समाज

सार्वजनिक सवारीमा मास्क न सामाजिक दुरी : न चालकलाई डर न यात्रुलाई कर

सुनीता साखकर्मी |
मंसिर ७, २०७७ आइतबार ७:१३ बजे

काठमाडौं : कार्तिक २७ गते, बिहानको झन्डै साढे सात बजेको थियो । नजिकिँदै गरेको तिहार र छठ पर्व मनाउनको लागि गृह जिल्ला जान थुप्रै मानिस काठमाडौंको गौशालामा गाडी कुरिरहेका थिए । त्यही भीडमा २५ वर्षीय राज यादव पनि थिए । उनी सिरहाको औरही जाने माइक्रो कुरिरहेका थिए । एकै छिनमा माइक्रो गौशालामा आइपुग्यो । उनी चढे । तर माइक्रो चढिसकेपछि उनले जे देखे, त्यसले उनलाई अचम्ममा मात्रै लागेन, भित्रभित्रै डर पनिक लाग्यो । 

‘एकछिन अघिसम्म लगाएको मास्क, गाडी चढेपछि यात्रुहरुले धमाधम खोल्दै थिए, न मास्क, न सामाजिक दुरी, गाडीमा त केही थिएन,’ उनी भन्छन्, ‘गाडीका चालक, सहचालकले नै पनि मास्क लगाएका थिएनन् । न उनीहरुले यात्रुलाई लगाउन निर्देशन दिए । यो देख्दा डरसँगै अचम्म लाग्यो ।’


काठमाडौं देखि सिरहासम्म पुग्न राजलाई आठ घण्टा लाग्यो । सिन्धुलीको बाटो हुँदै सिरहा गएको माइक्रोलाई एक ठाउँमा मात्रै जाँच गरिएको राजले सुनाए । उनी भन्छन्, ‘कुन ठाउँ हो, त्यो याद भएन, तर एक ठाउँमा जाँच भएको थियो । त्यहाँ केही संस्थाका प्रतिनिधि र प्रहरी थिए, तर उनीहरुले केबल सीट क्षमता अनुसार यात्रु छन् वा छैनन् भनेर मात्रै हेरे, कोभिडको सुरक्षा अपनाएको छ वा छैन भनेर हेरेनन् ।’

कोभिड संक्रमण होला भनेर राजले ब्यागमा टन्नै मास्क र स्यानिटाइजर बोकेका थिए । त्यही माइक्रोमा स्वास गुम्सिने भएकाले कोभिड संक्रमण हुन सक्ने खतरा औंल्याउँदै राजले अन्य यात्रुलाई मास्क लगाउन आग्रह गरे । तर अन्य यात्रुले ‘कोरोना लागे निको भैहाल्छ, मास्क लाउनुपर्दैन’ भन्ने जवाफ पाए । कोभिड १९ को महामारीलाई त मानिसहरुले सामान्य रुपमा लिन थालिसकेको देखेर उनलाई अचम्म लाग्यो । तर राजले त यात्रा डरैडरमा बिताए । 

राज मात्रै होइन, नेपाल भरी नै सार्वजनिक यातायातमा कोभिड १९ को संक्रमणको जोखिम कम गर्न सुरक्षाको उपाय निकै कमले अपनाएका छन् । सुर्खेतबाट तिहार मनाएर ५ गते शुक्रबार काठमाडौं आइपुगेका सन्तोष रेग्मीको भोगाइ पनि राजको भन्दा फरक छैन । उनी भन्छन्, ‘गाडीका केही यात्रुले मात्रै मास्क लगाएका थिए । चालक, सहचालकले जहाँ जहाँ जाँच हुन्थ्यो, त्यहाँ-त्यहाँ मात्रै प्रहरीलाई देखाउन मास्क लगाउँथे ।’

कोभिड १९ संक्रमणको जोखिम बढेसँगै सरकारले देशमा लकडाउन लगाएको थियो । लकडाउनको समयमा अत्यावश्यक बाहेक अन्य सवारी साधन पनि ठप्प भएको थियो । सरकारले १ असोज देखि लामो दूरीको यातायात खोल्ने निर्णय गरेको थियो । त्यसपछि ५ असोजमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले ‘कोभिड-१९ प्रकोपको अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका २०७७’ बनायो र सार्वजनिक गर्‍यो । 

जसमा यातायात व्यवसायी/व्यवस्थापक/कम्पनि, सवारी चालक, सहचालक, यात्रुले पालना गर्नुपर्ने नियमहरु उल्लेखित थिए । जसमा यातायात व्यवसायी, व्यवस्थापक वा कम्पनी र चालक सहचालकले यात्रुले एकपटक प्रयोग गरेपछि सिटको सरसफाइ गराउनु पर्ने प्रावधान छ । साथै यात्रु-यात्रु बिचको सामाजिक दूरी कायम गर्नका लागि गाडीमा अधिकतम यात्रु सङ्ख्या निर्धारण गर्ने र तोकिएको सिटमा मात्र यात्रुलाई यात्रा गर्न व्यवस्था गर्ने, मास्क, पञ्जा र भाइजर लगाउने, काम सकिनासाथ लगाएका कपडा साबुन पानीले राम्ररी धुने र घाममा सुकाउने, भाडा सङ्कलन गर्दा यात्रुसँग भौतिक दूरी कायम गरि भाडा रकम फिर्ता दिन नपर्ने गरी गर्ने र बाकसमा राख्न यात्रुलाई अनुरोध गर्ने, ग्यारेजमा लगेपछि गाडीलाई निर्मलीकरण (डिसइन्फेक्सन) गर्ने लगायत नियम छ ।

