समाज

सहकारी ठगी प्रकरणमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पराजुली पक्राउ

१ करोड ५० लाख रुपैयाँ घुस लिएको आरोप

इकागज |
पुस ११, २०८० बुधबार १६:२८ बजे

पर्वत- पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा उनलाई बुधबार दिउँसो कार्यालयबाटै प्रहरीले पक्राउ गरेको हो । 

सहकारी रजिस्ट्रारको कार्यालय पोखराको रजिस्ट्रार हुँदा उनले मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने क्रममा घुस लिएको आरोपमा पक्राउ गरिएको हो । पक्राउ पुर्जी जारी भएपछि केही समय फरार रहेका उनी अन्ततः बुधबार दिउँसो पक्राउ परेका हुन् । 


उनलाई १ करोड ५० लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ । रकम लिएर पनि काम नभएपछि सञ्चालकले नै प्रहरीलाई भिडियो प्रमाण उपलब्ध गराएपछि सोही आधारमा उनलाई पक्राउ गरिएको हो । 

साथै मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको आर्थिक अपचलन गरेको आरोपमा ३२ जनाविरुद्ध मुद्दा चलाएको छ ।

उनीहरूबाट ३१ करोड बिगो भराउनुपर्ने रायसहितको प्रतिवेदन प्रहरीले गत आइतबार सरकारी वकिलको कार्यालय कास्कीमा बुझाएको छ ।

तीन हजार ४४६ जना पीडित बचतकर्ताहरूले १८ करोड २३ लाख ४४ हजार ९७ रुपैयाँ ठगिएको आरोपमा जाहेरी दिएका थिए । सहकारीको वित्तीय विवरण सम्बन्धमा गरिएको अनुसन्धानका क्रममा २६ करोड ८३ लाख रुपैयाँ हिनामिना भएको देखिएको थियो ।


Author

थप समाचार
x