समाज

सपनालाई झस्काउने लक्ष्मी पूजाको त्यो कालो रात...

दुर्गा आचार्य |
पुस १, २०८० आइतबार १७:३३ बजे

काठमाडौँ- सपना तामाङ पहिले जस्ती अहिले छैनन् । समयमै निदाउँदिनन् । उनका लागि दिन पनि रात जस्तै र रात पनि दिन जस्तै भएको छ । अबेरसम्म बिस्तरामा पल्टे पनि उनको आँखामा निन्द्रा पर्न सकेको छैन ।

समय एकनासले नचल्ने र दैवको आँखा लागेपछि उनी अहिले बेसहारा जस्तै बनेकी छन् । मोरङ उर्लाबारीकी सपनालाई हिजोआज चिसोले भन्दा पनि बालबच्चा कसरी हुर्काउने भन्ने चिन्ताले सताउन थालेको छ ।


बाँकी जीवन कसरी बिताउने भनेर मनमा कुरा खेलाइरहन्छिन् । श्रीमानको मृत्यु भएपछि दुई सन्तान हुर्काउने जिम्मा उनको काँधमा आएको छ ।

गत कात्तिक २६ अर्थात् लक्ष्मी पूजाको दिन सबैको घरमा उज्यालो थियो । लक्ष्मी पूजा गरेर सबै मस्त मनले सुतेका थिए ।

अरूको घर र मनमा उज्यालो बनाइरहेको यस दिनले भने सपनाको जीवनलाई सदाका लागि अन्धकार बनाइदियो ।

छिमेकीको घरमा राति साढे १० बजेतिर सटरबाट धुवाँको मुस्लो निस्किएपछि हल्लाखल्ला मच्चियो । निद्रामा मस्त रहेका श्रीमान् कुमार तामाङ ब्यूँझिए । र, आत्तिँदै आगलागी भएका तिर गए । छिमेकीको घरमा आगो निभाउन गएका श्रीमान् कहिल्यै फर्किएनन् ।

त्यस रात मोरङ जिल्लाको उर्लाबारी नगरपालिका-७ का छिमेकी दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगो लागेको थियो । आगो निभाउन गएका कुमार आगलागीमा परी गम्भीर घाइते भएका थिए । उनको काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा उपचारकै क्रममा १२ दिनपछि मृत्यु भएको थियो ।

उक्त आगोको मुस्लोले क्षणभरमै कुमारसहित २८ जनालाई समात्यो । सपनाले श्रीमानलाई मात्र नभइ आगो निभाउन गएका सबैलाई जलेको देखेकी थिइन् ।

'त्यो दिनको अवस्था म कल्पना पनि गर्न सक्दिनँ, ड्याम्म आवाज आएसँगै आगो निभाउन गएका सबै आगोको लप्कासँगै बल्दै छटपटिएरै कुदे,' उनले त्यो दिन सम्झँदै भनिन् ।

४२ वर्षीय कुमार टिकट काउण्टरमा काम गर्थे । टिकट काटेर आएको पैसाले परिवारको खर्च धान्थे । उनको दुई सन्तान छन् । ती सबै जिम्मा अब सपनाको काँधमा आइसकेको छ ।

कुमार स्थानीय क्षेत्रमा सामाजिक काममा सक्रिय थिए । उनलाई कालले यति छिट्टै लग्ला भनेर कसैले सोचेकै थिएन ।

आगोले जलेका कुमारको जिउ नांगै थियो । शरीरमा आगो बलिरहेको थियो । शरीरको छाला जलिसकेको थियो । तत्कालै उर्लाबारीमा रहेको अरनिको नर्सिङ होम लगेर प्राथमिक उपचार गरियो ।

कुमारलाई उर्लाबारीमा उपचार सम्भव नभएपछि विराटनगरको न्यूरो अस्पताल लगियो । उपचार सम्भव नभएपछि भोलिपल्ट कीर्तिपुर बर्न अस्पताल लगिएको भाइ प्रताप तामाङले जानकारी दिए ।

