समाज

कोशी किनारमा ‘लेडी फाइट’, एक पक्राउ पर्दा चारजना फरार

बाबुराम भण्डारी |
साउन १, २०८० सोमबार २०:९ बजे

विराटनगर- गत शुक्रबार सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजावासस्थित सप्तकोशीको किनारमा केही युवतीहरूले अर्को समुहमा रहेकी मध्ये एउटीलाई निर्घात कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालहरूमा भाइरल छ ।

उक्त घटनामा पाँच जना युवतीहरूको समूहले ब्वाइफ्रेण्डको पोल खोलेको विषयमा अरु तीन जनाको समूहमा रहेका युवतीहरूमाथि अन्धाधुन्ध कुटपिट गरेका हुन् । पीडित युवतीहरूको तर्फबाट परेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीले कुटपिटमा संलग्न रहेकी बराहक्षेत्र नगरपालिका–९ की १९ वर्षीया कृति लिम्बुलाई पक्राउ गरेको जनाएको छ । तर, लिम्बुको समूहमा रहेका अरु चार जना युवतीहरू भने फरार भएका छन् ।


कोशी किनारमा भएको झगडापछिको कुटपिट शुक्रबार साँझ करिब साढे ५ बजेतिरको भएको प्रहरीले बताएको छ । घटनामा बराहक्षेत्र–८ की १७ वर्षीया युवतीमाथि सबैभन्दा धेरै कुटपिट भएको प्रहरीले जनाएको छ । पाँच जनाको समूहले १६ वर्षीया अर्की युवती र १९ वर्षीया मनीषा राईमाथि पनि कुटपिट गरेका हुन् ।

उक्त भिडियोमा कुटपिट गर्ने समूहका युवतीहरूले आफ्नो कुरा अरूलाई किन भनेको भन्दै अर्की युवतीमाथि एकोहोरो आक्रमण गरेको प्रष्ट देखिन्छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजकुमार राईका अनुसार कुट्ने र कुटिने युवतीहरू सबैजना आपसी चिनजानकै साथीहरू भएको खुलेको बताए । तर, घटना हुँदाको अवस्थामा भने उनीहरूबीच आपसी मनमुटाव र एकले अर्काको पोल खोलेको विषय इगो बनेको देखिन्छ ।

पाँच जनाको समूहमा रहेका युवतीहरूले अर्को समूहमा रहेका तीन जनालाई कोशी किनारमा कुरा गर्न भनेर बोलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । तर, घटनामा संलग्न रहेका युवतीहरू मध्ये एक जनामात्रै पक्राउ परेको र बाँकी चार जना फरार रहेका कारण घटनासम्बन्धी सबै विषय खुल्न नसकेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी पनि भइरहेको जनाइएको छ ।

प्रहरीले घटनामा संलग्न रहेकी लिम्बुलाई भने अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालत सुनसरीबाट अनुमति लिइसकेको प्रहरी प्रवक्ता राईले जानकारी दिए । कुटपिटमा संलग्न रही हाल फरार रहेका बराहक्षेत्र–९ कै १९ वर्षीया सन्जिता राई, १९ वर्षीया निहाङ राई, बराहक्षेत्र–८ सैनिक टोलकी १८ वर्षीया अरु दुई युवतीहरूको खोजी भइरहेको जनाइएको छ ।

प्रहरी प्रवक्ता राईले कुटपिट भएका युवतीको मेडिकल जाँच गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए । पीडित युवतीहरूका आफन्तले कुटपिटको वास्तविक कारण अझै पनि नखुलेको बताएका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x