समाज

आफ्नै कमीकमजोरीले कर्मचारी तथा जनप्रतिनिधि फस्ने गरेका छन् : अख्तियार

सुभाष कर्ण |
भदौ १९, २०८० मंगलबार २१:५० बजे

जनकपुरधाम- अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रतिनिधि डा. कृष्णप्रसाद हुमागाईंले स्थानीय तह जनप्रतिनिधि र कर्मचारीहरू आफ्नै कमीकमजोरीका कारण भ्रष्टाचार आरोपमा फस्ने गरेको बताएका छन् ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासद्वारा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख हुमागाईंंले यस्तो बताएका हुन् ।


उनले स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूले खरिद प्रक्रिया, लागत इस्टिमेट, सामान प्रयोगसहितका मापदण्ड पूरा, काम अनुसारको कागजी प्रक्रिया पूर्ण रूपमा पूरा र आफ्नो पदीय दायित्व अनुसार काम गरेको खण्डमा जति उजुरी परे पनि अख्तियारमा नफस्न उल्लेख गरे ।

वडाध्यक्ष र उपप्रमुखसहितका जनप्रतिनिधिले योजनामा काम गर्ने भएकाले आफ्नो पदीय दायित्व पूरा गर्न उनले सुझाव दिए ।

उनले भने, 'प्रतिनिधि हुमागाईंले वडाध्यक्षले सिफारिस मात्र गर्ने हो न कि त्यसको भेरिफिकेसन गर्ने हो, यस्तै उपप्रमुखले अनुगमन गरी प्रतिवेदन कार्यपालिका बोर्डमा प्रस्तुत गर्ने हो राम्रो नराम्रो भेरिफिकेसन गरी भुक्तानीका लागि सिफारिस गर्ने होइन । तर, यहाँ त यिनीहरूले आफ्नो पदीय मर्यादा बिर्सेर भेरिफिकेसन गर्ने गरेको कारण यिनीहरूविरुद्ध अधिकांश उजुरी पर्ने परेको हो ।'

कार्यक्रमको सहकार्य गरेका जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले एउटा/एउटा योजनाको छानबिन गरेर कर्मचारीलाई काम गर्न समस्या भइरहेकाले एउटै उजुरीका आधारमा सबै योजनाको छानबिन गर्दा हुन्छ भन्दै यति परेशान गर्नुभन्दा बेश त स्थानीय तहमा अख्तियारको एउटा कर्मचारी नै राखिदिए हुन्छ भनी कटाक्ष गरे ।

कार्यक्रममा सहभागी कर्मचारी तथा जनप्रतिनिधिहरूले बेनामी उजुरीका आधारमा अख्तियारले केरकार गर्ने गरेको र छानबिनका क्रममा मागेको जवाफ पठाएपछि छिनोफानो नगरी लामो समयसम्म अल्झाएर थप पिडा दिने गरेको गुनासो गरेका थिए । अन्तरक्रियामा सहभागीहरूले जनप्रतिनिधि समेतलाई आफ्नो काम, कर्तव्य, अधिकार र दायित्वबारे तालिम दिइएमा कर्मचारीलाई काम गर्न सहज हुन सक्ने बताएका थिए ।

कार्यक्रममा अधिकांश कर्मचारी अख्तियारलाई बेनामी उजुरीको भरमा केरकार​ नगरी काम गर्न वातावरण सहज बनाउनमा सहयोग गर्न आग्रह गरेका थिए । जनप्रतिनिधि समेतलाई आफ्नो काम, कर्तव्य, अधिकार र दायित्वबारे तालिम दिइएमा कर्मचारीलाई काम गर्न सहज हुन सक्ने अन्तरक्रियामा सहभागीहरूले सुझाव दिएका थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x