‘दाइको उपचारका लागि कुनै कसर बाँकी राखेनौँ तर दाइ हामीमाझ रहनुभएन,’ उनले मलिन स्वरमा भने ।

उनको सानो र सुखी परिवार उनीबिना अधुरो र अपूरो रह्यो । दुई छोरी र भाउजूको लालनपालन कसरी गर्ने भन्ने चिन्ताले अहिले प्रतापलाई पनि सताउन थालेको छ ।

कुमारको मंसिर ७ गते निधन भएको थियो । हालसम्म उनीसँगै पाँच जनाको मृत्यु भइसकेको छ ।​​

कति क्षति भयो ?

उर्लाबारी प्रहरीका अनुसार आगलागी यही कारणले भएको भन्ने छैन । आगलागी नियन्त्रणमा आएपछि त्यहाँको अवस्था हेर्दा दीयो, ग्यास र ब्याट्रीका टुक्राहरू पनि भेटिएको प्रहरीले बतायो । प्रहरी निरीक्षक देवेन्द्र दासले दीयो, ग्यास र ब्याट्रीका टुक्रासमेत भेटेकाले यही नै कारण हो भन्न नसकिने जानकारी दिए ।

उनले त्यही दिन मंगलबारेमा परालमा आगो लागेकाले आगो नियन्त्रणमा लिन केही समय लागेको बताए । आगलागीमा परेर ३ करोड ४१ लाखको क्षति भएको उनले उल्लेख गरे ।

स्नेहा ज्वेलर्सको तीन करोड एक लाख भायोनेटको अफिसको ४० हजार र फर्निचर पसलको ४० लाख क्षति भएको प्रहरी निरीक्षक दासले बताए ।   

के छ घाइतेहरूको अवस्था ?

उर्लाबारी आगलागीमा परेर २८ जना घाइते भएका थिए । दीपक कार्कीको घरमा भएको आगलागी नियन्त्रणका क्रममा ग्यास सिलिण्डर विस्फोट हुँदा नेपाल प्रहरीका चारसहित २८ जना घाइते भएका थिए ।

जसमध्ये पाँच जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा घरधनी ६८ वर्षीय रुकुमबहादुर कार्की, उर्लाबारी-७ मै बसोबास रहेका ४३ वर्षीय भारतीय नागरिक तपन पण्डित, ४९ वर्षीय हेमकुमार दाहाल, ४२ वर्षीय कुमार तामाङ र उर्लाबारी-७ मा बस्दै आएका धनुषाको जनकनन्दिनी गाउँपालिका-१ का ४३ वर्षीय राम नरेस मरिता रहेका छन् ।

पाँच जना अहिले पनि कीर्तिपुर बर्न अस्पतालमा उपचाररत छन् । उर्लाबारी ७ का २३ वर्षीय विशाल बस्नेत, मोरङ विराटनगर महानगरपालिका-८ बस्ने ३६ वर्षीय नेत्र भण्डारी, उर्लाबारी-७ कै ४३ वर्षीय कविराज दाहाल, वर्ष ३७ का नवीन थापा र उर्लाबारी-७ का विक्रम शाह उपचारमै छन् ।

