समाज

कवाडी संकलन गर्ने राजिनन्द, स्वतन्त्र उम्मेदवार बन्‍ने सपना बुन्दै

अतिन आचार्य |
मंसिर १९, २०८० मंगलबार १०:४९ बजे

काठमाडौँ सपनाको सहर हो । सपना पुरा गर्न मानिसहरू घरको आँगन छोड्छन् । सर्लाही बलरा ३ का राजिनन्द यादव पनि एउटा सपना बोकेर पाँच वर्षअघि काठमाडौँ छिरे । सपनालाई आकार दिन गाउँबाट सहर छिर्दा उनले सोचेका थिए– यहाँ सानोतिनो काम गर्छु र त्यसैबाट परिवार धान्छु ।

तर, सहरमा उनले सोचेजस्तो भएन । सहर उनले चिताए भन्दा फरक पाए । जीवनलाई संघर्ष र यात्रा रहेछ भन्ने बुझे । उनलाई यहाँको भोगाइले धेरै कुरा सिकायो । भोग्नु पनि सिक्नु हो । उनी काठमाडौँ खाल्डो पस्दा शून्य थिए । अहिले भने उनको दिमाग धेरैले थोकले भरिएको छ । मगज बोझले थिच्चिएको छ ।


अहिले उनले सुरुवातीको काठमाडौँ पाउँदैनन् । काठमाडौँ टेक्दा जुन स्वरुप पाए त्यो बदलिँदै गएको छ । काठमाडौँको पुरानो सडक, गल्ली र बजारलाई पाउँदैनन् ।

काठमाडौँ बदलिए जस्तै उनको पनि जीवन र दैनिकी बदलिएको छ । काठमाडौँका गल्ली, सडक र नेतृत्त्व पनि बदलियो । राजिनन्दको जीवनमा बदलाव आइसकेको छ ।

उनलाई काठमाडौँका गल्ली- गल्लीमा हिड्न साइकलले साथ दिएको छ । साइकलको पछाडि बोरा राख्छन् । उनको दैनिकी गल्लीमा कवाडी खोज्दै बित्छ । १२ घण्टाको समय गल्ली- गल्लीमा कवाडी खोज्दै बित्ने गरेको यादव बताउँछन् ।

प्लाष्टिकका बोतल,भाँडाकुडा, फलाम र पुराना-पुराना इलेक्ट्रोनिक्स सामान उनको खोजीमा पर्छन् । दिनभर खोजेका सामग्री कवाडी भण्डार केन्द्रमा लैजान्छन् । कुनै दिन पाँच सय रुपैयाँ पनि कमाइ नहुने हो कि भनेर उनलाई चिन्ताले सताउने गर्छ ।

‘घुम्नका लागि काठमाडौँ आएको थिए । आफन्त यतै भएकाले कवाडी संकलनको काम गर्न थाले,’ उनले भने,’  घुम्ने र मिलेमा कवाडी पसल राख्‍ने सोच पनि मनमा राखेको थिए । पसल नराखे पनि कवाडीको काम गरिरहको छु ।‘

नक्साल, कमलपोखरी, दरबारमार्ग र बागबजार उनको क्षेत्र हो । कोही बेला बिहानभरी घुम्दा पनि सामग्री नभेटेको तीतो अनुभव उनीसँग छ । बिहानै बाहिर निस्कँदा सामान पाउँदा आफूलाई काम गर्न जाँगर चल्ने यादवले बताए ।

‘घरमा बिहानै देखि सफाइ गर्ने मानिसहरू निस्के भने हामीले सामान भेट्ने गरेका छौ,’ उनी भन्छन्,’ धेरै जसो सामान पुस्तक पसल र इलेक्ट्रिक पसलबाट पाउने गरेका छौ ।‘

कवाडी संकलन गरेर राजिनन्दले दैनिक ५ सयदेखि २ हजार कमाइ गर्छन् । उनको मासिक ३० हजार आम्दानी छ ।

उनी कवाडी मात्र संकलन गर्दैनन् । काठमाडौँको संस्कृति र मानिसका मनहरू पनि पढ्ने गर्छन् । काठमाडौँले उनलाई गरेको विश्वास सबैभन्दा धेरै मनपर्छ । काम गर्न र सम्मानसाथ बाँच्‍न पाएको अनुभव उनले सुनाए । यहाँ आएपछि जीवन संघर्ष र यात्रा रहेछ भन्ने उनले बुझेका छन् ।

