समाज

मापसे सेवन गरेका ट्याक्सी चालक प्रहरी हिरासतमा

इकागज |
फागुन १५, २०८० मंगलबार १३:५ बजे

काठमाडौँ- मापसे सेवन गरी सवारीसाधन चलाएका एक टयाक्सी चालकलाई ट्राफिक प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ । सोमबार राति ललितपुरको ग्वार्कोमा ट्राफिक प्रहरीको चेकिङमा चालक शिवराम घिमिरेले मापसे गरेको अवस्थामा फेला परेका थिए ।

उनलाई अहिले सातदोबाटो प्रहरी वृत्तको हिरासत कक्षमा राखिएको छ । मापसे सेवन गरेर सवारीसाधन चलाएमा ट्राफिक प्रहरीले आवश्यक कारबाही गर्नुपर्ने तर मुद्दा चलाएकोमा चालकका आफन्तले आपत्ति जनाएका छन् ।


‘मापसे गरेमा जरिवानासहित कारबाही गरी क्लासमा राख्‍नुपर्ने थियो,’ ति आफन्तले इकागजसँग भने,’ अहिले मुद्दा लगाइ म्याद थपेर चालकलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।‘

काम गरी खाने मानिसलाई हिरासतमा राख्दा परिवारलाई गुजारा गर्न गाह्रो हुने उनले बताए । चिट काटेर जरिवाना गर्नुपर्ने उनको भनाइ छ । ट्राफिकले चालकलाई दुःख दिने उद्देश्यले मुद्दा चलाउन लगाइ हिरासतमा राखिएको उनले आरोप लगाए ।

त्यसैगरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवनकुमार श्रेष्‍ठले सार्वजनिक स्थानमा यात्रुवाहक सवारीसाधन चालकले मापसे गरेर चलाएमा कारबाही गरिने बताए । उनका अनुसार मापसे गरी सवारीसाधन चलाउन पाइँदैन ।

‘ट्राफिक प्रहरीले चालकले मापसे गरेर चलाएमा अवस्थाको अध्ययन गरी मुद्दा चलाउने गरेको छ,’ उनले भने,’ चेकिङ भएका आसपासका जनसेवा प्रहरीले चालकलाई मुद्दा चलाएर कारबाही गर्छन् ।‘

 


Author

थप समाचार
x