समाज

भक्तपुरका प्रहरी डिएसपी पाठकमाथि दुर्व्यवहारको आरोप

इकागज |
फागुन २२, २०८० मंगलबार १७:४ बजे

भक्तपुर- जिल्ला प्रहरी परिसर भक्तपुरका एक जना डिएसपीमाथि दुर्व्यवहारको आरोप लागेको छ ।

परिसरका डिएसपी एवं सूचना अधिकृत बसन्त पाठकमाथि दुर्व्यवहारको आरोप लागेको हो । पाठकले सेवाका क्रममा आफूमाथि दुर्व्यवहार गरेको आरोप एक जना पीडितले लगाएका हुन् ।


उनले मंगलबार भक्तपुरमा पत्रकार सम्मेलन नै गरी परिसरका पाठकले आफूलाई लछारपछार गरी कार्यालयबाट बाहिर पठाएको आरोप लगाएका छन् ।

पुलिस रिपोर्टको बारेमा छलफल गर्न जाँदा आफूलाई परिसरका डिएसपी पाठकले दुर्व्यवहार गरी उनको कोठाबाट मात्रै नभइ कार्यालयबाटै निकालेको राष्ट्रिय संचार केन्द्रको कार्यालय गठ्ठाघरमा सम्मेलन गर्दै पीडितले सेवा लिन प्रहरीकोमा जाँदा अपमानित हुनु परेकोमा दुःख व्यक्त गरे ।

उनका अनुसार जिल्ला प्रहरी परिसर भक्तपुरमा आइतबार चाँगुनारायण नगरपालिका वडा नं.६ नगरकोटका कृष्णबहादुर वाइवा आफ्ना छिमेकी विनोद तामाङको पुलिस रिपोर्ट बारेमा कुरा गर्न गएका थिए ।

सोही क्रममा केही मिनेट हुन नपाउँदै आफूलाई प्रहरी लगाएर बाहिर निकाल्न भन्दै डीएसपी पाठक चर्को स्वरमा कराएको पत्रकार सम्मेलनमा पीडितले बताए ।

'तैले के गर्न सक्छस् गर' भन्दै 'डीएसपी सरले हामीमाथि दुर्व्यवहार गर्नुभयो,' वाइवाले भने । तेरो मानिसको भविष्य मैले बिगारेको हो र भन्दै तथानाम बोलेको वाइबाको आरोप छ ।

नगरकोटमा एकै नाम गरेका धैरे मानिस भएकाले को अपराधमा संग्लन छ ? छैन भन्ने प्रहरीले छुट्याउनु पर्ने उनको भनाइ थियो । केही समस्या परेर पुलिसकहाँ जाँदा जनता सुरक्षित हुँदैनन् भने कहाँ जाने ? उनले प्रश्न गरेका छन् ।

६ वर्ष अगाडिको घटनामा संग्लन आरोपितहरू अदालतको आदेश अनुसार जेल चलान भएको र सोही घटनामा संग्लन व्यक्तिसँग आफ्नो नाम मिल्दा प्रहरीले यो पटक पुलिस रिपोर्ट नदिएको पीडित युवा विनोद तामाङको भनाइ छ ।

विगतमा एक पटक आफू पुलिस रिपोर्ट बनाएर साइप्रस समेत गएर आएको र अब पनि विदेश जाने क्रममा पुलिस रिपोर्ट लिन जाँदा यस्तो भएको विनोदले बताए ।

'नाम मात्रै मिलेको भएर मलाई दुःख दिइनु राम्रो होइन,' विनोदले भने ।

पीडितले सेवाग्राहीमाथि दुर्व्यवहार गर्ने प्रहरी अधिकृतलाई आवश्यक कारबाही गरी जनताको सेवा पाउने अधिकारबाट वञ्चित नगर्न सम्बन्धित पक्षसँग उनीहरूले आग्रह गरेका छन् ।


Author

थप समाचार
x