समाज

भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन

इकागज |
मंसिर १५, २०८० शुक्रबार २२:१ बजे

फाइल तस्बिर

त्रिवेणी (रुकुम पश्चिम)- रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-१४ जामिरकोट टाकुराकी कक्षा ८ मा अध्ययनरत सिन्दु मल्ल सधैं झैँ विद्यालय आउँछिन् । उनले अध्ययन गर्ने विद्यालयको नाम हो, जनविकास माध्यमिक विद्यालय ।

विद्यालय नजिकै भएकाले सिन्दुलाई अध्ययनको लागि विद्यालय आउन समस्या छैन, यही मङ्सिर ४ गते विद्यालय सञ्चालन भएदेखि नै उनी नियमित विद्यालय आएको बताउँछिन् । तर, उनलाई न घर न विद्यालय जहाँ भए पनि भूकम्पको त्रास भने अझै हटिसकेको छैन । 


गत कात्तिक १७ गते राति गएको भूकम्पको झलझली याद आउने गरेको सिन्दु सुनाउँछिन् । पढ्न लेख्न मन नलाग्ने र भूकम्पकै डरत्रास हुने गरेको विद्यार्थीहरूले बताउँदै आएका छन् । कक्षा ५ मा अध्ययनरत विपीन मल्लको पनि समस्या सिन्दुको भन्दा फरक छैन । विद्यालय नियमित आउने गरे पनि पढ्नलेख्न मन नलाग्ने, विद्यालयमै अध्ययनरत साथी गुमाउनुको पीडा बेलाबेला सम्झिँदा झन् चिन्ता लाग्ने गरेको विपीन बताउँछन् ।

अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठन सुरु भए पनि जाडोको  समस्या हुने गरेको कक्षा ८ मा अध्ययनरत पुस्तक चन्दको गुनासो छ । सिकाइ केन्द्रमा बसाइँ व्यवस्थापन तथा अध्ययन गर्न पनि असहज हुने गरेको विद्यार्थी बताउँछन् । जनविकास माध्यमिक विद्यालयमा हाल सात वटा अस्थायी सिकाइ केन्द्र स्थापना गरेर पठनपाठन सुरु गरिएको छ । 

अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सुरु भए पनि विद्यार्थीको व्यवस्थापन तथा सिकाइमा समस्या हुने गरेको प्रधानाध्यापक दीपकसङ्गम थापाले बताए । उनका अनुसार गत कात्तिक १७ गते राति गएको भूकम्पले दुई वटा विद्यालयका आठ वटा कोठा पूर्ण रूपमा ध्वस्त बनाएको छ । बाँकी तीन वटा विद्यालयका भवन पनि बस्न नमिल्ने गरेर चिराचिरा परेका छन् ।

हाल विद्यालयमा बालशिक्षादेखि कक्षा १० सम्म पठनपाठन भइरहेको छ । भूकम्पका कारण सोही  विद्यालयमा  अध्ययनरत तीन जनाले ज्यान गुमाउनु पर्‍यो । विद्यालयले मानवीय क्षतिसँगै भौतिक संरचनाको पनि क्षति बेहोर्नुपरेको प्रधानाध्यापक थापा बताउँछन् । प्रअ थापाका अनुसार कक्षा ८ मा अध्ययनरत १४ वर्षीया प्रेमा मल्ल, सोही कक्षामा अध्ययनरत १४ वर्षकै विराज मल्ला र कक्षा ५ मा अध्ययनरत ११ वर्षीया चन्द्रकला खड्काको मृत्यु भयो । 

साथीको मृत्यु, भूकम्पको डर त्रासले विद्यार्थी झन् एकोहाेरो हुने, पढ्न मन नगर्ने, विद्यालयमा उपस्थित भएको केही समयमै घर जान खोज्ने, टोलाउनेजस्ता समस्या विद्यार्थीमा हुने गरेको प्रअ थापाको भनाइ छ । विद्यालयमा लामो समयसम्म बस्न मन नगरेपछि केही समय मनोसामाजिक परामर्श दिएर घर पठाउने गरिएको छ । विद्यार्थी पुरानै लयमा फर्किन करिब अझै एक महिना लाग्ने उनको भनाइ छ ।

