समाज

[भिडियो/तस्बिरसहित]

काठमाडौँ महानगरले ढल निकासको नाममा सडक अलपत्र छाडेको भन्दै स्थानीयद्वारा पुरानो बानेश्वर सडक अवरुद्ध

शुरज थपलिया |
चैत ४, २०८० आइतबार १९:१५ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ढल निकासको नाममा निर्माणाधीन सडक अलपत्र छाडेको भन्दै स्थानीयहरूले सडक अवरुद्ध गरेका छन् । पुरानो बानेश्वर चोकदेखि मैतीदेवीसम्म जाने सडक खण्ड स्थानीयहरूले अवरुद्ध गरेका हुन् ।

महानगरले उक्त क्षेत्रमा ढल निकासका लागि भन्दै सडक भत्काई लामो समयसम्म त्यस्तै छाडेको र स्थानीयको दबाबापश्चात् सडकको खाल्डो पुरेको स्थानीय अब्दुल हसनले बताए । महानगरले खाल्डो पुरे पनि कालोपत्र ​नगरेर यसै छाडेको छ । जसबाट उक्त क्षेत्रमा रहेका घर धनी तथा व्यापार व्यवसाय गर्ने व्यक्तिहरू आजित भएका छन् ।


यो क्षेत्रमा यातायातका साधनहरू धेरै गुड्ने भएकाले धुलो धुवाले यस वरपरको वातावरण दूषित बनाएको उनको भनाइ छ । उनले भने, 'महानगरले अहिले आएर यो क्षेत्रलाई कालोपत्र गर्ने कुनै पनि लक्षण देखिँदैन । दैनिक १८ घण्टा सडकमा गाडी दौडिरहन्छ धुवा धुलो उड्नाले हाम्रो स्वास्थ्य दिनप्रति दिन बिग्रँदै गएको छ ।'

उक्त क्षेत्रमा रहेको खुर्पाली आउट फिटको सञ्चालक सुनिता श्रेष्ठले महानगरका कारण आफूहरूको स्वास्थ्य र व्यवसायमा ठूलो असर परिरहेको बताइन् । 'दैनिक उड्ने धुलोले हाम्रो पसलहरूमा राखेका सबै सामानहरू बिग्रिसके । आज नयाँ कपडा राख्यो एकछिनमै धुलाम्मे हुन्छ,' उनले भनिन्, 'हामीलाई श्वासप्रस्वासमा समेत  समस्या देखिन थालेको छ ।'

यस्तै यस टोलका घरधनी, व्यापारीहरूले बारम्बार वडा कार्यालयमा गई अनुरोध गर्दा पनि महानगरले अहिलेसम्म कालोपत्र गर्ने र सडकको पूर्ण निर्माण गर्ने हुने लक्षण नदेखिएकाले आफूहरू सडक अवरुद्ध गर्न बाध्य बनेको उनीहरूको भनाइ छ । साथै महानगरले काम कहिले सम्पन्न हुन्छ भन्ने बारेमा कुनै पनि सूचना टाँस नगरेको भन्दै आक्रोश भएका स्थानीयहरूले भोलि नै सडक मर्मत गर्न दबाबसमेत दिएका छन् ।

स्थानीयहरूले सडक कालोपत्र गरिदिन ऐक्यबद्धतासहित ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका छन् । काठमाडौँ वडा नं ९ का वडा सदस्य श्रीराम राईलाई पत्रमा ​ बुझाउँदै सडक चाँडोभन्दा चाँडो कालोपत्र गर्न स्थानीयहरूले आग्रह गरे । वडा सदस्य राईले अबको बुधबार, बिहीबारसम्म सबै सडक कालोपत्र गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । 'अवरुद्ध सडक खोलिदिनुस् । अबको बुधबार, बिहीबारसम्म यो क्षेत्रको सडक कालोपत्र हुन्छ,' उनले आश्वासन दिँदै भने, 'मेरो विश्वास गर्नुस् म लिन्छु यसको जिम्मा ।'

 

भिडियो:


Author

थप समाचार
x