‘यहाँका मानिसले हामीलाई विश्वास र सम्मान गरेर काम गर्न पाएको जस्तो लाग्छ,’ उनले दरबारमार्गको सडकपेटीमा साइकल अड्याउँदै भने,’ यहाँ पाउने धेरै कुराहरू तराईमा पाउन सकेका छैनौ । हाम्रोमा अझै पनि मानिसले विश्वास गर्ने चलन छैन ।‘

२२ वर्षीय राजिनन्दले कक्षा १० बाटै पढाइको बिट मारेका छन् । तराईको गर्मीले जसरी पोल्छ । उनको जीवन परिवारलाई पनि अशिक्षा र गरिबीले पोल्यो । उनको स्कुले पढाइ पनि गरिबीकै कारणले पूर्ण विराम लगायो । पढाइलाई निरन्तरता दिन मन हुँदाहुँदै पनि पुरा गर्न नसकेको उनले बाध्यता खुलाए ।

उनले स्वदेशमै कवाडी सम्बन्धी व्यवसाय गर्ने सोच बनाएका छन् । ‘काठमाडौँमा धेरै कवाडी पाइने भएकाले यतै कवाडी संकलन केन्द्र खोलुम भनेर योजना बनाएको छु,’ उनले सुनाए ।

उनी काठमाडौँ महानगरपालिकाले कवाडी व्यवसायीलाई कस्तो व्यवहार गर्छ त्यसको प्रतिक्षामा छन् । महानगरले कवाडी व्यवसाय, साना- साना व्यवसायीलाई गरेको व्यवहार पनि उनले नजिकबाट नियालिरहेका छन् ।

‘एक जनालाई नराम्रो गर्दा सय जनालाई राम्रो हुन्छ भने हामीले सबैलाई राम्रो र समर्थन गर्नुपर्छ,’ मेयर बालेन शाहले गरेको कामलाई मौन समर्थन गर्दै भन्छन्,’  महानगर राम्रो भएमा हामी जस्तो मानिसलाई काम गर्न राम्रो हुन्छ भनेर आशा गरेको छु । काम गरेर खानेको लागि यहाँ राम्रो वातावरण बन्छ भन्ने आशा गरेको छु ।‘

राजिनन्दका गाउँका धेरै युवा साथीहरू वैदेशिक रोजगारीमा छन् । उनलाई साथीहरूले आउन भनेर अनुरोध गरे । साथीका कुराहरू सुनेर पनि नसुने झै गर्दै आएका छन् । उनले वैदेशिक रोजगारी नजाने र यतै आफ्नो काम गर्ने योजना बनाएका छन् ।

मधेशका राजिनन्दले बागमती प्रदेशमा बसेर राजनीतिमा पनि चासो राखेका छन् । उनले बागमतीको सिकाइ मधेशमा लागु गर्ने छन् । काठमाडौँमा आफैँबाट मधेशको प्रतिनिधित्त्व छ भनेर उनले बुझाइरहेका छन् । उनले यहाँको माहोल देखेर र बसेर पनि स्वतन्त्र उम्मेदवार बन्न पाइने जानिसकेका छन् । आगामी स्थानीय निर्वाचनमा गाउँमै गएर उनले स्वतन्त्र उम्मेदवार बन्ने सोच पालेका छन् ।

‘स्वतन्त्र उम्मेदवार बनेर वडाअध्यक्ष बन्ने सपना बनाएको छु,’ मेयर बालेनले स्वतन्त्र उम्मेदवार बनेर विजयी भएपछि को त्यो क्षण सम्झदै भन्छन्,’ आफ्नो वडाको विकास, शिक्षा र स्वास्थ्यको विकास गर्न पनि उम्मेदवार बन्नेछु ।‘

गुणस्तरीय शिक्षा, सुन्दर सहर र सबैलाई स्वास्थ्यको पहुँचमा पुर्‍याउने सोचाइ राखेर उम्मेदवारीको तयारी गरिरहेका छन् । एक जना राम्रो उम्मेदवार विजयी भएपछि के के सम्म गर्न सक्छन भन्ने काठमाडौँबाट सिकेको उनको भनाइ छ ।

गाउँका स्थानीय र साथीहरूबाट पनि राम्रो सल्लाह पाइरहेको उनी बताउँछन् । स्वतन्त्र उम्मेदवारबाट विजयी भएका मेयर बालेनले कवाडी व्यवसायीलाई काम गर्ने वातावरण बनाइदिए अझ राम्रो हुने राजिनन्दले बताए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x