समाज

नवराज विकको मुद्दामा अन्तिम सुनुवाइ : पीडिततर्फका वकिलको बहस सकियो

इकागज |
मंसिर १८, २०८० सोमबार १७:२१ बजे

काठमाडौँ- अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दामा जारी अन्तिम सुनुवाइमा पीडिततर्फका वकिलहरूको बहस सकिएको छ । आइतबारदेखि रुकुम जिल्ला अदालत (रुकुम पश्चिम) मा सुरु भएको सुनुवाइमा सोमबार थप ६ जना वादी पक्षका वकिलहरूले बहस गरेसँगै पीडिततर्फका वकिलहरूको बहस सकिएको हो । 

अदालतका सूचना अधिकारी गोविन्द अधिकारीले आजको सुनुवाइमा वादीतर्फबाट थप ६ जना र प्रतिवादीतर्फबाट एक जना वकिलले बहस गरेको जानकारी दिए । ‘आज जाहेरी पक्षबाट ६ जना र प्रतिवादी पक्षबाट एक जना वकिलले बहस गर्नुभयो । योसँगै वादीतर्फका हिजो र आज गरी सम्पूर्ण १५ जनाले बहस गरे,’ उनले इकागजलाई जानकारी दिए, ‘अब प्रतिवादीतर्फका बाँकी ३ जना वकिलले भोलि बहस गर्नेछन् ।’ उनका अनुसार बुधबारसम्ममा फैसला आउने सम्भावना प्रबल छ । 


सुनुवाइको पहिलो दिन पीडिततर्फबाट ९ जना वकिलले बहस गरेका थिए ।

१० जेठ २०७७ सालमा जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीसहित मल्ल थरकी प्रेमिकासँग विवाहको कुरा गर्न रुकुम पश्चिमको चौरजहारी पुगेका थिए । दलितले ठकुरीकी छोरीको हात माग्न आएको भन्दै गाउँलेहरूले विकसहित उनका साथीहरूलाई लखेटी लखेटी हत्या गरेका थिए । उक्त घटनामा ६ जनाको हत्या भएको थियो । 

उक्त घटनामा चौरजहारीको सोती गाउँका ३४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको सजाय मागदाबी गरिएको छ । यो घटनाका अभियुक्तमध्ये २३ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो भने २ जना बालकसहित ११ जनालाई तारेखमा छोडिएको थियो ।


Author

थप समाचार
x