समाज

खुकुरी प्रहारः जनतालाई पर्दा बिर्सन्छन्, नेतामाथि परेपछि बन्छ बहसको विषय !

अतिन आचार्य |
भदौ २१, २०८० बिहीबार १५:५४ बजे

काठमाडौँ-  बुधबार दिउँसो काठमाडौँको रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र राय यादव बोल्न पुगे । उनको बोल्ने पालो आएपछि पोडियमतर्फ गए । समसामयिक विषयमा बोलिसकेपछि पुनः आफ्नै स्थानमा गएर बसे ।

यादवसँगै अन्य राजनीतिक दलका नेताहरू पनि पुगेका थिए । राप्रपाका महामन्त्री धवल शमशेर राणा पनि सँगै थिए । रिपोर्टस क्लबको हलमा विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मी तथा सर्वसाधारणको पनि उपस्थिति थियो ।


कार्यक्रम हलमा थिए नुवाकोटका श्यामबहादुर सापकोटा पनि । उनलाई यादव बोलेको चित्त बुझेन । त्यसैले उनले प्रश्‍न पनि गरे।

कांग्रेस सरकारले देशका कलकारखाना बेचेको आरोपसहित सापकोटाले यादवलाई प्रश्‍न सोधे । तर, यादवले प्रश्‍नको जवाफ दिएनन् । प्रश्‍नको जवाफ नपाएपछि उनी रिसाएका थिए । 

सभाहलबाट कार्यक्रम सकाएर बाहिर निस्कँदै गर्दा सापकोटाले कांग्रेसका सह-महामन्त्री यादवको टाउकोमा खुकुरी प्रहार गरे । प्रश्‍नको जवाफ नपाएको रिसमा उनले खुकुरीको धार यादवकाे टाउको पछाडि हाने । यादवलाई चाेट लाग्याे । तुरुन्तै अस्पताल लगियाे । उता सापकाेटालाई प्रहरीले पक्राउ गर्‍याे ।

पछिल्लो समय राजनीतिक दल र नेताप्रति मानिसको विकर्षण पैदा हुनु यादवमाथि भएको खुकुरीलाई मान्न सकिन्छ ।

र, यसरी राजधानीकाे केन्द्रमै हाईप्राेफाइन नेतामाथि दिउँसै खुकुरी प्रहार हुनुले उपत्यकाकाे शाान्ति सुरक्षामासमेत प्रश्न उठेकाे छ ।

कतिपयले मानिसले देशको राजनीतिक प्रणाली र समग्र सामाजिक अवस्थाकै कारण मानिसमा मानवीय स्वभावमा उतारचढाव आउन थालेको बताउन थालेका छन् । नेतृत्वप्रति नैराश्यता, राजनीतिक दलप्रति वितृष्णा, बढ्दो मँहगी, बेरोजगार र युवामा छाएको नैराश्यतालाई पनि एक कारण मान्न मानि थालिएको छ ।

अहिले धेरै मानिस आक्रोश बोकेर हिँडेका छन् । आक्रोशलाई शान्त पार्नेभन्दा पनि झन आक्रोश थप्ने गतिविधि भइरहेको जनताले मान्‍न थालेका छन् । समस्याको समाधान आक्रोश नभए पनि समस्या कहाँनेर छ त्यसको निराकरण गर्नुपर्ने समय आएको छ । समाजमा आपराधिक मनोवृत्तिका घटनाको उपज समग्र राजनीतिक प्रणालीलाई जिम्मेवार ठहर्‍याउन जानकारहरू बताउँछन् ।

समाजशास्त्री निर्मला ढकालले भृकुटीमण्डपमा यादवमाथि भएको खुकुरी प्रहारलाई लक्षित गरी सामाजिक सञ्‍जाल एक्समा आक्रोश सत्य हो तर खुकुरी लिएर काट्न हिँड्नु गलत रहेको बताएकी छन् ।

