समाज

महिला लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी

इकागज |
बैशाख १२, २०८१ बुधबार १७:३ बजे

फाइल फाेटाे

काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिला लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने बताएकी छिन् । 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पो अन्तर्गत ऊर्जा क्षेत्रमा वातावरण, सामाजिक र सुशासन तथा लैँगिक समताको एकीकरण विषयमा छलफल कार्यक्रममा गर्दै मन्त्री चौधरीले नेपालमा लामो समयदेखि महिला सशक्तीकरणका निम्ति काम हुँदै आएको भन्दै अहिले बिस्तारै महिलाको सहभागिता सबै क्षेत्रमा वृद्धि हुँदै गएको समेत बताइन् । 


हाइड्रोपावर प्रोजेक्ट लामो समयको योजना र बजेट धेरै लाग्ने योजना भएकाले त्यसको सुरुआत गर्न पनि समय लाग्ने गरेको बताउँदै उनले सात वटा मन्त्रालयसँग सम्बन्धित रहेको प्रक्रियागत हिसाबले पनि झन्झटिलो हुँदा लगानीकर्तालाई समस्या हुने गरेको पाइएको बताइन् । 

मन्त्री चौधरीले हाइड्रोपावर प्रोजेक्ट एउटा योजना मात्रै नभएर वन, वातावरण, जैविक विविधता, स्थानीय नागरिकको जनजीवनमा पनि प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले संवेदनशील क्षेत्र पनि भएको बताइन् । नेपालमा पनि ऊर्जा बेचेर समृद्ध हुन सक्ने सम्भावना रहेको भन्दै उनले लगत्तै हुन लागिरहेको लगानी सम्मेलन पनि देशमा लगानी भित्र्याउने उद्देश्यले आयोजना गरिएको बताइन् । 

लगानीलाई प्रोत्साहन गर्नका लागि सरकारले लगानी सम्मेलनको आयोजना गरेको भन्दै उनले सरल तरिकाले लगानी भित्राउनका लागि विधेयक पनि आइसकेकाले केही सहज हुने बताइन् । 

ऊर्जा क्षेत्रमा महिला लगानीकर्ता तथा नेतृत्वकर्ता बढाउनका लागि सबैले भूमिका खेल्न आवश्यक रहेको भन्दै मन्त्री चौधरीले ऊर्जा क्षेत्रमा रहेको १६ प्रतिशत महिला सहभागिता वृद्धि गर्न आवश्यक रहेको उनको भनाई थियो । विद्युत् खपत बढाउने सन्देशसहित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को आयोजनामा हिमालयन हाइड्रो एक्स्पो सुरु भएको हो ।


Author

थप समाचार
x