समाज

ट्राफिक नियम उल्लघंन गर्ने १३ सय सवारी व्यवस्थापनमा खटिए

इकागज |
जेठ १६, २०८१ बुधबार २२:३ बजे

फाइल फाेटाे

काठमाडौँ - अन्य दिनको तुलनामा आज दिउँसो काठमाडौँका मुख्य तथा व्यस्त चोकमा पहेँलो रङ्गको ‘क्यामाफ्लाइज’ ज्याकेट लगाएर हजारौँ युवायुवती ट्राफिक नियम सिकाउनमा व्यस्त देखिन्थे ।

यसरी पहेँलो रङ्गको ‘क्यामाफ्लाइज’ ज्याकेट लगाएर आ–आफ्नो समयअनुसार दिनभरि एक हजार तीन सय दुई जनाले स्वयम्सेवकका रुपमा सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सहयोग गरेका थिए । उनीहरु कुनै नयाँ संघ संस्थाका प्रतिनिधि, विद्यार्थी एवं ट्राफिक प्रहरी नभएर ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेका थिए । 


उनीहरुले आज बिहान ९ बजेदेखि ५ बजेसम्मको समयमा सवारी साधन व्यस्त हुने चोकमा सवारी व्यवस्थापनमा सहयोग गरेका हुन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेकालाई आजदेखि स्वयम्सेवकका रुपमा सडकमा खटाउन सुरु गरेसँगै उनीहरुले आज पहिलो दिन सवारी व्यवस्थापनमा सहयोग गरेका हुन् ।

उनीहरु खटिएपछि आज काठमाडौँका व्यस्त सडकहरूमा ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्न सहज भएको थियो । ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेका एक हजार तीन सय दुई जनालाई आज काठमाडौँ, ललितपुर र भक्तपुर क्षेत्रमा स्वयम्सेवकका रुपमा सवारी व्यवस्थापनमा खटाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले राससलाई जानकारी दिए । 

उनले भने, “ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेकालाई हामीले स्वयम्सेवकका रुपमा सवारी व्यवस्थापनमा खटाइएका थियौँ, बेलुकी ५ बजेसम्म उहाँहरु खटिनुभएको थियो ।” 

स्वयम्सेवकका रुपमा सिंहदरबार गेट, माइतीघर, भद्रकाली, पुतलीसडक, पद्मोदय मोड, सातदोबाटो चोकलगायत ठाउँमा खटाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सवारी चालकलाई ट्राफिक नियमको सामान्य ज्ञान दिएर फिल्डमा खटाइएको थियो । ट्राफिक नियम उल्लंघन गर्ने प्रत्येकले एक घण्टा स्वयम्सेवकका रुपमा सडकमा खटिनुपर्ने जनाइएको छ ।
 


Author

थप समाचार
x