समाज

गाईगोरुको हत्या गर्नेलाई कारबाहीको माग गर्दै मशाल जुलुस

सुभाष कर्ण |
भदौ ११, २०८० सोमबार २०:५२ बजे

जनकपुरधाम- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गाईगोरुको हत्या गर्नेलाई कारबाहीको माग गर्दै जनकपुरधाममा मशाल जुलुस प्रदर्शन गरेकाे छ । सोमबार साँझ राप्रपा जिल्ला कार्यसमिति धनुषाले गाईगोरुको हत्या, भ्रष्टाचारी र तस्करहरूलाई यथाशिघ्र कारबाही गर्न माग गर्दै मशाल जुलुस प्रदर्शन गरेकाे हाे ।

जिल्ला अध्यक्ष रामनरेश यादवको नेतृत्वमा जनकपुरधाम उद्योग वाणिज्य संघबाट निस्केको मशाल जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै जनक चोकमा पुगी कोण सभामा परिणत भई सम्पन्न भएको थियो ।


सो कोणसभाको सम्बोधन गर्दै राप्रपाका केन्द्रीय सदस्य सुनिल साहले ४८ घण्टाभित्र गाईगोरुको हत्या गर्नेलाई पक्राउ गरी कडा कारबाही नगरिए गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए । उनले भने, 'गाईगोरु हामी नेपाली हिन्दु धर्मावलम्बीहरूको आमासरह हुन् । हाम्रो धर्म संस्कृतिमाथि प्रहार गर्नेलाई कारबाही नगरे राप्रपा गृहमन्त्रीकै विरुद्धमा कडा आन्दोलनमा उत्रिन्छौं ।'

यस्तै जिल्ला अध्यक्ष यादवले पनि आफूहरू गाईगोरुको हत्या, भ्रष्टाचार र तस्करीविरुद्ध राप्रपा आन्दोलनमा उत्रेको बताए । उनले भने, 'देशमा भ्रष्टाचार र तस्करी फस्टाउनुका साथै गाईगोरुको हत्या गर्ने जस्ता हिन्दु धर्ममाथि प्रहार भइरहे पनि सरकार केही गर्न नसकेपछि दबाबस्वरूप आन्दोलनमा उत्रेको छु ।'

उनले अगाडि भने, 'पूर्वनिर्धारित कार्यक्रम अनुसार आज मशाल जुलुस प्रदर्शन गरेका छौं । भोलि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाउनेछौं । हाम्रो मागप्रति सरकार गम्भीर नभए कडाभन्दा कडा आन्दोलनमा उत्रने छौं ।'

उक्त विरोध जुलुसमा राप्रपाका प्रदेश सांसद कन्चन विच्छासहित जिल्ला तथा केन्द्रीय स्तरका दर्जनौं नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x