समाज

कैलालीकाे डिलासैनी क्लिनिकमा बालकको मृत्यु, उपचारमा संलग्न व्यक्तिसहित सञ्चालक पक्राउ

इकागज |
कात्तिक २९, २०८० बुधबार १३:३२ बजे

कैलाली- कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित डिलासैनी क्लिनिकमा उपचारका लागि लगिएका एक बालकको मृत्यु भएको छ ।

बालकको मृत्युपछि प्रहरीले उपचारमा संलग्न व्यक्तिसंगै क्लिनिक सञ्चालक पक्राउ गरेको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–५ गेटाका भरत ऐरका चार वर्षीय छोरा सम्राट ऐर रहेका छन् ।


उनलाई सुई लगाउने धनगढी उपमहानगरपालिका-१३ श्रीलंकाका नविन धामी र क्लिनिक सञ्चालक दिनेश धामीलाई प्रहरीले पक्राउ गरेको छ । दिनेशले आफ्नो अनुपस्थितिमा भाइ नविनलाई सुई लगाउन अह्राएका थिए ।

ज्वरो आएपछि उपचारका लागि बुधबार साँझ ६:३० बजे क्लिनिक लगिएका ऐरको क्लिनिक सञ्चालक दिनेश धामीका भाइ नविन धामीले सुई लगाएपछि मृत्यु भएको थियो । सुई लगाएपछि अचेत भएका ऐरलाई धामीले स्कुटरमा राखेर तत्काल माया मेट्रो अस्पताल पुर्‍याएका थिए । 

त्यहाँ पुर्‍याउनुअघि नै बालक ऐरको मृत्यु भइसकेको थियो । बालकसंगै अस्पताल पुगेका आफन्तहरूले धामीलाई कुटपिट समेत गरेका छन् । प्रहरीले धामीलाई कुटाइ खाँदै गरेको अवस्थामा उद्धार गरेर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले बताए ।


Author

थप समाचार
x