समाज

बुुद्धिसागरले सार्वजनिक गरे ‘उसले दिएको उमेर’

इकागज |
असोज २१, २०८० आइतबार १७:९ बजे

काठमाडौँ- लेखक बुद्धिसागरको संस्मरणात्मक पुस्तक ‘उसले दिएको उमेर’ सार्वजनिक गरेका छन् । लेखक बुद्धिसागरले डिजिटल माध्यमबाट पुस्तक सार्वजनिक गरेका छन् । उपन्यास ‘एक्लो’ प्रकाशन भएको नौ महिनापछि लेखक बुद्धिसागरले नयाँ कृति सार्वजनिक गरेका हुन् ।

‘एउटा पुस्तक प्रकाशन भएपछि नयाँ पुस्तक कहिले आउँछ भनी पाठकहरूले प्रश्न गर्ने गर्नुहुन्छ । यसअघि मैले दुई तीन वर्षपछि अर्को पुस्तक ल्याउने गर्थें । तर, यसपालि मैले आफैँलाई मनपरेका मेरा केही संस्मरणलाई यो पुस्तकमा उतारेको छु,’ लेखक बुद्धिसागर भन्छन्, ‘यो उपन्यास, कविताभन्दा पनि मेरो जीवनका केही स्मृति हुन्, जसलाई म मेरा पाठकहरूसँग साझा गर्न चाहन्छु ।’


पुस्तक ‘उसले दिएको उमेर’ मा पनि बुद्धिसागरका स्मृति पढ्दा पाठक आफ्ना पूर्वस्मृतिसम्म पुग्ने प्रकाशक फाइनप्रिन्टले जनाएको छ ।

एउटा मानिस यत्तिकै उमेरका खुट्किला उक्लिँदैन । उसले अनेक तीतामीठा घटनाका जङ्घार तर्नुपर्ने हुन्छ । पुस्तक ‘उसले दिएको उमेर’मा पनि त्यस्तै जङ्घार छन्, जो सबै मानिससित गाँसिन्छन् । लेखक भन्छन्, ‘साइकिल सिक्दा गोडामा लागेका खत अझै छन् । सोच्छु— हरेक सिकाइका खत कहीँकतै रहिरहन्छन्, कुनै देखिन्छन्, कुनै देखिँदैनन् ।’  तसर्थ यो पुस्तक लेखकको स्मृति मात्र होइन, उनले सुनाउन चाहेका खत हुन् ।

बुद्धिसागरको पाँचौं कृति हो, ‘उसले दिएको उमेर’ । कैलालीमा जन्मिएका बुद्धिसागरको किशोरावस्था कालीकोटको मान्ममा बितेको हो । ०६० सालको राष्ट्रिय कविता महोत्सवमा स्वर्णपदक जितेका उनले ०६६ सालमा नेपाल सरकारबाट प्रतिभा पुरस्कार प्राप्त गरेका छन् । सन् २०१९ मा इन्टरनेसनल राइटिङ प्रोग्रामका मानार्थ फेलो रहेका उनको पुस्तक ‘कर्नाली ब्लुज’को अङ्ग्रेजी अनुवाद सोही नाममा प्रकाशित छ । उनका ‘फिरफिरे’ र ‘एक्लो’ उपन्यास अनि कवितासंग्रह ‘बुद्धिसागरका कविता’ फाइनप्रिन्टबाटै प्रकाशित छन् ।


Author

थप समाचार
x