समाज

बेहडाबाबा मन्दिरमा हेलिकप्टरबाट पुष्प वर्षा

इकागज |
फागुन २५, २०८० शुक्रबार २०:२४ बजे

कैलाली- धार्मिक तथा ऐतिहासिक महत्वको धनगढी उपमहानगरपालिका-१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा महाशिवरात्रिका अवसरमा आज हेलिकप्टरबाट पुष्प वर्षा गरिएको छ ।

बेहडाबाबा फाउन्डेसन, मन्दिर व्यवस्थापन समिति र बेहडाबाबा पुष्प वर्षा समारोह उपसमितिको आयोजनामा महाशिवरात्रिका अवसरमा पुष्प वर्षा गरिएको आयोजक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए ।


हरेक वर्ष आयोजना गरिने महाशिवरात्रि मेलामा पहिलोपटक हेलिकप्टरबाट पुष्प वर्षा गरिएको उनले बताए । प्रसिद्ध धार्मिक स्थल मानिने कैलालीको बेहडाबाबालाई पर्यटकीय गन्तव्य बनाउनका लागि प्रचार-प्रसार गर्न हेलिकप्टरद्वारा पुष्प वर्षा गराइएको आयोजकले जनाएको छ । 

पुष्प वर्षा बिहान ११ देखि मध्याह्न १२ बजेका बीचमा पुष्प वर्षा गरिएको हो । त्यस्तै अपराह्न दुई करोड २५ लाख बत्ती बालिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । पुष्प वर्षा कार्यक्रमका लागि नरेन्द्र शाहको संयोजकत्वमा रहेको टोलीद्वारा केही दिनअघि रु १४ लाख नौ हजार नौ सय ५० रकम सङ्कलन गरिएको थियो । हेलिकप्टर भाडाबापत रु ११ लाख र तीन क्विन्टल फूलको रु दुई लाख गरी जम्मा रु १३ लाख खर्च भएको बताइएको छ ।

पुष्प वर्षासँगै महाशिवरात्रिमा भक्तजनका लागि भण्डारा चलाइएको थियो । भण्डारामा आउनेलाई भोजनको व्यवस्था गरिएको थियो । उक्त धाममा भक्तजनलाई जान-आउनदेखि दर्शन तथा पूजापाठ गर्न बसको व्यवस्था गरिएको थियो ।

बेहडाबाबा मन्दिरमा लागेको महाशिवरात्रि मेलाको दर्शनका लागि छिमेकी मुलुक भारतबाट दर्शनार्थी आएका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जोशीले बताए । यहाँ प्रत्येक वर्ष भारतका लख्खिमपुर, पलिया, पिलिभित, उत्तराखण्डका विभिन्न स्थानबाट भक्तजन आउने गरेका बताए ।


Author

थप समाचार
x