात बागमती नगरकार्यपालिकाबाट उक्त माछा पोखरीको प्रोजेक्ट रिपोर्ट तयार गरेको देखाई बहुउद्देशीय माछा पोखरी निर्माण गर्ने कार्यको गुरु योजना स्वीकृतसमेत नगरी/नगराई, बागमती नदीको बहाव प्रयोग गर्न स्वीकृति नलिई माछा पोखरी (हाल ताल) निर्माण गर्ने भनी सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा उक्त परियोजना र नेपाल सरकारको स्वीकृत विना बागमती नगरपालिकाले बागमती माछा पोखरी बनाउने क्रममा ३० करोड २९ लाख ३४ हजार  ८९७ रकम रकम हानि नोक्सानी गराएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

अख्तियारले हाल निलम्बित मेयर थापासहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखाका प्रमुख इन्जिनियर सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मथुर चौधरीलाई आरोपी बनाएको छ ।


Author

थप समाचार
x