समाज

आगलागीपछि बासविहीन भए १३ परिवार

इकागज |
बैशाख १०, २०८१ सोमबार २१:५३ बजे

फाइल तस्बिर

अर्घाखाँची- भूमिकास्थान नगरपालिका-३ रातामाटाकी वसन्ता मल्ल आइतबार दिउँसो खरानी सोहोर्दै थिइन् । आगलागीबाट टघरसहित अन्नपात, लत्ताकपडा खरानी बनाएपछि गहभरी आँसु झार्दै उनले भने, 'भएको बास खरानी भयो गाँस र बासको पनि टुङ्गो छैन । कहाँ बस्ने कहाँ खाने ।' शनिबार दिउँसो वनमा लागेको आगो बस्तीमा सल्किँदा उनको घर जलेर खरानी भएको थियो । त्यही खरानी स्याहार्दै उनले बिलौना गरिन् ।

'घरमा रहेका अन्न, कपडा, लालपूर्जा, नागरिकता, गरगहना सबै खरानी भए, अहिले त खाने ठाउँ पनि छैन,' गङ्गाबहादुर विकले सुनाए । आगलागीले उनको पनि घर नष्ट भएको छ । उनले घरमा भएको केही पनि बचाउन नसकिएको बताए । 'ज्यान जोगियो त्यसैमा चित्त बुझाउनुपर्ने भयो, अरू सबै नष्ट भयो,' उनले भने ।


मल्ल र विक मात्र होइन धारापानीमा शनिबार भएको भीषण आगलागीका कारण १३ घर परिवार अहिले खुला आकाशमा बस्न बाध्य छन् । आगलागीबाट भूमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलामखिल्जीलगायतका गाउँका १३ घर र १० घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले बताए । बस्तीमा पसेको आगो नियन्त्रण भए पनि वनमा अझै पूर्ण रूपमा आगो निभेको छैन ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले घटनास्थलमै गएर आगलागीका कारण बास गुमाएका परिवारलाई खाद्यान्न सामग्री प्रदान गरेका छन् । आगलागीले घर गुमाएका रातामाटाका १६ घरपरिवारलाई जिल्ला प्रशासनको पहलमा उद्योग वाणिज्य सङ्घले खाद्यसामग्री राहत उपलब्ध गराएको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष प्रदीप मिश्रले बताए । चामल, दाल, तेल, नुनलगायतका खाद्य सामग्री  वितरण गरिएको छ । 

भीषण आगलागीले गाउँ नै सखाप भएको छ । जिल्लाका विभिन्न स्थानमा शनिबार लागेको आगलागीमा ४३ घर गोठ जलेर नष्ट भएका छन् । हिजो भूमिकास्थान नगरपालिका, शीतगङ्गा नगरपालिका र पाणिनि गाउँपालिकामा भएको डढेलोले २० घर, २३ गोठ, ११ बाख्रा र छ भैँसी जलेर नष्ट भएका हुन् । सबै पालिकामा दमकल नहुँदा र आगो नियन्त्रणका सामग्री पर्याप्त नहुँदा आगलागीका घटना बढिरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नुमलाल पन्थीले बताए । उनले सुरक्षाकर्मीसँग पनि पर्याप्त अग्नि नियन्त्रक साधन छैनन् । 

जिल्लाका छ वटा स्थानीय तहमध्ये सन्धिखर्क नगरपालिकामा मात्र दमकल छ । अन्य पालिकाहरूमा दमकल नभएपछि ट्याक्टरमा पानीको ट्याङ्कर भए पनि तयारी अवस्थामा राख्ने निर्णय भएको थियो । कार्यान्वयनको प्रक्रियामा आगलागी बढेको प्रशासकीय अधिकृत पन्थीको भनाइ छ ।


Author

थप समाचार
x