समाज

सुन तस्करी प्रकरणमा पक्राउ चार जनालाई अनुसन्धान गर्न नौ दिने म्याद थप

इकागज |
साउन ५, २०८० शुक्रबार २१:५७ बजे

काठमाडौँ- एक सय किलो सुन तस्करीको आरोपमा पक्राउ गरेका चिनियाँ नागरिकसहित चार जनामाथि अनुसन्धान गर्न नौ दिनको म्याद थपिएको छ । आरोपी चार जनालाई आज उच्च अदालत पाटनमा पेस गरिएकोमा अदालतको आदेशले उनीहरूमाथि अनुसन्धान गर्न नौ दिनको म्याद पाएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए । 

यसरी म्याद थप गरिएकामा चिनियाँ नागरिक जेयुङ लिनसहित कार्गाे कम्पनीका सञ्चालक राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट रहेका छन् । उनीहरूलाई बिहीबार दिउँसो पक्राउ गरिएकाले म्याद थप गर्न सकिएको थिएन । 


यसअघि बुधबार पक्राउ गरेका छ जना (सुन ओसारपसारमा सङ्लग्न गराइएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल) माथि अनुसन्धान गर्न १० दिनको म्याद थप गरिसकिएको छ ।   

भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङ्कङबाट ल्याइएको झण्डै एक सय किलो सुन बरामद गरेको थियो । सुन अहिले परीक्षण तथा तौल लिनका लागि राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ । विभागका अनुसार विभागका निर्देशकको संयोजकत्वमा टोली बनाएर उक्त प्रकरणको अहिले अनुसन्धान भइरहेको छ ।


Author

थप समाचार
x