बाँकी आगलागीमा परेर घाइते भएकाहरू भने उपचारपछि घर फर्केका छन् । मोरङ दरबन्दी भई कार्यरत प्रहरी जवान ऋदिकिरण राई, उर्लाबारी-७ बस्ने १४ वर्षीय अलिबाबु मन्सुर, ३१ वर्षीय शिवकुमार विक,  ५३ वर्षीय दिनेश सर्मा, ४६ वर्षीय दिपेन्द्र कार्की, २१ वर्षीय सुमन चौधरी, ६४ वर्षीय कैलाश गुरुङ, ३१ वर्षीय सुजन सेन्दाङ, नेपाल विद्युत् प्राधिकरण दुहवीमा कार्यरत प्रसह मनबहादुर घिसिंङ, ४० वर्षीय लालबहादुर लिम्बु, ४९ वर्षीय हेमकुमार दाहाल, १५ वर्षीय करण संग्रौला, ३८ वर्षीय सन्जित ब्यापारी, ४२ वर्षीय तारा मान सेरेङ, ३५ वर्षीय राजन लुईंटेल र  ५५ वर्षीय रवि तामाङ भने कीर्तिपुरमा आवश्यक उपचारपछि घर फर्केका छन् । यस्तै दुई जनाको भने भारतको पटनामा उपचार गराउने भन्दै आफन्तले लगेका र उनीहरूबारे केही थाहा नभएको प्रहरीले जनाएको छ ।

पीडितलाई राहत तथा क्षतिपूर्ति

पीडित परिवारले उपचार खर्चबाहेक अन्य राहत पाएका छैनन् । पीडित परिवारकी सपना तामाङले हालसम्म कुनै राहत नपाएको दुखेसो पोखिन् । ‘जीवन निर्वाह गर्न गाह्रो भएको छ तर हालसम्म नगरपालिकाबाट कुनै राहत पाएको छैन,’ सपनाले इकागजसँग भनिन् ।

उर्लाबारीका मेयर गंगा खरेलले नगरपालिकाको तर्फबाट उपचारको विषयमा हालसम्म केही समस्या नभएको बताए । उनले बिरामीलाई खाना, नास्ता र एक जना कुरुवाको समेत व्यवस्था गरेको जानकारी दिए । राहतको बारे भने केही नगरेको मेयर खरेलले स्वीकार गरे ।

त्यसैगरी, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले घाइतेहरूको कोशी प्रदेशमा गरेको उपचारको सम्पूर्ण खर्च कोशी सरकारले गर्ने बताए ।

‘यता रहँदाको उपचार खर्च र काठमाडौँ लाँदासम्मको खर्च कोशी सरकारले गर्छ,’ उनले भने । मृतक परिवारलाई कोशी सरकारले दुई लाख राहत दिने पनि उनले जानकारी दिए ।

‘सबै कागजपत्रहरू तयार हुँदैछ,' उनले भने, ‘त्यसपछि प्रतिपरिवार दुई लाखका दरले मृतक परिवारले राहत पाउँछन् ।’

यता, संघीय सरकारले कीर्तिपुर बर्न अस्पतालमा उपचार हुँदा लागेको सम्पूर्ण खर्च बेहोर्ने बताएको छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले कीर्तिपुर अस्पताल पुगेर घाइतेहरूलाई भेटी सबै उपचार सरकारले गर्ने प्रतिबद्धता जनाएका थिए । मन्त्री लिम्बू सोही क्षेत्रबाट निर्वाचित सांसद हुन् ।

किन हुन्छ विद्युत् सर्ट ?

विद्युत् प्राधिकरणका सुरेशबहादुर भट्टराईका अनुसार विद्युत् सर्ट हुनुका मुख्य कारण तारहरूको लुज कनेक्सन, नाङ्गो तार, विद्युत् चुहावट र घरबेटीको हेलचेक्र्याइँ हो ।

विद्युत सर्टबाट हुने आगलागी रोक्न तारहरूको लुज कनेक्सन बेलाबखत चेक गर्ने, काम सकिएपछि बिजुलीका स्रोतहरूलाई बन्द गर्ने, बिजुलीका तारहरूमा समस्या देखिएमा स्थानीय इलेक्ट्रिसियनलाई खबर गर्ने वा विद्युत प्राधिकरणलाई सम्पर्क गर्नुपर्ने उनले बताए ।

विद्युत प्राधिकरणका अनुसार विद्युत सर्टबाट हुने आगलागीको घटनालाई रोकथाम तथा नियन्त्रण गर्न घरबेटीहरू आफैँ सचेत हुनुपर्छ ।


Author

थप समाचार
x