समाज

कर्णालीका एक लाख घरमा प्रहरी स्टिकर

लक्ष्मी भण्डारी |
साउन २३, २०८० मंगलबार १५:४४ बजे

सुर्खेत- कर्णालीमा एक लाख बढी घरमा प्रहरीले स्टिकर टाँस गरेको छ । 'सुरक्षित कर्णाली विशेष अभियान, २०८०' अन्तर्गत कर्णाली प्रदेश प्रहरी कार्यालयले घर-घरमा स्टिकर टाँस गरेको हाे ।

गएको असार अन्तिम सातादेखि सुरु गरिएको अभियान अन्तर्गत अहिलेसम्म एक लाख सात सय १० वटा घरमा स्टिकर टाँस गरिएको छ । अभियान अन्तर्गत घर-घरमा प्रहरीको फोन नम्बर भएको स्टिकर टाँस गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुरक्षित कर्णाली प्रदेश निर्माणका लागि नै स्टिकर टाँस गर्ने अभियान सञ्चालन गरिएको प्रहरी नायब महानिरीक्षक भिमप्रसाद ढकालले बताए ।


‘यसरी टाँस गरिएको स्टिकरमा प्रहरीको नम्बरसहितको विवरण उल्लेख हुन्छ,’ ढकालले भने, ‘स्टिकर टाँस गर्न जाँदा रजिस्टर पनि सँगै लगेर जाने र घरपरिवारको विवरण पनि संकलन गरिन्छ ।’ यसले नागरिकहरूको विवरण पनि आउने हुँदा अनुसन्धानमा सहजता हुन सक्ने महानिरीक्षक ढकालको भनाइ छ ।

यसरी स्टिकर टाँस भए पनि प्रहरीमा आउने फोन कलको संख्या बढेको प्रहरी नायव महानिरीक्षक ढकालले जनाए । ‘पहिलेको तुलनामा अहिले प्रहरीलाई आउने फोनमा स्टिकर टाँस भइसकेपछि ३० देखि ४० प्रतिशतसम्मले वृद्धि भएको छ,’ उनले भने, ‘कतिपय हिंसा, झैझगडा तथा प्राकृतिक विपत्तिमा पनि प्रहरीलाई फोन आउने गरेको छ ।’

त्यसैगरी सुरक्षित कर्णाली अभियान अन्तर्गत १४ वटा विभिन्न कार्यक्षेत्रका ७४ वटा कार्यक्रमहरू रहेको ढकालले बताए । ‘यसमा प्रहरी आफै पनि शुद्धीकरण हुनुपर्छ र कार्यालय पनि नागरिकमैत्री हुनुपर्छ भन्नेछ,’ उनले भने, ‘त्यसैगरी नागरिकमैत्री सेवा प्रवाहको विषयलाई जोड दिएका छौं ।’

त्यसैगरी अपराध रोकथामका लागि सचेतनाको साथै प्रमाणमुखी अनुसन्धानलाई जोड दिनुको साथै लागूऔषध, आत्महत्या, सडक दुर्घटनालगायतलाई न्यूनीकरणको विशेष अभियान सञ्चालन समेत गरिएको छ । 

यस्तै नेपालगञ्जमा रहेका प्रदेश संरचनालाई कर्णालीमा ल्याउनका लागि विशेष पहल भइरहेको प्रहरी नायब महानिरीक्षक ढकालले बताए । 


 


Author

थप समाचार
x