समाज

संविधानको व्यावहारिक कार्यान्वयनका लागि ध्यान दिन राष्ट्रपतिको सुझाव

इकागज |
चैत ७, २०८० बुधबार १९:५१ बजे

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको व्यावहारिक कार्यान्वयनका लागि ध्यान दिनुपर्ने बताएका छन् । 

मुस्लिम आयोगको पाँचौँ वार्षिक स्थापना दिवसका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा उनले नेपालको संविधान विश्वका उत्कृष्ट संविधानमध्ये एक रहेको र यसले सबै जातजाति, भाषा, धर्म, समुदाय, वर्ग, क्षेत्रका लागि समान हक तथा अधिकारको व्यवस्था गरेको बताउँदै यसको व्यावहारिक कार्यान्वयनका लागि ध्यान दिनुपर्ने बताएका हुन् । 


राष्ट्रपति  पौडेलले राज्यका हरेक निकायमा सहभागिताको समान अवसर प्रदान गरेर सबै जातजाति, भाषाभाषी, उत्पीडित, पिछडिएका वर्गको उत्थान भएमात्रै संघीय लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष्य पूरा हुने विश्वास व्यक्त गरे । 

उनले सबै तह र निकायका सेवा प्रदान गर्ने क्षेत्रमा नेपाली मुस्लिम समुदायको सहभागिताको समान अवसरका लागि  उपयुक्त नीतिगत र कानुनी प्रयास गरिनु आवश्यक रहेको धारणा राखे । 

मुस्लिम समुदायको हकहितको संरक्षण, सम्वद्र्धन तथा सशक्तीकरणका माध्यमबाट सिङ्गो मुस्लिम समुदायको बृहत्तर विकासका लागि नेपालको संविधानमा मुस्लिम आयोगको व्यवस्था गरिएको उनको भनाइ छ । 

उनले मुस्लिम समुदायको अधिकार प्रवर्द्धन, क्षमता विकास र सशक्तीकरणका कार्यक्रम तर्जुमा गरी प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याउन आयोगले आगामी दिनमा थप प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे । 


Author

थप समाचार
x