समाज

विद्यालय भवन निर्माणमा विवाद : दुईजना गम्भीर घाइते, तीन राउण्ड हवाई फायर

सुभाष कर्ण |
साउन २१, २०८० आइतबार २१:२८ बजे

जनकपुरधाम- धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको एक विद्यालय भवन निर्माणको विषयमा भएको झडपमा परी दुई जना गम्भीर घाइते भएका छन् । 

गाउँपालिकाको वडा नम्बर ४ तुल्सियाहीको कोल्हुवास्थित वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन निर्माण गुणस्तरहीन भइरहेको र खर्च पारदर्शी नभएको भन्दै दुई पक्षबीच भएको झडपमा परी ज्ञानेन्द्र यादव र शंकर यादव गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


प्रहरीका अनुसार घाइते मध्ये ज्ञानेन्द्रलाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ भने शंकरको उपचार जनकपुरधामस्थित रामजानकी हस्पिटलमा भइरहेकाे छ । स्थानीय केही युवाहरूले विद्यालय भवन निर्माण कमसल र गुणस्तरहीन भइरहेको भन्दै खर्चकाे हिसाब पारदर्शी गर्न माग गर्दा विवाद भएको थियो ।

विवाद बढ्दै झडपकाे रूप लिएपछि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो । अवस्था तनावग्रस्त बन्दै गएपछि प्रहरीले तीन राउण्ड हवाई फायर गरेको जिप्रका धनुषाले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार घटनामा संलग्नहरू अहिले फरार रहेका छन् । उनीहरूको पहिचान भइसकेकाले खोजी कार्य जारी रहेको छ ।

संघीय सरकारको नमूना विद्यालय कार्यक्रम अन्तर्गत निर्माण भइरहेको विद्यालय भवनको तेश्रो तल्लाको छत ढलानकाे काम स्थानीय युवाहरूले गुणस्तरहीन र कमसल भइरहेको भन्दै शनिबार नै विवाद गर्दै काम रोकाएका थिए । उनीहरूले इस्टिमेटमा १० एमएमको छड उल्लेख रहेकोमा ७/८ एमएमको छड प्रयोग भइरहेको र पर्खाल ५ इन्चको खडा गरिएको भन्ने आरोप लगाउँदै खर्चकाे हिसाब माग गरेका थिए ।

संघीय सरकारको नमूना विद्यालय व्यवस्थापन एवं सुदृढीकरण कार्यक्रम अन्तर्गत डेढ करोडको बजेटमा विद्यालयको तीन तल्ले भवन निर्माण भइरहेको छ । ती मध्ये पहिलो भूईतल्ला निर्माण भइसकेको छ भने दोश्रो र तेश्रो तल्लाको काम भइरहेको छ । ती मध्ये तेश्रो तल्लाको छत ढलाई क्रममा विवाद भएको हो ।

विद्यालयका अनुसार डेढ करोड बजेट मध्ये ५० लाख रुपैयाँ शैक्षिक व्यवस्थापन र एक करोड रुपैयाँ भवन निर्माणका लागि रहेको छ । विद्यालय व्यवस्थापन समिति नहुँदा वडा समितिद्वारा निर्माण समिति गठन गरी कोटेशन मार्फत तीन वर्षदेखि निर्माण कार्य भइरहेको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x