पाठ्यक्रमको विषयवस्तुभन्दा पनि विद्यार्थीको मनोबल बढाउन अन्य बाह्य कुरा सिकाउने गरिएको छ । सामान्य खालको मनोसामाजिक परामर्शले विद्यार्थीलाई नपुग्ने भएका विशेषज्ञबाट मनोसामाजिक परामर्श आवश्यक रहेका प्रअ थापाले बताए । विद्यालयमा भूकम्पकै कारण खानेपानीको पनि समस्या रहेको छ । विद्यालयलाई केही सङ्घ संस्थाले सहयोग गरे पनि विद्यार्थीका शैक्षिक सामग्री, चिसोको लागि न्यानो कपडा आवश्यक रहेको शिक्षक सुनिल मल्लले जानकारी दिए ।

उनका अनुसार विद्यालयमा तीन सय १५ विद्यार्थी सङ्ख्या रहेकामा कमै विद्यार्थी विद्यालय आउने गरेका छन् । भूकम्पको त्रासका कारण विद्यार्थीको सङ्ख्या न्यून देखिएको उनको भनाइ छ । भूकम्पले विद्यालय भवनमा क्षति पुर्‍याएपछि आठबीसकोट नगरपालिकामा एक सय ३९ अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन भइरहेको छ । भूकम्पपछि विद्यालयमा पनि अस्तव्यस्त भएकाले विद्यार्थीलाई पुरानै लयमा ल्याउनको लागि अस्थायी सिकाइ केन्द्र तथा खुल्ला चउरमा राखेर सामान्य खालको पठनपाठनसँगै मनोसामाजिक परामर्श दिने गरिएको आठबीसकोट नगर प्रमुख रवि केसीले जानकारी दिए । 

भूकम्पले विद्यालयमा क्षति पुर्‍याएपछि तत्कालको लागि छुट्टाछुट्टै कक्षा सञ्चालन गर्न नसकिएको र बहु कक्षामार्फत विद्यार्थीलाई सिकाइ सहज बनाएको उनको भनाइ छ । विद्यार्थीलाई  पूर्ण रूपमा पुरानै लयमा फर्काउन अझै एक महिना मनोपरामर्श सेवा आवश्यक पर्ने उनले बताए । 'यही मङ्सिर ४ गतेदेखि विद्यालय सञ्चालनमा आए पनि पठनपाठन प्रभावकारी हुनसकेको छैन, प्रभावकारी बनाउनेतर्फ लागि परेका छौँ, पुरानै लयमा विद्यार्थी फर्किसकेका छैनन् । अझै केही समय लाग्छ । विद्यार्थी पुरानै लयमा फर्किएपछि पठनपाठन प्रभावकारी हुन्छ । जाडो तथा अन्य मेलापर्वमा हुने बिदा कटाएर विद्यार्थीको कोर्ष पूरा गर्ने योजना बनाएका छौँ,' नगर प्रमुख केसीले भने । 

हाल जिल्लाभर दुई सय १३ अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सञ्चालन भइरहेको शिक्षा विकास समन्वय इकाइ प्रमुख ताराप्रकाश पुनले जानकारी दिए । उनका अनुसार जिल्लाभर एक सय आठ विद्यालयका पाँच सय ४४ कक्षा कोठामा क्षति पुगेको छ । त्यस्तै ३८ वटा शौचालयमा पनि क्षति पुगेको प्रमुख पुनले जानकारी दिए । सामाजिक विकास कार्यालयका अनुसार जिल्लामा भूकम्पका कारण १८ जना विद्यार्थी र एक जना विद्यालय कर्मचारीको मृत्यु भएको छ भने एक जना विद्यार्थी र एक जना शिक्षक घाइते भएका छन् । 

भूकम्पका कारण एघार हजार नौ सय ५२ विद्यार्थी प्रभावित भएका छन् । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण  विद्यालय भवन क्षति पुर्‍याएपछि रुकुम पश्चिम र जाजरकोटमा हजारौँ विद्यार्थी अस्थायी सिकाइ केन्द्र तथा खुल्ला चउरमा बसेरै पठनपाठन गर्न  बाध्य छन् । रासस


Author

थप समाचार
x