समाज

पत्रकार महासंघ सिन्धु शाखामा युनियनको तालाबन्दी

इकागज |
जेठ १४, २०८१ सोमबार १९:२३ बजे

सिन्धुपाल्चोक- नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघ सिन्धु शाखामा तालाबन्दी गरेको छ । पत्रकार महासंघ केन्द्रीय समितिले शुद्धीकरणपछि सार्वजनिक गरेको सदस्यता सूचीप्रति असन्तुष्टि जनाउँदै जिल्ला शाखामा तालाबन्दी गरिएको हो ।

युनियन शाखा अध्यक्ष किशोर बुढाथोकीसहितको टोलीले सोमबार जिल्ला शाखामा पुगेर ध्यानाकर्षण पत्र समेत बुझाएको थियाे । बुढाथोकीले महासंघ शाखा अध्यक्ष जीवन श्रेष्ठलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरे ।


'सदस्यता शुद्धीकरण हुनुपर्छ भन्ने युनियनको माग हो । तर, शुद्धीकरणका नाममा फरक संगठनका व्यक्तिहरूलाई फरक फरक नियम भएको प्रति हाम्रो आपति छ । यही सूची कायम भएमा आउँदो २६ गते तोकिएको महासंघको निर्वाचन नै हुन नसक्ने हाम्रो ठहर छ,' अध्यक्ष किशोर बुढाथोकीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ ।

युनियनले विभिन्न पाँच बुँदा माग राख्दै महासंघको कार्यालय चाैतारामा ध्यानाकर्षण बुझाउँदै अनिश्चितकालीन तालाबन्दी गरेको हो । युनियनले शिक्षकमा कोहीको सदस्यता काट्ने कोहीको राख्ने, पूर्व सभापतिहरूलाई अपमानजनक तरिकाले सदस्यताबाट हटाएको, व्यवसायीहरूको सदस्यता कायम रहेको, कानुन व्यवसायीहरूको सदस्यता कायम रहेको, राजनीतिमा सक्रिय हुन्छु भनेर लागेका व्यक्तिहरूको सदस्यता कायम रहेको प्रति ध्यानाकर्षण गराएको हो ।

अध्यक्ष बुढाथोकीसहित पूर्व सचिव रूपक पुरी, कार्यसमिति सदस्य विपना तामाङलगायतले सयुक्त रूपमा तालाबन्दी गरेका हुन् ।
 


Author

थप समाचार
x