समाज

गौ हत्याविरुद्ध जनकपुरधाममा विराेध प्रदर्शन

सुभाष कर्ण |
असोज १२, २०८० शुक्रबार १७:५८ बजे

जनकपुरधाम- गौ हत्याको विरोधमा जनकपुरधाममा विरोध र्याली प्रदर्शन गरिएको छ । विश्व हिन्दु परिषद् तथा विभिन्न मठ मन्दिर र संघ संस्थाको आयोजनामा उक्त विरोध र्याली प्रदर्शन गरिएको हो । विरोध प्रदर्शनमा सहभागीहरूले गौ हत्या गर्नेहरूलाई कारबाहीकाे माग गरेका छन् ।

राष्ट्रिय जनावर गाईको देशव्यापी रूपमा हत्या भइरहँदा पनि सरकारले कानुन बमोजिम कारबाही नगरेकाे भन्दै साधुसन्तहरूले जनकपुरधाममा विशाल विरोध प्रदर्शन गरेका हुन् । देशैभरी श्रृंखलाबद्ध रूपमा गाईको हत्या भइरहेकोमा साधुसन्त, विभिन्न संघ संस्थाहरूको जनकपुरधामको जानकी मन्दिरबाट निकालिएको विरोध र्याली नगरको विभिन्न भागको परिक्रमा गर्दै राम मन्दिर पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीका क्रममा गौ हत्या बन्द गर, गौ हत्या गर्नेलाई फाँसी दे, हिन्दु राष्ट्र कायम गर लगायतका नाराहरू लगाइएको थियो ।


र्यालीमा सहभागी जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले गौ हत्या भइरहँदा समेत सरकार चुप्प लागेर बसेकाले साधुसन्तसहित शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिनु परेको बताए । उनले भने, ‘आज हामीले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छौँ, अब पनि गौ हत्या तथा सामाजिक सद्भाव खलबलाउने कार्य नरोकिए कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुनेछौँ ।’ शान्तिपूर्ण विरोध प्रदर्शनबाट पनि सरकारले नसुने आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार नेपाल सरकार आफैँ हुने उनले बताए ।

विरोध र्यालीमा सहभागी भएका धरानस्थित मन्दिरका महन्थ आचार्य श्रीनिवासले सनातन धर्ममाथि प्रहार गर्ने श्रृंखला नरोकिए यो नेपाल सरकार पनि बाँकी नरहने चेतावनी दिए । उनले ८४ प्रतिशत हिन्दु धर्मावलम्बीहरू रहेको देशमा हाम्रो हिन्दु धर्म बनाई दिनुस, गौ माताको रक्षा गरिदिनुस भनेर गुहार गर्नु परिरहेकाे दुखेसो पोख्दै हिन्दु धर्ममाथिको प्रहार नरोकिए सरकारविरुद्ध काठमाडौँमा एक लाखभन्दा बढी हिन्दु धर्मावलम्बी उतार्ने चेतावनी दिए ।

उनले अब पनि सरकार यो क्रम रोक्न कडा कानुनी कारबाही गर्न तयार भएन भने साधुसन्तहरू समेत भौतिक क्षति पुर्याउन पनि पछाडि नपर्ने बताए । अब पनि नेताहरू चुप्प लागेर बसे नेपाली सनातनीहरूले नेताहरूलाई लखेटी लखेटी भगाउने चेतावनी दिए ।  आचार्य श्रीनिवासले यूरोपियन डलरको सहयोगमा हिन्दु राष्ट्र समाप्त पारेर ल्याएको धर्मनिरपेक्षले देशलाई बरबाद पार्न लागेको आरोप लगाए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x