समाज

मिटरब्याज पीडितहरूले घेरे प्रशासन कार्यालय

सुभाष कर्ण |
भदौ १७, २०८० आइतबार २१:४३ बजे

जनकपुरधाम- प्रशासनविरुद्ध मिटरब्याज पीडितहरूले विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ गरेका छन् । मिटरब्याज पीडित संघर्ष समिति धनुषाका अध्यक्ष राजाराम यादवको अगुवाइमा मिटरब्याज पीडितहरूले जनकपुरधाममा प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा उत्रेका मिटरब्याज पीडितहरूले मिटरब्याजी संरक्षक प्रशासक मुर्दावाद, निषेधाज्ञा खारेज गर, मिटरब्याजीलाई पक्राउ गरी कारबाही गर, १० प्रतिशतभन्दा बढी ब्याज लिन पाइँदैन लगायतका चर्को नाराबाजी गरेका छन् ।


जनकपुरधामस्थित मण्डल कुट्टीबाट निस्केको विरोध जुलुस नगरको विभिन्न भागमा परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर घेराउ गरेका थिए । ती मिटरब्याज पीडितहरूले ८ सुत्रीय मागसहित ज्ञापन पत्र समेत जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन् ।

उनीहरूले बुझाएको ज्ञापन पत्रमा मिटरब्याज कारबाही प्रक्रियामा राजनीतिक दल र जनप्रतिनिधिहरूको हस्तक्षेप बन्द हुनु पर्ने, बिचोलियाको रूपमा काम गर्ने कर्मचारीलाई तत्काल छलफलबाट हटाउनु पर्ने, उजुरीहरूलाई अदालत, जमिन र सामान्य लेनदेनका आधारमा वर्गीकरण गरी प्राथमिकताका साथ तत्काल बहस हुनुपर्ने, छलफलको टेवल संख्या बढाएर हरेक टेबलमा संघर्ष समितिका प्रतिनिधि अनिवार्य राख्नु पर्ने माग गरिएको छ ।

यस्तै मिटरब्याजी कक्षमा पीडितलाई धम्काउने डराउने र पकाउने काम बन्द गर्नुपर्ने, मिटरब्याजीमाथि पीडितको रकम र जग्गा अविलम्ब फिर्ता गर्नुपर्ने, तीन पटकसम्म बोलाउँदा पनि नआउने मिटरब्याज पीडकहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्नुपर्ने र मिटरब्याजी उपर कानुन बमोजिम अनुचित लेनदेन जाहेरी दरखास्त दर्ता गर्नुपर्ने माग समेत गरेको छ । 

मागहरू कार्यान्वयन नभएमा थप आन्दोलनको कार्यक्रम गर्ने र त्यसबाट हुने क्षतिपूर्तिको जिम्मेवारी सम्बन्धित निकायले व्यहोर्नुपर्ने संघर्ष समिति धनुषाका अध्यक्ष यादवले चेतावनी दिएका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x