समाज

चौधरी समूहले तीन दशकअघि १० रोपनी जग्गा लिन 'श्री ५ को सरकार' लाई छक्याए

नाम परिवर्तन गरेर पब्लिक कम्पनीलाई प्राइभेट बनाए

अतिन आचार्य |
माघ १९, २०८० शुक्रबार १७:३ बजे

काठमाडौँ- मालपोत कार्यालय डिल्लीबजारले २०३७ कात्तिक २० मा एउटा निर्णय गर्‍यो । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा तत्कालीन श्री ५ को सरकार मातहतमा रहेको जग्गा बिनासहमति सञ्चालक समितिले एक कम्पनीलाई हस्तान्तरण गर्‍यो । जुन अहिलेको अर्बपति चौधरी समूहको थियो ।

विंस २०४३ भदौँ १० गते जुत्ता कारखानाको तर्फबाट कार्यकारी अध्यक्ष अजित नारायण सिंह थापाले च्याम्पियन फुटवेयर प्रालिलाई जुत्ता उत्पादन गर्ने गरी सम्झौता गरे ।


तत्कालीन  समितिले अरुण चौधरी सञ्चालक रहेको च्याम्पियन फुटवेयर लिमिटेड कम्पनीलाई अध्यक्ष थापाले एकल निर्णय गरी ५० लाखको २५ प्रतिशत शेयर लिने गरी १० रोपनी जग्गा हस्तान्तरण गरेका थिए ।

काठमाडौँ जिल्ला नगर २२ (छ) कि. न. ५० को १८-३-२० जग्गा बाँसबारी जुत्ता कारखानाको नाममा थियो । सरकारी जग्गा बिक्रीवितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको हुन्छ । तत्कालीन सञ्चालक समितिले कानुनविपरीत चौधरी समूहलाई सुम्पिएको थियो ।

जग्गा पाएको साल मङ्सिर २७ गते कम्पनी रजिष्ट्रार कार्यालयमा च्याम्पियन फुट वेयर दर्ता गरिएको थियो । सोही कम्पनी सञ्चालक अरुणकुमार चौधरीले सरकारको तर्फबाट रहेको २५ प्रतिशत सेयर खरिद गर्छन् ।

वि. स २०५२ साउन ११ गते अरुणको नाममा शेयर आयो । चौधरी समूहले २०५४ साउन १२ गते पब्लिक लिमिटेड कम्पनीले प्राइभेट कम्पनी बनाएका थियो । च्याम्पियन फुट वेयरको नाम परिवर्तन गरी सिजि चाँदबाग रेजिडेन्सी बनाएका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार च्याम्पियन फुटवेयरमा बाँसबारी छाला उद्योगको २५ प्रतिशत शेयर अरुण चौधरीले खरिद गरे । शुक्रबार सीआइबीद्वारा आयोजित पत्रकार सम्मेलनमा २०५२ सालमा च्याम्पियन फुटवेयरको २५ प्रतिशत शेयर अरुणले किनेपछि २०५४ पुस ४ गते प्राइभेट कम्पनीमा लगिएको जानकारी दिएको हो ।

बाँसबारी छाला उद्योगले दिएको १० रोपनी जग्गामा सञ्चालन हुने भनिएको च्याम्पियन फुटवेयरमा प्रारम्भिक रूपमा चौधरी समूहको ५१ प्रतिशत, बाँसबारी छाला उद्योगको २५ प्रतिशत र २४ प्रतिशत शेयर सर्वसाधारणको रहने भनिएको थियो ।

बाँसबारी छाला उद्योगले आफ्नो नाममा रहेको १८ रोपनी ३ आना २ पैसा जग्गामध्ये १० रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई दिएको थियो । 

प्रति रोपनी २ लाख ५० हजारको दरले बाँसबारी छाला उद्योगले कुल २६ लाख लगानी गरेको देखिएको र च्याम्पियन फुटवेयरको चुक्ता पुँजी ५० लाखमात्र देखिएको सीआइबीले उल्लेख गरेको छ ।

चौधरी समूहलाई २५ प्रतिशत शेयरको मूल्य साढे १२ लाख रुपैयाँ मात्र पर्ने भए पनि बाँसबारीले २६ लाख रुपैयाँ मूल्य बराबरको १० रोपनी जग्गा दिएको थियो ।

चुक्ता पुँजीलाई ५० लाखबाट एक करोड पुर्याइएपछि बाँकी अरू पक्षबाट ७४ लाख रुपैयाँ लगानी हुनुपर्नेमा जम्मा ८ लाख मात्र लगानी भएको पाइयो । त्यसमा पनि कम्पनीले ३ वर्षसम्म उत्पादन गरेको देखिएको छ ।

उनले बाँसबारी छाला जुत्ता उद्योगको जग्गाको विषयमा लामो समयसम्म अनुसन्धान गरेर आफू निष्कर्षमा पुगेको भन्दै शंका नगर्न सबैलाई आग्रह गरे ।

अनुसन्धानका क्रममा चौधरी समूहका अन्य सदस्यलाई अनुसन्धान गर्न सकिने उनले बताए । उनका अनुसार मुलुकी ऐन २०२० को किर्ते कागज र ठगीको महलमा मुद्दा चलाइन्छ ।

बिहीबार सीआइबीले विनोद चौधरीका भाइ अरुणकुमार चौधरी, अजित नारायण सिंह र संजय ठाकुरलाई पक्राउ गरेको थियो । उनीहरूलाई काठमाडौँ जिल्ला अदालतले चार हिरासतमा राख्‍न अनुमित दिइसकेको छ ।

अहिले चौधरी र थापा भने ग्राण्डी अस्पतालमा उपचाररत छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x