समाज

रत्‍नपार्कको नाम विवाद

साख्वाः र तुलाधरको शालिक राखेर नाम परिवर्तन गर्न खोजेको भन्दै आपत्ति

सुनीता साखकर्मी |
मंसिर ६, २०७७ शनिबार १८:१९ बजे

काठमाडौं : रानीपोखरी नजिकै रहेको ‘शंखधर उद्यान’मा शंखधर साख्वाः र पद्मरत्न तुलाधरको शालिक अनावरण गरिएको छ । काठमाडौँ महानगरपालिकाले स्थापना गरेको शालिकको शनिबार सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र मेयर विद्यासुन्दर शाक्यले अनावरण गरे । 

करीब २० लाखको लगानीमा महेश तुलाधरले निर्माण गरेका शालिक त्यहाँ राखिएको हो । शालिकको अनावरण कार्यक्रममा मन्त्री श्रेष्ठले १ हजार एक सय ४१ वर्ष अघि ऋणमा डुबेका काठमाडौं ‘कान्तिपुर’ र भक्तपुर ‘भादगाउँ’का जनताको ऋण चुक्ता गरिदिएका शंखधर साख्वाः र मानव अधिकार अभियान, भाषा र जातीय समानताको आन्दोलनमा योगदान पुर्‍याएका तुलाधरको शालिक निर्माण गरेर महानगरले उदाहरणीय काम गरेको बताए । 


मेयर शाक्यले राज्यलाई योगदान गरेका व्यक्ति, शहीद र राष्ट्रिय विभूतिलाई चिरकालसम्म नागरिकले सम्झिरहुन् भनेर शालिक निर्माण गरिएको बताए । 

यसअघि महानगरपालिकाले चार शहीद (गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री) को सम्झनामा पूर्णकदको शालिक निर्माण गरिसकेको छ ।

‘रत्नपार्क’ र ‘शंखधर उद्यान’ मा विवाद 
बि.सं. २०७५ मा काठमाडौं महानगरपालिकाले रत्नपार्कको नाम परिवर्तन गर्दै शंखधर उद्यान राखेको थियो । तर जनमानसले ‘रत्नपार्क’ भन्न छोडेनन् । त्यसपछि महानगरले शंखधर साख्वाको शालीक नै निर्माण गर्ने तयारी गरेको थियो ।

रत्नपार्कलाई ‘शंखधर उद्यान’ घोषणा गरी त्यसकै रुपमा स्थापित गराउनु ठूलो कुरा भएको मन्त्री श्रेष्ठले दाबी गरे । तर शालिक अनावरणसँगै सामाजिक सञ्‍जालमा रत्नपार्कको नाम परिवर्तन गर्न खोजेको भन्दै महानगरविरुध्द जनआवाज उठेको छ । 

शनिबार पूर्वसचिव मधुरमण आचार्यले सामाजिक सञ्‍जाल ट्‍वीटरमा लेखेका छन्, ‘सक्ने भए राष्ट्रिय विभूतिको नाममा नयाँ पार्क निर्माण गरेर देखाउनु नि ! जनजिब्रोमा झुन्डिएको र अघिदेखि सोही नाममा रहेको ‘रत्नपार्क’लाई अन्यथा नामाकरण गर्नु सर्वथा अनुचित !!’ । 

त्यस्तै आर पौडेल ट्‍वीटरमा लेख्छन्, ‘अघिल्ला साढे दुई अक्षरसम्म फेर्न सक्लान्, पछिल्ला साढे दुई अक्षर त मरिगए सक्दैनन्, सम्भावित विरोधको जनसागर उर्लियो भने नि !! तर फेर्नै किन परो र ?’ 

निर्मल प्रसाईंले रत्नपार्कको नाम परिवर्तनसम्बन्धि दुई ट्‍वीट गरे । सुरुको ट्‍वीटमा उनले ‘रत्नपार्क संरक्षण गर्ने हिम्मत छैन, नाम चैँ परिवर्तन गर्न कति हतारो! बाघको छालामा स्यालको रजाइँ!’ लेखेका थिए । त्यस्तै दोस्रो लामो ट्वीट गर्दै उनले लेखेका छन्, ‘बिगत चार वर्ष देखि मझौला पुल, दश दिन टिक्ने बाटो, वडा स्तरको पार्क निर्माण गर्न नसकेको गिध्द एण्ड गतिछाडा कम्पनीले ऐतिहासिक रत्नपार्क को निशाना मेटाउन उद्दत त छँदै थिए, दुर्भाग्य नाउँ समेत फेरबदल गर्ने दुस्साहस गरेछन् ! सबैको हिसाबकिताब हुन्छ, घडीको सुई घुम्दैछ!’ 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x