‘समय सक्यो, पुराना दल र नेता बचेर हिँड्नु होला । भीड अनियन्त्रित छ । जे रोपियो उसैको फल देखिँदै छ,’ उनले भनेकी छन् । उनले समयमै देश नछाडेर गल्ती भएको पनि बताएकी छन् |

प्राध्यापक प्रेम चलाउनेले पनि कांग्रेस सह महामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणप्रति आपत्ति जनाएका छन् । उनीमाथि पनि केही समय विश्वविद्यालय हातामा सांघातिक हमला भएको थियो ।

कांग्रेसका सबै नेताले यसको निन्दा गरेको र निन्दा पनि हुनुपर्ने उनको ठहर छ ।  ‘मेरो घटनामा लाजै नमानी अपराधीको बचाउ गर्ने कतिपय कांग्रेस नेता र हालका कानुन मन्त्रीसँग यस्तो अपराधको विरोध गर्ने नैतिकता छ?,’ उनले प्रश्‍न गर्दै भनेका छन् ।

त्यसैगरी, बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसद तथा का‌ंग्रेसमा महामन्त्री गगनकुमार थापाले सहमहामन्त्री माथि खुकुरी प्रहार भएको आवाज उठाएका छन् । सन्काहाले सन्काहामा हान्यो भनिँदैछ, घटना थामथुम पारिँदैछ । यो घटना किन र कसरी भयो, राम्रोसँग अनुसन्धान होस्,' थापाले भने । 

संविधानसभा सदस्य सदस्य सार्वजनिक कार्यक्रमबाट सहभागी भएर फर्किँदै गर्दा ऊ सुरक्षित छैन भने प्रधानमन्त्री र गृहमन्त्रीलाई यसले पोल्नुपर्छ कि पर्दैन भनेर उनले प्रश्न गरे । ‘गृहमन्त्रीलाई सोध्न चाहन्छु एक्लै हिँड्न नमिल्ने हो ? कोही जलाउँछु भन्छ, कोही दिउँसै खुकुरी हान्छु भन्छ,’ उनले भने ।

त्यसैगरी पूर्व डिआइजी हेमन्त मल्ल राजनीतिज्ञप्रति जनताको आम निराशा छाउनु पनि पहिलो कारण मान्न सकिने बताउँछन् । पटक-पटक राजनीतिक नेतृत्वमा आक्रमण हुनुमा अहिलेको व्यवस्था र राजनीतिकर्मीलाई नरुचाएको पनि मान्न सकिने उनले बताए ।

‘काठमाडौँ जस्तो बाक्लो सुरक्षाकर्मीको उपस्थिति हुने ठाउँमा दिन दहाडै आक्रमण हुनुलाई गलत भएको मान्न सकिन्छ,’ उनले भने,’ आपराधिक मानसिकतालाई प्रोत्साहन गर्न हुँदैन । यस्ता गतिविधिलाई रोक्न सममा राज्यका सबै निकाय समयममा सचेत र सजग हुनुपर्छ ।‘

सार्वजनिक स्थानमा व्यक्तिमाथि आक्रमण हुनुलाई अस्वभाविक मान्नुपर्ने अवस्था आएको मल्लले बताए । जनतामा राजनीतिक दल र नेतृत्वप्रति चरम असन्तुष्टि छाएकाले आक्रमणको घटना दोहोरिन थालेको उनको भनाइ छ । जनताले के खोजिरहेका छन् त्यसको सुनिश्‍चितता नेतृत्त्व र राजनीतिक दलले गर्नुपर्ने समय आएको उनले उल्लेख गरे ।

‘राजनीतिक दलले जनताको चाहना इच्छा र आकांक्षालाई पूरै बेवास्ता गरेका छन्,’ मल्ल भन्छन्,’ असन्तुष्टि किन बढिरहेको छ त्यसको मिहिन ढंगले अध्ययन हुनुपर्छ । जनताले के भन्न चाहेका र खोजेका छन् । नेतालाई आक्रमण भएपछि मात्र यसलाई बहसको विषय बनाइनु हुन्न ।‘


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x