समाज

मेयर बालेनले काम गर्न नदिएको ‘क्यान्सर सर्भाइभर’ महिला कर्मचारीको आरोप

इकागज |
फागुन १६, २०८० बुधबार १६:१ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आठौँ तहका एक महिला कर्मचारीले आफूलाई काम गर्न नदिएको बताएकी छन् । बुधबार महानगरपालिका कर्मचारी सस्मिता घिमिरेले फेसबुकमा स्टाटस लेख्दै लामो समय देखि मेयर बालेनको प्रशासनले बिना कारण र किन कार्य जिम्मेवारीविहीन बनाएको भनेर उल्लेख गरेकी छन् ।

‘जान्ने बुझ्ने मौका समेत नदिई कामविहीन बनाएर कार्यालय जाँदा बस्ने कुर्सी टेबल समेत नदिई कामै गर्न नदिएर राखिएकाले बाध्य भएर कानुनी र पेशा गत हक,अधिकारका लागी बाहिर निस्कनु परेको छ,’ उनले भनेकी छन् ।


कर्मचारीलाई राइट म्यान इन राइट प्लेस अनुसार कार्य जिम्मेवारी दिई काममा लगाउनु पर्नेमा कर्मचारीलाई पूर्वाग्रही व्यवहार गरिएको घिमिरेको भनाइ छ । ‘कार्यालय जाँदा बस्ने ठाउँ समेत नदिई स्थायी कर्मचारीलाई कामै गर्न नदिनु कति न्यायोचित होला?' उनले प्रश्न गरेकी छन् ।

क्यान्सर सर्भाईभर बाँचुन्जेल राष्ट्रको सेवा गर्छु ,काम गर्छु, काम गर्न सक्षम छु मेरो स्वास्थ्य संवेदनशीलता समेतलाई ध्यान दिएर हतोत्साही नगराउन पनि उनले आग्रह गरेकी छन् । कामको जिम्मेवारी दिन भनेर प्रमुख प्रशासकीय अधिकृत , कामपा प्रशासन प्रमुख महेस काफ्ले, दिपक अधिकारी सर , प्रशासन महाशाखा प्रमुख सरिता राईसँग गएर पटक पटक अनुनय विनय गर्दा अहिले कामै गर्न नदिने भन्ने जानकारी पाएको उनले बताएकी छन् ।

काम नगरी भर्‍याङ वा घरमा बस्न बाध्य पारिएको उनको भनाइ छ।  घरमा बस्दा अफिसबाट छड्के हुने र जागिरबाट नै बर्खास्त गर्ने डर त्रास रहेको उनले उल्लेख गरेकी छन् । अहिले काठमाडौं महानगरमा कर्मचारी हरेक दिन यस्तै कार्यले पीडित बन्दै गएको उनले जानकारी दिएकी छन् ।

‘प्रशासनमा चरम राजनीतिकरण हुँदा सानो त्रुटि र कमजोरी हुनासाथ सामान्य सजाय नगरि एकै पटक जागिरबाट हटाइदिने त्रासले ठूलो आतंक सिर्जना भएको छ,’ उनले थपेकी छन् ।

त्यसैगरी, यस विषयमा बुझ्न खोज्दा  काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कुनै पनि कर्मचारीले मलाई काम गर्न दिएन भनेर समस्या लिएर नआएको बताए । ‘महानगरमा धेरै कर्मचारी छन् । म सबै कर्मचारीलाई चिन्दिन । सबै कर्मचारीले काम गरिरहेका छन् । यस विषयमा मलाई थाहा छैन ,’ उनले भने  ।

 


Author

थप समाचार
x