समाज

वेश्यावृत्तिमा लगाउने स्पा सेन्टर सञ्चालक पक्राउ

इकागज |
मंसिर १२, २०८० मंगलबार १३:५३ बजे

सांकेतिक तस्बिर

काठमाडौँ- रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–९ रातोपुलस्थित नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक सङ्खुवासभा चिचिला गाउँपालिका–१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको हो । साथै सेन्टरबाट दुई नाबालिका र एक युवतीलाई प्रहरीले उद्दार गरेको छ ।


स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाई यौन शोषण गर्ने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पौडेललाई पक्राउ गरेको हो । 

युवतीहरूलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी स्पा सेन्टरमा बोलाउने गरेको, मसाजका साथै शारीरिक सम्पर्क राख्न दबाब दिने गरेको र पौडेलले भने अनुसारको काम गर्न नमानेमा शारीरिक तथा मानसिक यातना दिनुको साथै अश्लिल फोटो तथा भिडियो सामाजिक सञ्जालमार्फत आफन्तलाई पठाइदिने जस्ता डर त्रासमा पार्ने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

रातोपुल र एयरपोर्ट नजिकै रहेका पौडेलका दुई वटा स्पा सेन्टरमा काम गर्ने युवतीलाई आलोपालो एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेको प्रहरीको भनाइ छ । 

पौडेललाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन म्याद थप अनुमति लिई गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रासस


Author

थप समाचार
x