समाज

मारवाडीले आर्थिक क्षेत्र तहसनहस पारेको होइन : संगठन

इकागज |
भदौ ३, २०८० आइतबार २०:१५ बजे

विराटनगर- उद्योग संगठन मोरङले पछिल्ला दिनहरूमा मुलुकको बिग्रँदो आर्थिक अवस्थालाई लिएर निश्चित वर्ग र समुदायलाई लक्षित गर्दै गरिएका अपमानजनक र अमर्यादित टीकाटिप्पणीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपालको संविधान २०७२ ले सम्पूर्ण नेपाली नागरिकलाई स्वतन्त्र रूपमा बाँच्ने तथा उद्योग व्यवसाय गर्न पाउने अधिकारलाई मौलिक हकका रूपमा स्थापित गरेको स्मरण गराउँदै संगठनले भनेको छ, ‘सदियौंदेखि मुलुकको आर्थिक एवं सामाजिक विकासमा अतुलनीय योगदान गर्दै आएका मारवाडी समुदायलाई लक्षित गरी उनीहरूले नै नेपालको अर्थतन्त्र तहसनहस बनाएको भन्ने जस्ता गैरजिम्मेवारपूर्ण र समाजमा द्वेष फैलाउने रहेको छ ।’


सामाजिक सद्भावमा खलल पुर्याउने गरी सञ्चार माध्यमहरू मार्फत लगातार कोही व्यक्तिले अभिव्यक्ति दिइरहँदा समेत राज्यले यस्तो कृयाकलाप रोक्न कुनै पहल नगर्नु अत्यन्त दुःखद र खेदजनक रहेको संगठनले जनाएको छ ।

मुलुकको अर्थतन्त्र अत्यन्तै गम्भीर अवस्थामा रहेको पछिल्लो समयमा राज्यका सबै निकाय, राजनीतिक दल, निजी क्षेत्र तथा सर्वसाधारण सबै जना आर्थिक अवस्था सुधारका लागि सामूहिक प्रयास लाग्नुपर्नेमा संगठनको जोड छ ।

‘आर्थिक एवं औद्योगिक व्यावसायिक विकासका लागि एक ढिक्का भई लाग्नुपर्नेमा कुनै समुदाय विशेषलाई लक्षित गरी दोषारोपण गर्नाले औद्योगिक व्यावसायिक वातावरण मात्र होइन सामाजिक सद्भावमा समेत गम्भीर खलल पुग्ने देखिन्छ,’ विज्ञप्तिमा छ ।

गलत कार्य गर्ने जो कोही, जुनसुकै समुदाय वा वर्गको भएता पनि दण्डित हुनुपर्ने संगठनको माग छ । कोही कसैले गलत गर्यो भनेर अनुमान गरेको भरमा पूरै समुदायलाई लक्षित गरी द्वेष भाव फैलाउने कार्यलाई तत्काल कानुनी कारबाही गर्न पनि संगठनले माग गरेको छ ।


Author

थप समाचार
x