समाज

चार वर्षदेखि खोसिँदैछ नेपालीको खुसी, छिमेकी भारतीयभन्दा नेपाली बढी खुसी

जीवन कुँवर |
चैत ९, २०८० शुक्रबार ८:२१ बजे

काठमाडौँ- विश्व खुसी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३औँ स्थानमा रहेको देखाएको छ । विश्व खुसी प्रतिवेदन २०२४ अनुसार १४३ देशहरूमध्ये खुसीको सूचाङ्कमा नेपालले ९३औँ स्थान प्राप्त गरेको हो । प्रतिवेदनले ३० वर्षमुनि उमेर समूहमा खुसी हुने स्थानमा भने नेपाल ९२औँ स्थानमा छ भने ६० वर्षमाथिको उमेर समूहमा नेपाल ७६औँ स्थानमा छ ।

खोसिँदैछ नेपालीको खुसी ?
नेपालले हरेक वर्ष खुसी हुने अवस्था गुमाउँदै गएको छ । गएको चार वर्षको तथ्याङ्कलाई हेर्ने हो भने नेपालीले हरेक वर्ष खुसी गुमाउँदै गएको छ । 


सन्‌ २०१३ मा नेपाल खुसी हुने सूचीमा ४.१६५ अंक ल्याएर १३५औँ स्थानमा थियो । त्यस्तै सन्‌ २०१५ मा ४.५१४ अंक ल्याएर १२१ औँ स्थानमा पुगेको थियो ।

त्यस्तै सन्‌ २०१६ मा ४.७९३ अंक ल्याएर १०७ औँ स्थानमा झरेको थियो । सन्‌ २०१७ मा ४.९६२ अंक ल्याएर ९९ औँ स्थानमा आएको नेपाल सन्‌ २०१८ मा ४.८८० अंक ल्याएर १०१ औँ स्थानमा पुगेको थियो ।

सन्‌ २०१९ मा ४.९१३ अंक ल्याएर १०० औँ स्थानमा रहेको नेपाल सन्‌ २०२० मा भने सुधार गर्दै ५.१३७ अंक ल्याएर ९२ औँ स्थानमा रह्यो ।

२०२१ मा ८७औँ, २०२२ मा ८४औँ र सन् २०२३ मा ७८औँ स्थानमा रहेको नेपाल सन्‌ २०२४ मा ५.२ अंक ल्याएर ९३ औँ स्थानमा पुगेको हो । तथ्याङ्कलाई हेर्दा युवाको तुलनामा प्रौढ बढी खुसी देखिन्छन् ।

छिमेकी चीन ६० औँ स्थानमा, भारत १२६ औँ स्थानमा
त्यस्तै छिमेकी देश भारत १२६औँ स्थानमा रहेको छ । ४.१ अंक ल्याएर भारत खुसी हुनेको सूचीमा १२६औँ स्थानमा छ । भारतमा पनि युवाभन्दा प्रौढ अधिक खुसी रहेको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी अर्को छिमेकी देश चीन ६ अंक ल्याएर खुसी हुनेको सूचीमा ६०औँ स्थानमा छ ।

विश्वमा खुसी हुने टप टेन देशहरू
७.७ अंक ल्याएर फिनल्याण्डले पहिलो स्थान ओगटेको छ । फिनल्याण्ड लगातार सात वर्षदेखि शीर्ष स्थानमा रहँदै आएको छ । त्यस्तैगरी ७.६ अंक ल्याएर डेनमार्क दोस्रो स्थानमा छ ।

आइसल्याण्ड ७.५ अंक ल्याएर तेस्रो, स्वीडेन ७.३ अंक ल्याएर चौथो, ७.३ अंक ल्याएर इजरायल पाँचौं, ७.३ अंक नै ल्याएर नेदरल्याण्ड्‌स छैठौँ, ७.३ अंक नै ल्याएर नर्वेले पनि सातौँ स्थान ओगटेको छ ।

त्यस्तै ७.१ अंक ल्याएर लक्जमबर्ग आठौँ, ७.१ अंक नै ल्याएर स्विट्जरल्यान्ड नवौँ र ७.१ अंक नै ल्याएर अस्ट्रेलिया १० औँ स्थानमा रहेको छ ।

विश्वका कम खुसी हुने टप टेन देशहरू
सबैभन्दा दुखी देशको अफगानिस्तान रहेको छ । अफगानिस्तानले १.७ अंक ल्याएर सबैभन्दा कम खुसी हुने देशको सूचीमा १४३ औँ परेको हो । त्यसैगरी लेबनान २.७ अंक ल्याएर १४२ औँ स्थानमा छ भने ३.२ अंक ल्याएर लेसोथो १४१ औँ स्थानमा रहेको छ । सिएरा लियोन ३.२ अंक ल्याएर १४० औँ स्थानमा छ भने ३.३ अंक ल्याएर कंगो १३९ औँ स्थानमा, ३.३ अंक ल्याएर जिम्बाबे १३८ औँ स्थानमा र ३.४ अंक ल्याएर बोत्सवाना १३७ औँ स्थानमा रहेको छ ।

त्यसैगरी मलावी ३.४ अंक ल्याएर १३६ औँ स्थानमा छ भने इस्वातिनी ३.५ अंक ल्याएर  १३५ औँ स्थानमा छ । त्यस्तै जाम्बिया ३.५ अंक ल्याएर १३४ औँ स्थानमा छ भने यमन ३.६ अंक ल्याएर १३३ औँ स्थानमा छ ।

उक्त प्रतिवेदन गलुप, अक्सफोर्ड विश्वविद्यालय, वेलबिइङ रिसर्च सेन्टर, संयुक्त राष्ट्रसंघ दिगो विकास सोलुसन नेटवर्क र डब्लुएचआर्स एडिटोरियल बोर्डले प्रकाशन गरेको हो ।  मुख्यत जीवन मूल्याङ्कनका प्रश्न उत्तरलाई आधार मानी प्रतिवेदन तयार पारिएको जनाइएको छ । उत्तरदाताहरुलाई आफ्नो जीवनशैलीलाई राम्रोदेखि खराबसम्मको शून्यदेखि १० नम्बरबीच अङ्क दिने गरी प्रश्न सोधिएको थियो ।

देशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन, औसत आयु, सामाजिक समर्थन, उदारता, जीवन छनोट गर्ने स्वतन्त्रता र भ्रष्टाचारलाई आधार मानेर खुसी प्रतिवेदन तयार पारिन्छ । 


Author

जीवन कुँवर

राजनीति तथा समसामयिक विषयमा कलम चलाउने कुँवर सिनियर करेस्पाेन्डेन्ट तथा डेस्क संयोजक हुन् ।


थप समाचार
x