त्यस्तै यात्रुको लागि पनि अनिवार्य रूपमा मास्क वा कपडाले नाक र मुख छोप्ने, र अरूले नाक र मुख नछोपेको पाएमा निजहरूलाई सतर्क गराउने अन्यथा उक्त सवारी वा स्थानमा नजाने, सवारी साधनभित्र वा सार्वजनिक स्थलमा (बस टर्मिनल वा बस बिसौनी) रहँदा कुनै पनि किसिमको खानेकुरा नखाने, गाडी चढ्दा वा ओर्लदा सामाजिक दूरी कायम गरि पङ्तिबद्ध भएर पालो पर्खने, गाडीभित्र सामाजिक दूरी कायम हुने गरि तोकिएको सिटमा मात्र बस्ने लगायत नियम छन् ।

साथै सार्वजनिक यातायात संचालन तथा यात्रु व्यवस्थापन या निर्देशिका बमोजिम भए नभएको स्वास्थ्य, तथा सुरक्षा मापदण्डको कडाई साथ पूर्ण रुपमा पालना भए नभएको अनुगमन यातायात व्यवस्था विभाग, यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीले गर्ने गराउने उल्लेख छ । तर अहिले न व्यवसायी वा चालकले नियम पालना गरेका छन्, न सवारीमा यात्रा गर्ने यात्रुले । केहीले मात्रै नियम पालना गर्ने कोशिस गरेको देखिन्छ ।

भक्तपुरको थिमीदेखि काठमाडौंको रत्नपार्कसम्म चल्ने माइक्रो चलाउँछन् चन्द्रहरि श्रेष्ठ । उनले आफ्नो माइक्रोमा सहचालक राखेका छैनन् । बिहान र बेलुकाको समयमा भने अन्य सवारीसाधनमा यात्रुहरु कोचिन्छन् । तर उनले आफ्नो गाडीमा त्यसरी राख्न चाहँदैनन् । ‘जति यात्रु आउँछन्, त्यति चढाउँछु । इच्छा हुनेले चढ्छ, नहुनेले चढ्दैन,’ उनी भन्छन्, ‘गाडीमा यात्रुलाई कोचिएर बस्न दबाब दिन्नँ ।’ बरु भक्तपुरबाट रत्नपार्क चल्ने रुटमा गाडीहरुको संख्या बढि भएकाले यात्रुहरु नै नपाउने गुनासो गर्छन् उनी ।

सबै चालक चन्द्र जस्तै छैनन् । अहिले पनि सवारी साधनमा यात्रुलाई कोचिएर बस्न दबाब दिएका गुनासो सुनिन्छन् । कोचिएर बस्न नमान्ने यात्रुलाई चालक र सहचालकले नराम्रो शव्द बोलेर गाली गर्ने समेत गुनासोहरु सुनिन्छन् । कोभिड १९ को संक्रमण यातायातबाट पनि बढ्न सक्ने सम्भावना निकै ज्यादा छ ।

जनस्वास्थ्य बैज्ञानिक डा. समीरमणि दीक्षितका अनुसार सरकार र विज्ञहरुले कोभिडबाट बच्ने मापदण्ड बताइदिएको छ, तर सार्वजनिक यातायात सञ्चालन गर्ने चालक, व्यवसायी र यात्रा गर्ने अधिकांश यात्रुले नै पालना नगरेका कारण यस्तो समस्या देखा परेको हो । दीक्षितका अनुसार यसबारे निगरानी गर्ने र नियम पालना गराउने जिम्मा नेपाल यातायात व्यवसायी महासंघको हो । ‘तर उहाँहरुले केही काम गरेको जस्तो देखिँदैन,’ दीक्षित भन्छन्, ‘यातायातमा नियम पालना नगर्नेलाई वार्निङ दिएर भएपनि पालना गर्न लगाउनु महासंघको जिम्मेवारी हो । यसमा राज्यका सुरक्षा संयन्त्र र नागरिकको पनि उत्तिकै जिम्मेवारी रहन्छ ।’

नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार संघले प्रत्येक सवारीसाधनलाई नियम पालना गर्न निर्देशन दिएको छ । तर सोही अनुरुप काम भएको छ वा छैन उनीहरुलाई थाहा छैन । ‘हामीले निर्देशन दिएका छौँ,’ उनी भन्छन्, ‘सतर्कता अपनाउने मेरो लागि हैन, त्यसैले उनीहरु आफैले नियम पालना गर्नुपर्छ ।’ 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x